
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) ले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २१ रनको जित निकालेको छ ।
नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको २६१ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २३९ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो ।
यूएईका ओपनर मोहम्मद वसिमले ९६ रन बनाए । आयान अफ्जल खान ९४ रनमा अविजित रहँदा कार्थिक मयप्पनले २४ रन थपे । पीएजनीका चाड सोपेरले चार विकेट लिए । सेमो कामेअले दुई र नोर्मन भानुअले एक विकेट लिए ।
२६१ रनको लक्ष्यसहित मैदान उत्रिएको पीएनजीका किप्लिन डोरिगाले ७३ रन बनाए । टोनी उराले ५६ रन जोडे । यी दुईले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गर्दै पीएनजीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, त्यसपछि ब्याटरको प्रदर्शन कमजोर हुँदा पीएनजी पराजित हुन पुग्यो ।
पीएनजीको खातामा गौडी टोकाले २०, चाल्र्स एमिनीले १५ र रिले हाकुरेले ११ रन थपे ।
यूएईका कार्थिक मयप्पनले चार विकेट लिए । जहुर खानले तीन विकेट लिँदा जुनैद सिद्दिकी, आयान अफ्जल खान र रोहन मुस्तफाले समान एक विकेट लिए ।
जारी प्लेअफमा आजै भएको अर्को खेलमा क्यानडाले जर्सीमाथि ३१ रनको जित दर्ता गर्यो । युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउने क्रममा जर्सीले ४७.५ ओभरमा सबै विकेट गुमाएर २०७ रनमात्र बनाउन सक्यो ।
प्लेअफमा आईसीसी विश्वकप क्रिकेट लिग–२ को अंक तालिकाको पुछारका अमेरिका, नामिबिया, यूएई र पीएनजीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिगका क्यानडा र जर्सी गरी ६ टिमको सहभागिता छ ।
राउन्ड रोविन लिग पद्धतिमा सञ्चालन भइरहेको प्रतियोगिताका शीर्ष दुई टिमले जिम्बाब्वेमा हुने विश्वकपको छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा यी दुईसँगै सुपर लिगको पुछारका पाँच र लिग–२ को शीर्ष तीन टिम प्रतिस्पर्धामा हुनेछन् ।
हालसम्म लिग–२ बाट स्कटल्यान्ड, ओमान र नेपालको सहभागिता पक्का भइसक्दा सुपर लिगबाट आउने पाँच टिमको टुंगो लाग्न भने बाँकी छ ।