
काठमाडौं । नेपाल नेत्रज्योति संघले सोमबार आफ्नो स्थापनाको ४५औँ वार्षिकोत्सव मनाएको छ ।
०३५ सालमा स्थापना भएको संघले यो अवधिमा देशभर २७ आँखा अस्पताल र १५० भन्दा बढी उपचार केन्द्र विस्तार गरेको छ । ४४ जिल्लामा रहेका शाखामार्फत सेवा प्रदान गर्दै आएको संघले सन् २०२२ मा मात्र ३० लाख भन्दा बढीको आँखा जाँच गरेको तथ्यांक छ ।
संघका महासचिव भरतबहादुर चन्दका अनुसार पछिल्लो वर्ष देशभरका ३० लाख सात हजार २९१ जनाको आँखा जाँच र दुई लाख ७२ हजार ९५० को आँखाको शल्यक्रिया गरिएको थियो ।
संघले विभिन्न संघ–संस्थासँगको सहकार्यमा आँखा शिविर र मोतिविन्दुको निःशुल्क शल्यक्रिया गर्दै आएको छ । संघले पछिल्ला १० वर्षयता कानसम्बन्धी उपचार सेवा पनि दिँदै आएको छ ।
संघको पछिल्लो तथ्यांकानुसार नेपालमा प्रति ३५८ मध्ये एकजनामा दृष्टीविहीनता छ । तीमध्ये ९० प्रतिशतको उपचारमार्फत दृष्टि फर्काउन सक्ने अवस्था छ ।