
हामीले थालेको त्यो यात्रा
अहिले लाग्छ,
अरू कसैको थियो ।
हामीले बोकेका झोलाहरूमा
भविष्य अरूकै रहेछ
हामीले पसिना चुहाउँदै
तय गरेको गन्तव्य पनि अरूकै
थाकेर रुखमुनि बसेर कल्पिएका
मिठा क्षणहरू पनि अरूकै
सारा दुःखको विगत आफ्नो
बोकेको भार आफ्नो
थेगेको पीडा आफ्नो
हामीले लडेको भविष्य अरूकै रहेछ ।
हामी झुलेको पिङ अरूकै
झुल्दाको मजा अरूकै
पिङमा झुल्दाको डाम
र, निरीह झुलिरहेको मन मात्रै आफ्नो रहेछ ।
चढेको ठाडो उकालो आफ्नो
उकालोपछि भेटेको चुचुरो अरूकै
त्यहाँबाट देखेको दृश्य अरूकै
पाएको उँचाइ अरूकै
बाटो काट्दाको घाउ
घाउको नपुरिने खाटा मात्रै आफ्नो रहेछ ।
यात्रा अरूकै
डरलाग्दो भेलमाथिको तुइन अरूकै
नदी तरेपछिको खुसी अरूकै
हातमा उठेका ठेलाहरू
खिलहरू मात्रै आफ्नो रहेछ ।
धन्न खसिएन तुइनबाट
झरिएन मनै सिरिङ्ङ हुने
डरलाग्दा भीरहरूबाट
यात्राको भयानक सम्झना मात्रै आफ्नो रहेछ
गुमाएका सहयात्रीहरूको पीडा मात्रै आफ्नो रहेछ
उनीहरूको बलिदानको ब्याज अरूकै
बलिदान अरूकै लागि रहेछ ।
हाम्रा झोलाहरू
पूरै यात्रामा हाम्रै काँधमा थिए
कसले चोर्यो हाम्रा सपनाहरू ?
कसले रित्तो पार्यो हाम्रा झोलाहरू ?
फेरि थाल्नुपर्ने भो त्यही यात्रा
फेरि हिँड्नुपर्ने भो त्यही बाटो
नाप्नुपर्ने भो त्यही दूरी
जुन सकिएर पनि फेरि पुग्छ
सुरुकै विन्दुमा ।
(चौरजहारी रुकुम/हाल : टिमिन्स, क्यानडा)