site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
  डिलक्स ६६५ 
Ghorahi CementGhorahi Cement

घरबाहिरको एक्लो बसाइ । एक–डेढ हप्ताको घर बिदाले पुग्दै नपुग्ने । विरलै पर्ने पाँच–सात दिनको बिदा सकेसम्म घरपरिवारकै बीचमा सदुपयोग होस् भन्ने आकांक्षा सायद परिवार बालबच्चा छोडेर बाहिर बस्ने जो कसैलाई पनि हुन्छ ।

त्यसैले बिदा बचाउने लालसाले म अक्सर रात्रिकालीन यात्रा मात्रै गर्दछु । जसले गर्दा प्रत्येकपटक मेरो दुई दिनको समय घरपरिवारमा बिताउन पाउँछु । घर छोड्दा पनि रातमै हिँड्ने मेरो अर्को मुख्य कारण छोरासँगको सामीप्यता ।

जब म घर पुग्छु, बाबा घर आएको खुसीभन्दा ऊ कतिखेर मलाई छोडेर हिँड्छ भन्ने चिन्ताले बढी पिरोलिन्छ । त्यसैले म बाबु सुतेपछि मात्रै घर छोड्ने गर्छु । छोरो कतिखेर सुत्छ र आफू कतिखेर हिँड्ने टुंगै हुँदैन । त्यसैकारणले अग्रिम टिकटको पनि कुरै हुँदैन ।

Agni Group

खाना खायो, बाबुलाई सुताउन थाल्यो । ऊ सुतेपछि बल्ल झोला टिप्यो र हिँड्यो । ऊ जब म हिँड्ने सुइँको पाउँछ, एक मिनेट मलाई छोड्दैन । सुत्दा समेत गाला जोडेर सुत्नुपर्छ उसलाई । यसरी सानो बालखलाई झुक्याएर हिँड्नु पर्दा मेरा आँखा कहिल्यै ओभानो हुँदैन ।

भाइटीकाको अर्को दिन शुक्रबार बेलुका आठ बजे त्यसैगरी आँखाभरि आँसु लिएर बुटवल चौराहातर्फ लागेँ । यात्रुहरूको भीडले खचाखच भरिएको गाडीमा सिट पाउने कुरै भएन । तैपनि, सधैँजसो काउन्टरमा गएर भनेँ, ‘रमेशजी, नमस्ते । काठमाडौं जान लागेको एउटा सिट मिलाइदिनुस् न ।’

Global Ime bank

सधैँजसो देखभेट हुने भएकाले उनले पनि चिनेजानेकै व्यवहार गर्छन् । ‘अँ, दिनभरि के गर्नुहुन्छ कुन्नि ! तपाईंलाई जहिले पनि जतिखेर चाहियो, त्यतिखेरै टिकट चाहिन्छ है !’

चापाचाप गाडीको व्यवस्थापन गर्न उनलाई भ्याइनभ्याइ थियो । तैपनि, मेरो कुरा सुनेकै छन् । ‘के गर्ने त नि, बाबुले हिँड्नै दिँदैन । ऊ सुतेपछि मात्रै हिँड्नुपर्छ । कतिखेर सुत्छ टुंगै हुँदैन । त्यसैले अग्रिम टिकट बुकिङ गर्नै पाइँदैन । मिलाइदिनुस् न एउटा सिट ।’

हातभरि रहेको पैसाको मुठो गन्दै मलाई सम्झाउने पारामा उनले भने, ‘पछाडिको गाडीमा गएर बस्नुस् । अबदेखि यस्तो नगर्नुस् है ।’

‘हस् । एसी गाडी हो ?,’ मैले फेरि सोधेँ । वरिपरिकाले नसुन्ने गरी विस्तारै भने, ‘हैन, डिलक्स ६६५ ।’

म फुरुंग हुँदै गाडीतर्फ लागेँ । गाडीभित्र खचाखच यात्रुको भीडलाई व्यवस्थापन गर्न तीन–तीनजना गाडी स्टाफलाई भ्याइनभ्याइ थियो । ‘टिकटबिनाको कोही पनि भित्र नपस्नुस् है,’ एकजना स्टाफले मलाई ढोकामा रोक्दै भने ।

‘रमेश गुरुङले पठाउनुभएको हो, मलाई । गाडीमा गएर कुरा गर्नु भन्नुभएको छ ।’

‘उहाँको को हो तपाईं ?,’ उनले सोधे ।

‘म साथी हो ।’

‘जानुस् । ‘ए’ को नौ नम्बर सिटमा गएर बस्नुस्,’ उनले भने । म खुसी हुँदै झ्यालतर्फको सिटमा गएर बसेँ । क्याबिनदेखि अन्तिम सिट र बीचको गल्ली समेत खचाखच भरिएको गाडीको दश नम्बर सिट भने खाली नै थियो ।

एकैछिनमा कन्डक्टरले मेरै आडको दश नम्बर सिटमा बस्न संकेत गर्दै एकजना महिलालाई पठाइदिए । अग्लो कद, गोरो वर्ण, रातो कुर्ता, कालो सुरुवाल, निलो आउटर, टाउकोमा कालो चस्मा । एक हातमा निलो ब्याग, अर्को हातले भीड पन्छाउँदै सिटछेउ आएर उनले सोधिन्, ‘सिट नम्बर दश यही होइन ?’

‘हो, बस्नुस्,’ मैले भनेँ ।

‘कस्तो प्याक हो ! धन्न सिट पाइयो,’ उनले मतिर हेर्दै भनिन् ।

‘हो त है । कहिले लिनुभएको हो टिकट ?,’ मैले प्रतिप्रश्न गरेँ । उनले ‘आजै हो’ भन्ने जवाफ दिइन् ।

बोल्ने बहाना खोज्दै मैले सोधेँ, ‘कहाँबाट आउनुभएको हो कुन्नि !’

‘गुल्मी,’ उनले छोटो उत्तर दिँदै भनिन् ।

‘कहाँसम्म हो त ?,’ मैले पुनः सोधेँ ।

‘चाबहिलसम्म । अनि, हजुर नि ?,’ उनले सोधिन् ।

‘म त पाल्पादेखि आएको । कीर्तिपुर बस्छु । टिकट लिएको थिएन, धन्न काउन्टरमा चिनेको एकजना साथी हुनुहुन्थ्यो र बल्लतल्ल टिकट मिलाइदिनुभयो,’ मैले एकै सासमा भनेँ ।

उनले निलो ब्यागबाट मोबाइल निकालिन् र झन्डै आठ–दशजना आफन्तहरूलाई पालैपालो फोन गर्दै गइन्, ‘अँ, म हिँडेँ है । ... गाडी पाइयो, बीचको १० नं. फोल्डिङ सिट । ... हैन, डिलक्स हो । ... गाडी नम्बर ६६५ ...।’ आदि आदि ।

विस्तारै गाडी अगाडि बढ्दै गयो । गल्लीमा कोचिएर बसेका यात्रुहरूबाट घरीघरी मादकपदार्थको ह्वास्स गन्ध आउँथ्यो ।

‘छ्या ! म त सकिनँ । झ्यालतिर बस्छु है ?,’ उनले भनिन् ।

‘हुन्छ, बस्नुस्,’ सहर्ष स्वीकार गरी म उठेर छेउतिर सरेर बसेँ ।

‘काठमाडौंमा के गर्नुहुन्छ ?,’ उनले झ्यालतर्फ सर्दै सोधिन् ।

‘मेरो एकाउन्टिङ फर्म छ,’ मैले भनेँ । मेरो जवाफ सुनेर उनले फेरि सोधिन्, ‘कुन ठाउँमा नि ?’

‘सानेपामा,’ मैले छोटो बोलेँ ।

‘कस्तो छ नि ?’ सायद उनले आम्दानीको कुरा गरेकी होलिन् । मैले भनेँ, ‘ठिकै चलिराखेको छ ।’

सहज छैन हिजोआज बुटवल–नारायणगढको बाटो भएर यात्रा गर्न । अझ गाडी लाग्ने, अशक्त, बिरामी वृद्धवृद्धाहरूको लागि त बाटो काल नै भएको छ ।

रात छिप्पिँदै गइरहेको छ । बाटोको कारणले गाडीको गति बढ्न सकेको छैन ।

‘छ्या ! अत्यासै लागिसक्यो । कहिले पुगिनी हो कुन्नि काठमाडौं पनि,’ उनले झर्किँदै बोलिन् ।

‘बाटोको हालत यस्तो छ, कम्तीमा पनि भोलि बिहान छ बजेअगाडि त पुर्याउँदैन होला,’ मैले भनेँ ।

‘जहाँ पनि कमिसनको खेल हुन्छ । सार्वजनिक बाटो निर्माणमा यस किसिमको लापरबाही । सरकार नै कमिसनको खेलमा लाग्छ, अनि यिनलाई कसले गरोस् त कारबाही ! उनले आफ्नो आक्रोश पोखिन् ।

‘आउने चुनावपछि बन्ने नयाँ म्यान्डेटसहितको सरकारले केही गर्ला कि !,’ मैले भने ।

सानो स्वरमा उनले भनिन्, ‘खै के होला र !’

‘काठमाडौंमा के गर्नुहुन्छ तपाईं ?,’ मैले प्रसंग बदल्दै सोधेँ ।

‘मास्टर्स सकिएको दुई वर्ष भयो । अहिले प्लस टुलाई पढाइराखेकी छु ।’

‘कुन विषयमा मास्टर्स गर्नुभयो ?’

‘इकोनोमिक्स,’ उनले भनिन् ।

‘को–को बस्नुहुन्छ नि काठमाडौंमा ?,’ मैले सोधेँ ।

‘दाइ र म बस्छौँ ।’

‘अनि, दाइ के गर्नुहुन्छ नि ?,’ कुरो तन्कियो ।

‘अधिकृत छ । लोकसेवा कार्यालयमा पोस्टिङ छ,’ उनले भनिन् ।

‘ए, अनि हजुर लोकसेवातिर नलाग्नुभएको ?,’ मैले सोधेँ ।

‘हैन, मलाई टिचिङ पेसा नै मन पर्छ । त्यसैले अब टीयूतिरै लड्ने हो,’ उनले भनिन् ।

‘त्यो त ठिकै हो । तर, टीयूको राजनीति पनि बुझिनसक्नुको छ नि ! मेरो बहिनीले पनि हजुरजस्तै टीयूमा लड्ने भनेर तयारी गरिन् । फर्म भरिन् । तर, लिखित परीक्षाको मिति कुर्दाकुदै तीन वर्ष बित्यो । आजित भएर अहिले सबै तयारी छोडेर पीएचडी गर्न भनेर जर्मन गइन् । परीक्षा अझै भएको छैन । उनी पीएचडी सकाएर फर्किंदासम्म पनि त्यो परीक्षा नहोला जस्तो छ,’ मैले टीयूको राजनीति र परीक्षार्थीमाथिको लापरबाहीबारे बताएँ ।

‘हुन त हो है, वर्षको छ महिना त ताला नै लाग्छ त्यो ठाउँमा । मेरो पनि हालत त्यस्तै हुने हो कि !,’ उनले निराश हुँदै भनिन् ।

बाटोको अवस्था र गाडीको चालले उनी आत्तिन्छिन् । ‘मलाई टाउको दुख्न लाग्यो, रिङटा लाग्यो । आँखाले हेर्नै भएन, हजुरको ह्याँ टाउको राख्छु है ?,’ मेरो कुमतर्फ संकेत गर्दै उनले भनिन् ।

मैले झसंग हुँदै भनेँ, ‘हुन्छ, राख्नुस् न ।’ यद्यपि, म केही डराएजस्तो भएँ । जिउ पनि थोरै काँपेजस्तो भयो । म चुपचाप बसिरहेँ । गाडीभित्र र बाहिर चकमन्न अँध्यारो ।

पृष्ठभूमिमा बजेको प्रकाश दूतराजको कर्णप्रिय स्वर÷शब्दको ‘दाजैज्यूको टोपी भुईं खस्ला नि, नहेर लजाउँदै पिरती बस्ला नि’ बोलको गीत हामै्र लागि बजाइदिएजस्तै भान हुन थाल्यो ।

‘हामी कहाँ आइयो ?,’ उनले यसो टाउको उठाएर मलाई सोधिन् ।

बाहिर हेरेँ । बर्दघाट रहेछ । मैले ‘बर्दघाट’ भनेँ ।

‘बल्ल ! दाउन्नेको घुम्ती र उकालो त त्यसै रै’छ है ? छ्या, कसरी पुग्ने हो !,’ उनले च्याप्प मेरो देब्रे हात समाएर मेरो अनुहारतिर हेर्दै भनिन् ।

‘नआत्तिनुस् न, पुगिहालिन्छ नि,’ दाहिने हातले मेरो कुममाथिको उनको कपाल पछाडि लगिदिँदै मैले फेरि भनेँ, ‘धेरै गाह्रो भयो है ?’

‘ठिकै छ,’ उनले भनिन् । मैले पनि कुराको बहाना खोज्दै भनेँ, ‘माथि दाउन्ने डाँडामा खाना खान रोक्छ होला, त्यसपछि त आराम गर्न पाइन्छ नि, हैन ?’

‘खाना त खाएरै आएको । आरामचाहिँ गर्नुपर्ला,’ उनी अलि फ्रेसजस्तै देखिइन् ।

दाउन्नेमा खाना खानलाई गाडी रोक्यो । सबै यात्रुहरूसँगै हामी पनि ओर्लियौँ । हातमुख धोईवरी फ्रेस भएर अलि परको होटेलमा गई चियानास्ता खाँदै गफिन थाल्यौँ ।

बाँकी यात्राका क्रममा हामीले आफ्ना जीवनमा भएका उतारचढावका हरेक गतिविधिहरूका बारेमा कुरा गर्न भ्यायौँ । उनको मोबाइल, फेसबुकमा भएका भिडियो/फोटो र विभिन्न गीत–संगीतलाई आधार मानेर बनाएका अनेक सन्दर्भका टिकटक भिडियोहरू हेर्दाहेर्दै रात बितेको पत्तै भएन ।

त्यस रात आँखा झिमिक्क नगरीकनै कलंकी आइपुगियो ।

‘ल, अब म झर्ने बेला भयो,’ काखबाट तान्दै उनलाई भनेँ ।

‘ए, हो र !,’ उनले जुरुक्क उठेर कपाल मिलाउँदै भनिन्, ‘काठमाडांै आइसक्यो ?’

‘हो त, म झर्छु है ? फोनमा भेटौँला नि ।’

मलिन र मधुर स्वरमा उनले भनिन्, ‘हुन्छ ।’

म पनि भारी मन बनाउँदै गाडीबाट ओर्लिएर आफ्नो रुमतिर लागेँ ।

त्यसपछिका दिनमा हामी विस्तारै झन्झन् नजिक हुन थाल्यौँ । फोन, म्यासेन्जर, ह्वाट्सएपमा भिडियो कल नगरीकन दिन र रात नै नबित्ने भयो । उनीसँगको कुराकानी र मलाई नै लक्षित गर्दै अपलोड गरिएका उनका टिकटक भिडियोहरूले मलाई एक किसिमको नशामा पार्न थाल्यो ।

दुई–चार मिनेट हुँदै घण्टौँसम्म हामी फोन या भिडियो कलमा सँगै हुन्थ्याैँ । हप्ता–दश दिनको फरकमा कुनै रेस्टुरेन्टमा भेट भएर चियाकफी खाँदै घण्टाैँ कुरा गरेर बस्थ्यौँ ।

यसरी हामीबीच कुुराकानी नियमितजस्तै भइरहेको थियो । प्रायः उनले नै म्यासेज र कल गरेपछि मात्र दोहोरो कुराकानी हुने गर्दथ्यो ।

त्यस दिन दिनभरि नै उनको कल र म्यासेज केही पनि आएन । त्यसपछि मैले बेलुका पाँच बजेतिर ह्वाट्सएपमा म्यासेज गरेँ, ‘हेलो, कता बिजी हो ? खबरखाबर केही छैन त ।’

केही बेरमा म्यासेज डेलिभरी भयो । दश मिनेटमा सिन भयो । त्यसको दुई मिनेटमा म्यासेज रिप्लाई आयो । मैले खुसी हुँदै म्यासेज हेरेँ । मेरो आँखा तिरमिराउन थाल्यो । रिंगटा लाग्लाजस्तो भयो ।

सम्हालिएर म्यासेज पढेँ । लेखिएको थियो, ‘तिमी को हौ मलाई यसरी म्यासेज गर्ने ? म तिमीलाई चिन्दिनँ । अब मलाई यसरी कल÷म्यासेज नगर । अटेर गर्यौ भने राम्रो हुँदैन ।’

यो देखेपछि म छाँगाबाट खसेजस्तै भएँ । म केही सम्हालिएँ पनि । फेरि कल/म्यासेज गर्न खोजेको एक मिनेटको अन्तरमा फोन, फेसबुक, ह्वाट्सएप, टिकटक सबैतिर मलाई ब्लक गरिसकिछन् ।

त्यसपछि मलाई सम्हालिन निकै कठिन भयो । केही सोच्नै सकिनँ । कति रात त आँखा झिमिक्क नगरीकनै बिते ।

त्यसको एक हप्तापछि मलाई नयाँ नम्बरबाट फोन आयो, उठाएँ । मैले उनको आवाज चिनिहालेँ । मेरो आवाज पनि चिनेर होला, उनले सरासर भन्दै गइन्, ‘मैले हजुरलाई धेरै तनाव दिएँ । सरी है । अब मैले चाहेर पनि हजुरसँग कुराकानी र भेटघाट गर्न सक्दिनँ । हाम्रो यो प्रेम सम्बन्धलाई यहीँ अन्त्य गरौँ । प्लिज, अब मलाई बिर्सनुस् है । मलाई कतै पनि फलो नगर्नु होला । मिस यु माया । बाई ।’

यत्ति भनेर मेरो एक शब्द पनि नसुनी उनले एकतर्फी फोन काटिन् । एक दिन, दुई दिन हुँदै विस्तारै सम्हालिन कोसिस गर्दै गएको मेरो मन त्यस दिनदेखि पुनः बिथोलिन पुग्यो ।

उनको माया र संवेदनालाई सम्मान गर्दै मसँग अब सम्हालिनुको अर्को विकल्प पनि थिएन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC