site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मूल्य अभिवृद्धि कर बुझाउने दुई पुस्तक 
Tiktok banner adTiktok banner ad

नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको २५ वर्ष पुगेको छ । सरकारले उठाउने करमा भ्याटको हिस्सा २० प्रतिशतभन्दा बढी रहने गर्छ । नेपालमा भ्याट लागु गरेदेखि नै यस विषयमा काम गरिरहेका विज्ञ हुन्, डा. रूप खड्का ।

करका बारेमा खड्काले धेरै लेख लेखेका छन् । करविज्ञ खड्काले भ्याटका विषयमा जानकारी दिनका लागि ‘मूल्य अभिवृद्धि कर कार्यान्वयनको २५ वर्ष’ तथा ‘नेपाल मूल्य अभिवृद्धि करसम्बन्धी अनुभव’ नामका दुई पुस्तक ल्याएका छन् ।

पैरवी प्रकाशनले प्रकाशित गरेका यी दुई पुस्तक भ्याटका बारेमा जानकारी लिन चाहनेहरूका लागि उपयोगी हुनसक्छ ।

सबैभन्दा पहिला ‘मूल्य अभिवृद्धि कर कार्यान्वयनका २५ वर्ष’ पुस्तकको चर्चा गरौँ । यसमा विश्वको सुरुआतदेखिका मूल्य अभिवृद्धिसम्बन्धी जानकारी पाइन्छ ।

१२ अध्यायमा समेटिएको यस पुस्तकमा मूल्य अभिवृद्धि करको परिचय, इतिहास र उत्पत्ति, विकासको अवस्था आदिका बारेमा उल्लेख छ । यस्तै, मूल्य अभिवृद्धि करको तर्जुमा, तयारी र प्रयोगका बारेमा जानकारी गराइएको छ ।

मूल्य अभिवृद्धि करको नियम, निर्देशिकाको निर्माण, कर्मचारीलाई दिइनुपर्ने प्रशिक्षणका विषयमा पनि पुस्तकमा उल्लेख छ ।

मूल्य अभिवृद्धि कर छुट, उद्देश्य तथा यसको लागतका बारेमा समेत पुस्तकमा बताइएको छ । यसबाहेक अहिले दिइरहेका मूल्य अभिवृद्धि कर छुटमा हटाउनुपर्ने विषयमा लेखकले सुझाव प्रस्तुत गरेका छन् ।

व्यवसाय गर्दा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्छ । दर्ता सीमाको तह, व्यवहारमा दर्ता सीमाका बारेमा पुस्तकमा जानकारी पाइन्छ ।

मूल्य अभिवृद्धि करको दरका बारेमा विस्तृत रूपमा पुस्तकमा उल्लेख छ । नेपालमा मूल्य अभिवृद्धि करको एकल दर १३ प्रतिशत छ । अरू देशहरूमा बहुदर समेत लागु भएको, एकल दरको फाइदा तथा बहुदरका फाइदा र बेफाइदाका बारेमा पनि पुस्तकले जानकारी दिन्छ ।

यस्तै, मूल्य अभिवृद्धि कर कट्टी तथा कर फिर्ता र भ्याटबाट हुने आर्थिक समृृद्धिका बारेमा पुस्तकमा जानकारी दिइएको छ । पुस्तकको अन्तिम अध्यायमा मूल्य अभिवृद्धि कर सुधारका लागि गर्नुपर्ने कामका बारेमा खड्काले बताएका छन् ।

‘नेपालमा मूल्य अभिवृद्धि करसम्बन्धी अनुभव’ भने खड्काले विभिन्न समयमा पत्रिका तथा अनलाइनमा लेखेका लेखहरूको संकलन हो । यसमा नेपालमा मूल्य अभिवृद्धि लागु गर्दादेखि अहिलेसम्मको अवस्थाका बारेमा जानकारी छ ।

मूल्य अभिवृद्धि करविरोधीले यो कर समान नभएको र उपभोक्तालाई भार पर्ने भन्दै ऐन बन्ने बेलामा विरोध गरेका थिए । पुस्तकमा २५ वर्षमा भएका उपलब्धि र अपनाउनुपर्ने नीतिका बारेमा उल्लेख छ ।

भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागु गरेपछि नेपालमा त्यस्तै कर प्रणाली हुनुपर्ने माग गरियो । तर, त्यो आवश्यक नभएको उनको मत छ ।

यस्तै, करको दर एकल राख्ने कि बहुदरबारे पुस्तकमा जानकारी गराइएको छ ।

‘मूल्य अभिवृद्धि कर कार्यान्वयनका पच्चीस वर्ष’को मूल्य ३९५ रुपैयाँ राखिएको छ । ‘नेपालमा मूल्य अभिवृद्धि करसम्बन्धी अनुभव’को मूल्य ४४५ रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro