site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मृतसागरमा तैरिँदा
Sarbottam CementSarbottam Cement

गोलान हाइट्स र सी अफ ग्यालिलीको यात्रा गरेर फर्किँदा हाम्रा प्रशिक्षक योहोले अर्को यात्रामा डेड सी अर्थात् मृतसागर लैजाने कुरा बताएपछि मेरो मनको मझेरीमा उत्साहको तरङ्ग पैmलिएको थियो । झन् उनले डेड सी जाँदा ‘प्यालेस्टिनी भूभागमा समेत प्रवेश गरिने’ प्रसङ्ग निकालेपछि त ‘उडूँ कि गुडूँ म’ भने जस्तो भएको थियो ।

हुन त तालिमको प्याकेजमै गोलान हाइट्स, सी अफ ग्यालिली, जेरुसलेम, जिसस क्राइस्टलाई क्रुसिफाइड गरिएको चर्च, गोल्डेन टेम्पल, हिब्रु विश्वविद्यालय, इजरायलको विदेश मन्त्रालय, तेल अबिब, मसादा, जेरिको तथा डेड सीको भ्रमण पनि समावेश गरिएको जानकारी पहिला नै पाएको थिएँ । तथापि गोलान हाइट्सको यात्रा अत्यन्तै रमाइलो भएकोले अर्को झन् रोमाञ्चकारी यात्राको कल्पना गर्दा उमङ्गले धुरी चढेको हो ।

२०५५ साल फागुन ८ गते शनिबारको दिन इजरायलको हाइफा सहरबाट बसमा यात्रा सुरु गरियो । संसारको सर्वोच्च शिखर सगरमाथाको देशबाट आएको मान्छे म । समुद्र सतहबाट ४३०.५ मिटर तल रहेको डेड सीमा तैरिन ज्यादै नै आतुर थिएँ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्यालेस्टिनी स्वायत्त शासन भएको सानो सहर जेरिकोमा गाडी रोकियो । जोर्डन उपत्यकाको पश्चिम किनारमा अवस्थित यो सहरको पूर्वमा जोर्डन नदी र पश्चिममा जेरुसलेम पर्ने रहेछ । समुद्र सतहभन्दा २८५ मिटरमुनिको उचाइमा रहेको यो सहरको जनसङ्ख्या झन्डै पन्ध्र हजार रहेछ ।

स्थायी रूपमा बसोबास भएको विश्वकै सबैभन्दा होचो स्थानमा सहर रहेछ जेरिको । यसलाई सन् १९४९ देखि १९६७ सम्म जोर्डनले हडपेको रहेछ भने सन् १९६८ देखि १९९३ सम्म इजरायलले आफ्नो भूभागमा गाभेको रहेछ । केवल सन् १९९४ बाट मात्र जेरिको प्यालेस्टाइनले फिर्ता पाएको रहेछ ।

Global Ime bank

प्यालेस्टाइनको यस्तो ऐतिहासिक भूभागमा टेकेर मैले यासेर अराफातलाई सम्झेँ । अनि झन्डै सर्पको काँचुलीजस्तै देखिने उनको पगरी वा शिरमा सजिने पोसाकलाई सम्झेँ । २०३६ सालको विद्यार्थी आन्दोलनमा हामी होमिएको बेला प्यालेस्टिनी जनताको स्वतन्त्रता आन्दोलन तथा यासेर अराफातको नेतृत्वको कुरा खुबै हुने गर्दथ्यो ।

त्यति बेला उनी झन्डै पचास वर्षका थिएँ । त्यसको एक दशकअघि अर्थात् सन् १९६९ देखि प्यालेस्टिनी मुक्ति सङ्गठनको अध्यक्षको हैसियतमा आन्दोलन हाँकिरहेका थिए उनी । अराफात सन् १९९४ मा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणको राष्ट्रपतिको कार्यभार सम्हाल्न सफल भएका थिए ।

इजरायलका सहरहरू र प्यालेस्टिनी सहरको बीचमा तुलना नै गर्न नसकिने रहेछ । घरहरूको बनोट, सहरको सफाइ, सडकमा पैदलयात्रा गरिरहेका मानिसहरूको अवस्थामा आनको तान फरक देख्न सकिन्थ्यो । इजरायल ज्यादै धनीजस्तो देखिन्थ्यो भने प्यालेस्टाइन एकदम गरिब ।

जेरिकोबाट हिँडेको पन्ध्र मिनेटमै डेड सीको उत्तर पूर्वी किनारमा पुगियो । डेड सी र पारिपट्टि जोर्डनका पहाडी भूभाग हेर्दै हामी डेड सीको दक्षिणी किनारमा पुग्यौँ । बीचमा अल्मोङ, क्वालया, एन गेडी र मसादा रहेछन् । बाटामा थुप्रै किबुचहरू पनि रहेछन् ।

329035168_913920206413820_2129836409849799259_n1676701121.jpg

डेड सी पुग्नुअघि बाटोमा इजरायल र जोर्डनको सिमानामा एक किलोमिटर छोडेर काँडेतार लगाइएको रहेछ । सिमाना छुट्टयाउने जोर्डन नदी सानो भएकोले राम्रोसँग देख्न सकिएन । केवल किनारा मात्रै देखियो ।

सन् १९९४ मा जोर्डनका राजा हुसेन र इजरायलका प्रधानमन्त्री इज्याक रबिनबीच शान्ति सम्झौता भएपछि दुर्ई देशको सम्बन्ध राम्रो नै रहेछ । उक्त सम्झौता भएको एक वर्षपछि नै प्रधानमन्त्री भएकै समयमा रबिनको तेल अबिबमा हत्या भएको थियो भने एक महिनाअघि मात्र सन् १९९९ फेब्रुअरीमा राजा हुसेनको देहावसान भएको थियो ।

मृतसागर इजरायल, जोर्डन र प्यालेस्टाइनको भूभागमा पर्ने रहेछ ।  मसादानजिकै पुगेपछि उत्तरी डेड सी समाप्त हुँदो रहेछ । केवल एउटा नहरजस्तोबाट पानी दक्षिणी डेड सीमा जाँदो रहेछ । बाह्र वर्षअघि सागर भएको ठाउँमा अहिले जमिन देखिँदो रहेछ ।

बाटोमा जाँदै गर्दा एकान्त ठाउँमा कार रोकेर जोडीहरू मृतसागरमा फ्लोटिङ (तैरिने कार्य) गरिरहेको दृश्य देखेपछि आपूmलाई पनि ‘कति बेला त्यसैगरी सागरमा तैरिने कार्य गरूँ’ जस्तो भइरहेको थियो ।

एक्कासि गाडी ‘एन बोकेक’ भन्ने स्थानमा रोकियो । यो भूभाग इजरायलमा पर्ने रहेछ । त्यहाँ ‘संसारको सबभन्दा होचो भूभागमा स्वागत छ’ भन्ने होर्डिङ बोर्ड देख्दा मैले झल्झली विश्वको ताज सगरमाथालाई सम्झेँ ।

योहोले माइकबाट सूचना प्रवाह गर्दै लन्चको कुपन दिएर ‘एक बजे गाडीमा आइपुग्न’ सबैलाई आग्रह गरे । हामीसँग डेड सीमा लन्चसहित मनोरञ्जन लिनका लागि दुर्ई घण्टा दश मिनेटको समय थियो । डेड सीको किनारमा हायात क्राउन प्लाजालगायत अन्य केही ठूला होटेलहरू रहेछन् ।

महिला साथीहरू लन्च नखाइकन पौडी खेल्न गए । मेरो रुम पार्टनर दक्षिण अफ्रिकाका सिम्पेवे, पपुवा न्युगिनीका लुथर र मचाहिँ लन्चपछि मात्रै पौडी खेल्ने निर्णयमा पुग्यौँ । मलाई त सुरुमै जान मन लागेको थियो, तर सिम्पेवेले ‘धेरै नै भोक लाग्यो’ भनेकाले त्यसो गरिएको थियो ।

रेस्टुरेन्टकै मेल ड्रेस चेन्जिङ रुममा स्विमिङ कस्टम र चप्पल लगाएर तीनजना सँगैै डेड सीतिर हानियौँ । किनारमा थुप्रै महिला, पुरुष तथा बालबालिकाहरू शरीरमा माटो दल्दै लडीबुडी गरिरहेका थिए । कोही बालुवामा सुतिरहेका, कोही किनारमै प्लास्टिकको कुर्सी लगी त्यसैमा बसेर अवलोकन गरिरहेका तथा कोही सागरको पानीमा तैरिएर आनन्दमा मग्न थिए ।

खोरबाट भर्खर बाहिर निस्किन पाएका पाठाहरूले आँगनमा बुर्कुसी मारेझैँ स–साना बालबालिकाहरू चाहिँ यत्रतत्र कुदिरहेका देखिन्थे । मलाई आफ्नो बाल्यकालमा घरनजिकै मलेखु खोलाको हिर्मिरेको रहमा ढुङ्गाबाट हामफालेको सम्झना आयो । मलेखु किनारको बालुवामा तीनै बालबालिका जस्तै कुदेको, लडीबुडी गरेको तथा खेलेको स्मरण भयो । दुर्ई साथीहरूलाई छोडेर म त कुदेरै किनारमा पुगेँ ।

कुद्नुअघि एउटा एउटा सानो होर्डिङ बोर्डमा ‘डेड सीमा टाउको नडुबाउनु, डाइभ नगर्नु, हामफाल्ने काम नगर्नु, पानी ननिल्नु, आपूmलाई वा अरूलाई पानी नछ्याप्नु, बिस्तारै पस्नु अनि त्यसरी नै बाहिर निस्कनु, धेरै खानेपानी पिउनु’ जस्ता कुराहरू पढेको थिएँ ।

सबैभन्दा डरलाग्दो कुरो त ‘यदि पानी निलिहालेमा तुरुन्तै लाइफ गार्ड वा प्राथमिक उपचारका सामग्री प्रदान गर्ने व्यक्तिलाई खबर गर्नु’ भनेर लेखिएको थियो ।

किनारमा चप्पल राखेर म मृतसागरमा पसेँ । तुरुन्तै खुट्टा चर्याउन थाल्यो । घाँटीसम्म पानी आउन्जेल बिस्तारै अगाडि बढेँ । अनि, अलिक वर फर्किएँ । नुनिलो पानी आँखामा पर्दा समस्या हुने तथ्यलाई मध्यनजर गरी आँखा नै खोलेर पानीमा डुब्ने वा चप्ल्याङ्ङ आवाज आउने गरी ज्यान छोडेर पानीमा हाम्फाल्ने अवस्था थिएन तर ‘डुब्दा कस्तो होला त ?’’ भन्ने कौतूहलले मन–मस्तिष्कमा अड्डा जमाउन थाल्यो ।

एक मनले भन्यो, ‘छोड्दे केटा, डुब्न बल नगर ।’ अर्को मनले भन्यो, ‘हैट, बच्चैदेखि मलेखु खोला र त्रिशूली नदीमा पौडी खेलेर हुर्केको मान्छे, किन डराउने ?’

दोस्रो मनको पल्ला भारी भएपछि आँखा चिम्म गरेर डेड सीमा डुबेँ म । दुवै कानको चस्मा अड्याउने  ठाउँमा चर्यायो । तत्काल टाउको बाहिर निकालेँ । आँखा पोल्न थाल्यो । आँखा नखोलिकन नै किनारमा गएर हातले टाउको र अनुहारबाट पानी तर्काउने काम गरेँ । आँखा रमरम गर्न थाल्यो ।

झट्ट एउटा तरिका फुर्यो । तातो बनाएर पानी सुकाउन दुवै आँखा माथि हत्केलाले एकछिनसम्म रगेड्ने काम गरेँ । त्यो रगडाइले पोलेको आँखालाई केही सजिलो बनाइदियो ।

नुनिलो पानी ननिल्ने कुरामा प्रतिबद्ध भएता पनि ‘पानीको स्वाद कस्तो छ त ?’ भनेर चाख्ने इच्छाले मलाई हैरान बनायो । डेड सीमा चोर औँला मात्र चोपेर बिस्तारै अर्को हत्केलामा पानी खसालेँ । कति चोप्दा कति थोपा पानी झर्छ भन्ने कुराको अभ्यास गरेँ ।

दुर्ईपटक त्यसो गरेपछि तेस्रोपटक औँला चोपेर जिब्रोमा पानी खसाल्न लाग्दा सिम्पेवेले “हे सदान् ! स्टप इट” भन्दै सचेत गराए । ठूलो आवाजमा उनको बोली सुनेर म त झसङ्ग भएछु । तीन थोपा पो खसेछ । एकदम नुनिलो भयो । निकै नै चर्यायो ।

भान्साकोठाको भुइँमा सफा गर्दा पोछा लगाएजस्तै गरेर मैले हत्केलाले जिब्रोमा चार–पाँच पटक सफाइ गरेँ । यस्तो अनुभव गर्दा चर्याए पनि उल्कै सन्तुष्टि मिलेको अनुभूति गरेँ मैले ।

डेड सीमा सबैभन्दा उच्चतम आनन्द लिने काइदा नै फ्लोटिङ यानेकी पानीमा तैरिने कार्य भएकोले फेरि सागरमा पसेँ । उत्तानो परेर सुतेँ । माथिमाथि तैरिँदा प्रलय नै मज्जा आयो । डेड सीमै उत्तानो परेर तैरिएर पत्रिका नै पढिरहेको अरू कसैको फोटो देखेको थिएँ । तर, मैले पत्रिका नलगेकोले त्यसको आनन्द लिन भने पाइन ।

डेड सीको पानीमा तैरिइरहेको बेला मैले हाम्रो बाल्यकालमा चार–पाँच भोटो बढी फटाएका रिचोकटारका महसुर पौडीबाज वसन्त सिलवाललाई सम्झेँ । उहाँले दुवै हात जोडेर नमस्ते गर्दै खुट्टाले मात्र खियाएर त्रिशूली नदी पार गरेर रेकर्ड राख्नु भएको थियो । तर, मैले त्रिशूली नदी पौडी खेलेर तर्ने क्रममा त्यसो गर्न नसकेर बाँकटे हान्नै परेको थियो ।

मैले लुथरलाई फोटो खिचिदिन आग्रह गरेँ । त्यसपछि मृतसागरमा उत्तानो परेर तैरिँदै दुवै हातले भिक्ट्रीको ‘भी’ आकार देखाउँदै गरेको अवस्थामा मेरो फोटो खिचिदिए लुथरले । खेती किसानीमा पर्म लगाएजस्तै गरी मैले उनको तैरिँदै गरेको फोटो खिचिदिएँ । अत्यन्तै रमाइलो भयो ।

मृतसागरमा तैरिँदाको आनन्दानुभूतिलाई संस्मरणको रूपमा लिपिबद्ध गर्ने विचार मेरो मनमा आयो । यसरी मलाई आफ्नो सानैदेखिको लेखक बन्ने सपना ब्युँतिएको महसुस भयो । डेड सीको पानीमा बत्तिस प्रतिशत नुन भएकाले पानीमा घनत्व बढी हुने कारणले गर्दा नै त्यहाँ जाने मानिसहरू नडुब्ने र माथि सतहमा तैरिने रहेछन् ।

अन्य समुद्र वा महासागरकोभन्दा डेड सीको पानी ९.६ गुना बढी नुनिलो रहेछ । अत्यधिक नुनिलो पानी भएका कारण त्यहाँ माछा, अन्य कुनै जलचर, वनस्पति वा घाँस केही पनि जीवित रहन नसक्ने रहेछ । जोर्डन नदीबाट खेल्दै आएका माछा मृतसागरमा प्रवेश गर्नेबित्तिकै मर्ने रहेछन् । यो सागरमा कुनै जीवजन्तु बाँच्न नसक्ने भएकाले नै यसलाई मृतसागर भनिएको रहेछ ।

हाम्रो टोलीकै महिला साथीहरूले पौडी खेलिरहेको ठाउँभन्दा अलि पर गएका थियौँ हामी तीन । ‘आधा घण्टाभन्दा बढी पौडी नखेल्नु’ भनिएकाले जति रोमाञ्चित वातावरणमा मज्जा लिने क्रियाकलाप हुँदै गरेको भए पनि त्यसलाई बिट मार्न हामीहरू विवश थियौँ । बालुवामा सुत्ने, लडीबुडी गर्ने तथा शरीरमा माटो दलेर कुद्ने काम बन्द गर्नु पर्दा अलिक नमिठो पनि लाग्यो ।

ओपन सावरमा नुहाएर ड्रेस चेन्जिङ रुममा गई कपडा फेरेर एउटा खुला टेबलमा आफ्नो डायरी झिकेर लेख्न थालेँ । संसारको छानो सगरमाथाको देशबाट आएर समुद्री सतहबाट ४३०.५ मिटर तल रहेको संसारकै सबैभन्दा होचो सुक्खा जमिन भएको ठाउँ मृतसागरको किनारमा बसेर डायरी लेख्न थाल्दा मलाई गर्वको महसुस भयो, संसारको सबैभन्दा होचो स्थानमा भएको सडक पनि यहीँ नै रहेछ । जमिनमुनि भएको खानीमा जान बनाइएको सडक मात्र यो भन्दा होचो स्थानमा रहेछन् ।

डेड सीको पानी बाहिर जाने ठाउँ छैन । पानी वाष्पीकरण भएर सागर आफैँ गन्तव्यहीन बन्छ । तथ्यलाई नियाल्दा यसको लम्बाइ पचास किमि र चौडाइ बढीमा पन्ध्र किमिसम्म रहेको छ । यसको मुख्य पानीको स्रोत भनेको नै जोर्डन नदी र स–साना नालाहरू रहेछन् । यसको गहिराइ सालाखाला ३०४ मिटर रहेको बुझियो ।

नुनिलो पानीमा विभिन्न तŒवहरू हुने भएकाले त्यहाँ पौडी खेलेपछि छालाका कतिपय रोग निको हुन्छ भन्ने भनाइ पनि रहेछ । किनारको माटो दलेमा छालाको रोग निको हुन्छ भनेर नै धेरै मान्छेहरूले किनारको बालुवामा सुतेर शरीरमा माटो लेपन गरेका रहेछन् । माटोलाई स–साना प्याकेटमा हालेर बेच्न राखिएको पनि रहेछ । एउटा सानो प्याकेटको नौ सेकेल (३३२ रुपियाँ) पर्ने रहेछ ।

जिन्दगीमा एउटा मिठो अनुभव सँगालेर उर्दीअनुसारको समयभित्रै गाडीमा बस्न पुगेँ म । प्रशिक्षक योहोसुवाले “कोही छुटेको छ कि ?” भन्दै गन्ती गरे । समयमै सबै उपस्थित भएकोमा उनले दिएको ‘धन्यवाद’ सँगैै गाडी रफ्तारमा गुड्न थाल्यो । मेरो मनचाहिँ मृतसागरमा तैरिँदै ब्युँतिएको लेखक बन्ने सपनामा तरङ्गित भइरहेको थियो ।

(हालै विमोचित कडेलको नियात्राकृति ‘मृतसागरमा तैरिँदा’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC