
काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको आफन्तले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बन्दुकधारीले गोली चलाएर धम्कीपूर्ण लिखित सन्देश छाडेको स्थानीय प्रहरीले जनाएको छ ।
बिहीबार बिहान भएको आक्रमणमा कोही पनि घाइते भएका छैनन् । सुपरमार्केट मेसीको श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा थियो ।
अर्जेन्टिनाको तेस्रो ठूलो सहर रोजारियोको युनिको सुपरमार्केटलाई आक्रमणकारीले किन निसाना बनाए भन्ने खुलेको छैन । सहरका मेयर पाब्लो जाभकिनले सुपरमार्केटको भ्रमण गरेका थिए ।
राजधानी ब्युनस आयर्सबाट करिब १९० माइल (३०० किलोमिटर) उत्तरपश्चिममा रहेको रोजारियोमा लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले युनिको शाखामा कम्तीमा एक दर्जन गोली प्रहार गरेका थिए । धम्कीपूर्ण सन्देश पनि छाडिएको छ । सन्देशमा भनिएको छ, “मेसी, हामी तपाईंका लागि पर्खिरहेका छौँ । मेयर जाभकिन पनि लागुऔषध तस्कर हो । यसैले उसले तिम्रो हेरचाह गर्दैन ।’’
मेसीले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । गएको डिसेम्बरमा मेसीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि धेरैले उनलाई सर्वकालीन महान् खेलाडीका रूपमा लिएका छन् ।
३६ वर्षीय मेसीले अहिले पेरिस सेन्ट–जर्मेन (पीएसजी)बाट क्लब फुटबल खेलिरहेका छन् । उनले आफ्नो धेरै समय विदेशमा बिताउँछन् । यद्यपि, उनी प्रायः रोजारियो जाने गर्छन् । फ्युनेसको उपनगरमा उनको घर छ । पीएसजीले बिहीबार बिहान मेसीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।
रोजारियोका अधिकारीहरूले सीसी क्यामेरा फुटेजको समीक्षा गरिरहेको र प्ररम्भिक अनुसन्धान सुरु भइसकेको बताएका छन् । मेसीका ससुराले यसप्रकारको धम्की पाएको यो पहिलोपटक भएको बताएका छन् ।
सान्ता फे प्रान्तका न्यायमन्त्री सेलिया एरेनाले यो आक्रमणलाई ‘माफिया’ समूहले ठूलो जनसंख्यालाई डर देखाउनका लागि गरिएको ‘आतंकवाद’ भनेका छन् ।
“यसको उद्देश्य जानाजानी आतंक फैलाउनु तथा आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्नु हो । यो विश्वव्यापी महत्त्वको घटना हुनेछ,’’ एरेनाले सामाजिक सञ्जाल लेखेका छन् ।
आक्रमणपछि मेयर जाभकिनले संगठित अपराध न्यूनीकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन् । उनले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण बन्दरगाह सहरमा यस्तो अपराधिक घटना बढिरहेकामा सचेत हुन आग्रह समेत गरेका छन् ।
आक्रमण भएको भवनको अगाडि १४ गोली लागेको छ । उक्त घटनापछि सुपरमार्केट बन्द छ ।