
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा ६२औँ रंगमञ्च दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको टिप्प्णी गरे । १० वर्ष सांसद हुँदा आफूले देशका बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको सुनाए । उनले आफू ‘फेल’ भए युग र व्यवस्था नै फेल हुने बताए ।
मन्त्री किरातीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनले स्थान नपाउँदा पछि परिरहेको उल्लेख गरे ।
“देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दै छु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो, हात्तीको होइन । हामी युगको परीक्षा दिँदै छौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ,” उनले भने, “हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरूलाई प्राथमिकता दिएनौँ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरू विदेश जान्छन्, किन भन्दा रोजगार छैन भनेर होलाजस्तो लाग्थ्यो । तर, होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ । सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ ।”