
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–४, बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्यधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगंगा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए ।
खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो । श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरू घरबाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
घटना रहस्यमय भएकाले थप अनुसन्धानका लागि वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट तालिमप्राप्त कुकुर ल्याएको उनले बताए । रासस