
पाल्पा । लोकवार्ता परिषद् नेपालको आयोजनामा फागुन ६ गतेदेखि ११ गतेसम्म पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन हुने भएको छ । पाल्पा तानसेनमा उद्घाटन हुने यो कार्यक्रममा भाग लिन परिषद्का पदाधिकारीहरू पाल्पा पुगिसकेका छन् ।
कार्यक्रममा भाग लिन नेपालका विभिन्न ठाउँ तथा भारतको सिक्किमबाट लोकवार्ताविज्ञहरूको उपस्थित छन् । सांस्कृतिक झाँकीसहित उद्घाटन हुने कार्यक्रममा २० वटा कार्यपत्र प्रस्तुत हुने जानकारी गराइएको छ ।
सम्मेलनमा लोकवार्तासम्बन्धी अरू ६० वटा कार्यपत्र प्रस्तुत गरिने पनि जानकारी गराइएको छ । कार्यपत्रहरूमाथि गहन छलफल हुने पनि जनाइएको छ ।
लोकवार्ता सम्मेलन लोक हेर्ने यात्रा रहेको परिषद्का अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्रीले बताएका छन् । स्थानीयस्तरमै पुगेर त्यहाँका लोकवार्ता सुन्ने, सुनाउने, अध्ययन तथा अनुसन्धान गर्ने र अन्यत्रका लोकसंस्कृतिलाई पनि त्यहाँ प्रस्तुत गरेर जानकारी गराउने उद्देश्य सम्मेलनको रहेको उनको भनाइ छ ।
हरेक सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रलाई परिषद्ले पुस्तकको रुपमा प्रकाशन गरी वितरण गर्दै आएको छ । परिषद्ले हरेक वर्ष देशका विभिन्न जिल्लामा पुगेर लोकवार्ता सम्मेलन गर्दै आएको छ ।