site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रिय प्रकृति
Sarbottam CementSarbottam Cement

पात पातसँगै बेरिएर फुल्यो भने
कति रमाऊलान् लहराहरू ?
फैलाएर चौतर्फी हात
कति लम्कन्थ्ये होलान् 
फूल, पात र लहराको सन्तान ?

प्रकृतिको सुन्दरता भन्नु नै अंकुरण हुनु, बढ्नु, झांगिनु, फुल्नु र फैलनु नै त हो ।

हरित सुन्दरताबिना प्रकृतिको सौन्दर्य नै हुँदैन । पहेँलो र निलोको सम्मिश्रणबाट पैदा भएको हरियोपनामै छन्, सम्पूर्ण सृष्टिका चराचरहरू । हरियोको आलोकमा हुर्केका हुन्छन् जीव । तिनै प्राकृत सूर्यको पहेँलो किरण तापेर हुर्काउँदै बचाएको हुन्छ, प्रकृतिले आफ्नो वैभव ।

Prabhu Bank
Agni Group
NIC Asia

ऋतु, काल, समय र मौसमानुसार प्रकृतिको रूप र गुण फेरिन्छ । कहिले यही प्रकृति मेघको घुम्टो ओढेर वर्षा बन्छिन् । यही प्रकृति फिँजाउँछिन्, कनक कान्तिको उज्यालो ।

बिहानीमा चाँदीजस्तो काञ्चन वर्णमा श्वेतवस्त्र धारण गर्दै हरित तृणहरूमा समेत रोशनी छर्न आउँछिन् । सन्ध्यामा उनी सुवर्ण लेपनको बदन लिएर भोलि उही उज्यालो लिएर आउने गरी बिदा हुन्छिन् । अनादिदेखि अटुट र निरन्तर छ, यो क्रम ।

Global Ime bank

लीलामय प्रकृतिको उत्पत्ति र विकासको मूल कारकतत्त्व भनेकै ईश्वरीय लीला हो भन्ने लाग्छ । मानवनिर्मित प्रकृति हुन सक्ने भएको भए मान्छेले कति रंग्याउँथ्यो होला, निर्जीव कागजका फूलमा ताजा र जीवन्त हरियोपना ? एक फाँकबाट अर्को वेग, ओल्लो घुम्तीबाट पल्लो घुम्ती गर्दागर्दै कति फरक लीला भेटिन्छन्, प्रकृतिका काखहरूभित्र ।

संसारमै अपरम्पार छ, प्रकृतिको बनोट र आकर्षण । कुनै महान् कुराको उपमा दिन पर्यो भने प्रकृतिभन्दा अर्को महान् रचनाको रचनाकार कोही  हुन सक्दैन । संसारमा भएका सबै मानिस त केवल रमिते मात्र हुन् । हेर्छन्, रमाउँछन् । न अघाउन सक्छन् न हिँडेर जित्न नै । प्रकृतिको अनुपम कलामा मान्छेले गर्ने भनेको दुई–चार फन्को विचरण न हो ।

हामी अनाहक प्रकृतिलाई गाली गर्छौँ, दोष दिन्छौँ । के गुन लगाएका छौँ र हामीले प्रकृतिमाथि ? न हिमालमा एक पसर हिउँ थप्न सकेका छौँ न पहाडमा फुल्ने गुराँसमा भर्न सकेका छौँ लाली । न तराईको सलहेस फूललाई बाह्रमासे बनाउन सकेका छौँ ।

केही छैन प्रकृतिको लीलालाई बनाउनुमा हाम्रो योगदान । हामी त लीला हेरेर रमाउने मात्रै । बढी गर्यौँ भने यस्तै लेखमा महिमागान गाउँछौँ । विम्ब र प्रतीक बनाउँछौँ, कहिले जननी, आमा, धरा यस्तै यस्तै !

सबै कुरा प्रकृतिले दिएको छ हामीलाई । सुकिला चाँदीजस्तो मनमोहक हिमालय दिएको छ । जीवनको सहारा पानी दिएको छ । हरिया मैदानी सुविधा, पहाडको मनोरम र सौन्दर्यधाराको अनुपम उपहार दिएको छ ।

बाँच्नका लागि महत्त्वपूर्ण तत्त्व चोखो वायु छ । उर्वर माटो छ, भूमि छ । भूमिको उर्वरताले अन्न दिएको छ । हात्ती अघाउने घाँस छ । घोडाको प्रिय घाँस खरुकी दिएको छ । कमिलाको भोजन छ । मानिसलाई चाहिने फलफूल खानपान के छैनन् र प्रकृतिका रचनामा ।

रागरमिता र ध्यान, ज्ञानको तपोभूमि उपहार दिएको छ प्रकृतिले । आफ्नै गुराँसे लाली दलेर आफ्नै बदन सजाएको छ । अनेकन् कुसुमलताले रेसमी चुल्ठो बाँधेको छ । आफैँ पैदा गरेर चम्पा, बेली, जाईजुही, कुमुद र हसनाको बास्नाले सुगन्धित बनाएको छ धर्ती । नानाथरीका बाला झुलाएर लहलह भएर षोडशी शृंगारको बैँसमा रमाउँदै रमाउन सिकाएको छ प्रकृतिले हामीलाई ।

नौला भाव सिर्जना गर्ने क्षमता दिएको छ । शशी र सविताको सन्तुलनको अध्ययनका लागि ऋतु दिएको छ । दैवीकलाको कलामय कल्पना मात्र नभएर चेतनाको अनन्त उद्भवले सजिसजाउ भएका कला, ज्ञान र विज्ञान दिएको छ ।

संसारकै उच्च अम्बरचुम्बिनी हिमचुलीका थुप्रै काखहरूमा प्राणेश्वर छ । जडीबुटी र जटामसीका अनेकन् जातिप्रजातिले भरिपूर्ण बनाएको छ । यहीँ अग्लो सगरमाथा र होचो केचना छ ।

पाखापर्वतका सफेद पीयूष पिएर सुषमाको लहरमा रमाउँदै बाँचेका असंख्य स्तनधारी, उड्ने, घिस्रने, चिप्लने अनेकानेक जीव र कीटपतङ्गादि र हामी मानिसको समेत प्रिय आश्रयस्थल प्रकृतिको महिमा यो लेखनीमा कति अटाउला र ? आफैँमा सन्देह राखीराखी प्रकृतिकै सिरान, खोच र विभिन्न भागमा रहेका तालतलैयामा तरंगित भएको अनुभूत गर्दै लेखिरहेको छु, केही प्रकृतिको सारसंक्षेप ।

लाग्छन्, हामी मान्छेहरूलाई अग्ला हिमगिरिहरूले पुष्ट छाती बनाउँदै शिर उँचो राख्न सिकाइरहेका छन् । बुकी, लालुपाते, जाईजुही र चम्पाले मगमगाउने मिठो पाठ पढाइरहेका छन् । हावाले गतिशील हुन सिकाएको छ ।

पानीमा अनन्त ऊर्जा छ, मदानी घुमाउन सक्छौ भनेर देशै उज्यालो पार्ने शक्ति दिएको छ । धर्तीले समय संवेदनाको आचार्य भएर सिकाएकै छ ऐननियम, आहारविहार, शीतताप, सुखदुःख, धैर्य, क्षमा र अहिंसा परमोधर्मको विविध आयाम ।

कर्म गरेर सुन फलाउने माटो छ । खोस्रेपछि माटो र ढुंगाभित्र छन् बहुमूल्य रत्नका खानीहरू । माटोको संगीत छ, गीत छ । ढुंगाको बेग्लै सुर र लयहरू छन् । नौरंगी डाँफेमा मनमोहक रङ भरेर उडाइदिएको छ ।

मुनाल, सुगा, मैना र कोइलीजस्ता अनेक जातजातका पन्छीहरूको गीत छ । यिनै प्राकृत रूप, गुण, तत्त्व र दर्शनले दिएको सार्थकसिद्ध झन्कार छ ।

प्रकृतिले नै दिइरहेको छ, मनमनमा अनन्त कोटी आनन्द ।

मालिंगोको बयेलीपूर्ण सुललित लयको विशालता छ । सारंगी र नरसिंगाका सुरभित ध्वनिको जादु छ । प्रकृतिकै अनुपम उपहार आमाका जादुमयी माया, वात्सल्य र स्नेहले पोतिएको सुमधुर लोरी छ ।

यही प्रकृतिमा छिन्, प्रकृतितुल्य सृष्टिकी जननी आमा । के छैन र प्रकृतिको रचनामा, आँखा नउघ्रिँदै रविको उदय छ । रातमा शीतल चन्द्रमा छ, ताराहरूको झिलमिलाहट छ । कल्पनाको सुन्दर संसारभन्दा पनि विचित्रको छ, प्रकृतिको कला र रचना ।

प्रकृति स्वयंमा खुला विश्वविद्यालय हो । प्रकृतिका हरेक जीव, वनस्पति आदिले कुनै न ज्ञान र शिक्षा दिइरहेका हुन्छन् । विश्वको पूरै प्रकृतिलाई सिँगार्नमा प्रकृतिको ठूलो देन छ ।

यहाँका जीव, वनस्पति सबै हाम्रा गुरु हुन् । ज्ञातअज्ञात रूपमा प्रकृतिले मानवजीवनलाई ठूलो गुण लगाएकै छ । हितोपदेश दिएकै छ । स्वादका लागि, स्वास्थ्यका लागि र सम्पूर्ण जीवन र जगत्कै निमित्त प्रकृतिले नदिएको के छ र ?

हाम्रो चेतना र ज्ञानका अभावले प्रकृतिक स्रोतको उपयोग र उपभोग गर्न सकेका छैनौँ । त्यो हाम्रो अज्ञानता हो । ‘हितेन सह साहित्य’ भनेर जसरी साहित्यले मनलाई आनन्दित बनाउँछ र सन्देश प्रवाह गरेर पाठक र समाजलाई हित पुर्याएको छ, त्यसैगरी प्रकृतिले मानव अस्तित्वको रक्षाका निमित्त अझ ठूलो हित गरेको छ ।

हामी मानिस जिउँदो प्रकृतिको महत्त्व कम बुझेर दुःख पाइरहेका छाँै । फूल रोप्न छाडेर कागजका फूलमा रमाउन पुगेका छौँ । चित्रको रूखलाई बढी महत्त्व दिएर पात झरेको अस्थिपञ्जर रूखको तस्बिर भित्तामा टाँगेर हरियाली खोजिरहेका छौँ ।

साहित्यमा वास्तविक अनुभूतिका सुन्दर सिर्जनाहरू कम र काल्पनिक लीलाप्रधान भएजस्तै प्रकृतिको वैचित्यपूर्ण लीला हाम्रा लागि फिका हँुदै गएका छन् । हामी हीराको महत्त्व बिर्सेर अभ्रखको पाप्रोमा रमाउन थालेका छौँ ।

मानिसको बस, नियन्त्रण, निर्माण र कल्पनातीत परिकल्पनाभन्दा निकैनिकै पर छ, प्रकृतिको रहस्य । ईश्वरीय कलाभित्रको पनि अपरिमित लीला छन् प्रकृतिमा ।

पत्रपत्रमा, कणकणमा र यावत् जीवजन्तु र वनस्पतिमा छन्, ज्ञानका अनगिन्ती अभेदहरू । मौसम छ, मौसमानुसारका फलफूल छन् । जीवन र जगत्को कल्याणका लागि जल, जमिन, जंगल, जडीबुटी र सञ्जिवनी समेत छ प्रकृतिमा ।

अनगिन्ती तरूलता छन्, हामीले नचिनेका हुनसक्छौँ । कति जातका कल्पलताहरू उक्लँदै होलान्, समाएर गुराँसको फेर । औषधिले युक्त झारमौरो, धाउ, दर्शनढुंगा र कतिपय आँखीगेडी र रातीगेडी त जानेकै छैन हामीले ।

प्रकृति अलिखित विशाल ग्रन्थ लिएर पढाइरहेको छ हामीलाई पहाडको कथा, नदीको छन्द, हिमालको सौन्दर्यशास्त्र र निस्काम कर्मको सूत्र ।

हामीले आँखाले देख्ने प्रकृति मात्रले कहाँ सकिन्छ र प्रकृतिको सारसंक्षेपी । हावा आकाशगंगाले धोइएर मात्र आउँछ । बादल ओर्लेर अँगालो हाल्न खोज्छ । स्वर्गीय पृथ्वीको कला देखेर, छ भने धर्तीमाथिको स्वर्ग रोइ पो रहेको छ कि के थाहा ?

यो अलौकिक प्रकृति त सधैँकी बहार सुन्दरी भएर आफ्नै रेसमी पोसाकमा गमक्क छिन् । सदैव लालबुट्टे मुस्कान छोडेर पोत्छिन्, प्रकृति अवनीको दैलो ।

प्रकृतिले सिँगारेका हरेक वन, उपवन ससाना स्वर्गका थुम्काझँै छन् । नांगो उत्तिसमा पनि कला छ, कपुर र श्रीखण्डको सुवास छ । के छैन यहाँ ? राम्रो नराम्रो भन्ने हामीलाई त कुनै हक नै छैन ।

कृतिले आफ्नो समय सारिणीभित्र गर्नुपर्ने यावत् कर्तव्य पूरा गरिरहेको छ । यसरी सबै चराचरकै सृष्टि रचनालाई रचनात्मक पारेको छ । जीव, वनस्पति र मानव सभ्यतालाई जीवन्त बनाउँदै सुशोभित पारेको छ ।

सबै जीवन र जगत् छ त प्रकृतिकै खटनमा छ । के जानेका छौँ र हामीले ! हामी त हाम्रै दुष्कर्मबाट प्रकृतिको विनाश गरेर प्रकृतिलाई नै दोष दिन मात्र जान्दछौँ । प्रकृति आफ्नो कर्तव्यमा नियमित चलेको छ । तर, हामीले प्रकृतिप्रति वहन गर्नुपर्ने कर्तव्य, जिम्मेवारी र दायित्व खासै पूरा गरेका छैनौँ । खासै मात्र किन, कतिपय सवालमा त गर्दै गरेका छैनौँ ।

रूख काटेर बास बसालेका छौँ, लास सल्काएका छौँ ।

कलकल सरिताको प्रवाहमा मल र ढल मिसाएका छौँ । दोहन मात्र छ हामीबाट प्रकृतिको । साह्रै कम छन् रूख रोप्ने हातहरू । बरु, कतिपय हातहरू डढेलो सल्काउन खोज्दै छन् होला, घोटेर सलाईको काँटी ।

प्रकृतिले स्वयं पैदा नगर्ने हो भने यी सुन्दर डाँडाकाँडा खल्वाट भइसक्ने थिए होलान् । मुरली छेड्ने बाँस र सारंगी खोप्ने खिर्रो पनि नपाउने दिन भइसक्थ्यो कि के थाहा ?

अन्वेषक, अनुसन्धानका विद्यार्थी कवि, लेखक, साहित्यकार तथा पर्यटकहरूका लागि त झन् प्रकृति विशिष्ट खुला संग्रहालयसहितको ऊर्जाशील स्रोत हो । प्रकृतिको तारल्य सौन्दर्यभित्रका अनगिन्ती अन्वेषणले लेखकीय विषयलाई चामत्कारिक बनाउन कति हो कति बल पुर्याउँदछ भन्ने कुरा पनि लेखीसाध्य कुरा रहेनछ । चलायमान प्रकृतिको सजीवता भित्रभित्रै छन्, स्थावर र जंगमको सुललित झल्लरीमल्लरीहरू ।

विज्ञानले चमत्कार गर्यो भन्ने कुरा प्रकृतिको अगाडि भ्रम मात्र हुँदा रहेछन् । कौसीमा फूल फुलेको र आभूषणजस्ता लाग्ने ससाना बिरुवामा दुई–चार दाना फल लागेको देख्नेले कसरी बुझ्न सक्लान् र गहन प्रकृतिको गहिरो शृंखला ।

सिमेन्टको गमलालाई नै पूरै धर्तीको उर्वरत्व बुझ्नेले के बुझ्न सक्लान् र प्रकृतिको आनुवांशिक महत्त्व ?

प्रिय प्रकृति, मैले भन्न सक्ने भनेको यत्ति नै हो । तिमी हामी सबैको धाताविधाता र गुरु हौ । कहिल्यै अप्रिय नहुने प्रिय प्रकृति, तिमी नै हौ संसारको प्रिय अनुभूति ।

(गोदावरी, ललितपुर)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC