
कमलमणि काफ्ले
सानो चेहरा, गहुँगोरी, खिरिली, ठिक्कको उचाइ र उठेका छाती । भर्खर १८ वर्ष टेक्दै गरेकी स्यानी झलक्क हेर्दा निकै आकर्षक देखिन्थी । घरकी कान्छी छोरी भएकीले स्यानी भन्दाभन्दै नाम नै स्यानी रहन गएको हो ।
सात कक्षासम्म पढाइ हुने गाउँकै विद्यालयमा पढाइ सिध्याएपछि छोरीले बाहिर गएर पढ्ने प्रचलन नरहेको र आर्थिक कारणले सम्भव पनि नभएकाले एक किसिमले उसको पढाइ पनि त्यहीँ सकिएको थियो ।
छ÷सात कक्षामा पढ्दा नै उसका कतिपय साथीले आ–आफ्नै रोजाइका केटासँग भागी बिहे गरिसकेका थिए । कतिको १६÷१७ वर्षकै उमेरमा परिवारले नै केटो खोजेर बिहे गरिदिएका थिए । तीमध्ये कतिपय बच्चा समेत बोकेर माइत आउन थालिसकेका थिए ।
स्यानीले भने विद्यालयमा रहँदा र घाँसदाउरा, मेलापात जाँदा, गाईवस्तु चराउन जाँदा समेत त्यस्तो केटा साथी खोज्न र रोज्न सकेकी थिइन । साथीहरू आफैँले केटा रोजेर बिहे गर्दा, कतिकोे मागी विवाह नै भइसक्दा स्यानीलाई पनि बिहे गर्ने रहर नलागेको होइन । तर, आफू केटो खोजेर बिहे गर्न पनि नसक्ने, मेरो बिहे गर्ने बेला भयो, बिहे गरिदेओ भनेर बाबुआमासँग भन्न त झनै नसक्ने अवस्थामा थिई ऊ ।
यसैबीच, बाबुआमाबीच ‘स्यानीको बिहे गर्ने उमेर पनि भयो, केटो खोजेर बिहे गरिदिनुपर्छ है’ भनेर कुरा चलेको उसले च्वास्सचुस्स सुनेकी थिई । यस्ता कुरा सुन्दैमा पनि उसको मन पुलकित हुन्थ्यो । फलतः बिहे गरेर लोग्नेको घर गएको, छोराछोरी जन्माएको कल्पनामा डुब्थी ।
कहिलेकाहीँ त आफ्नो हुनेवाला लोग्नेको स्वरूप, बिहेपछि लोग्नेसंँग बिताउने रमाइलो पलकोे कल्पनामै रात बिताउँथी ।
यस्तैमा एक दिन पारि डाँडागाउँबाट उसको बिहेका लागि प्रस्ताव आएको उसले थाहा पाई । घरमा गाइँगुइँ कुरा हुँदै गर्दा उसले थाहा पाएकी थिई । एक दिन आमाले बोलाएर ‘पारि डाँडागाउँको एउटा केटाका लागि तँलाई मागेका छन्, केटो एसएलसीसम्म पढेको र भारततिर काम पनि गर्छ अरे, बिहे गरेर तँलाई पनि उतै लान्छु भनेको छ अरे ! छिटै काममा जानुपर्ने भएकाले बिहे पनि छिटै गर्नुपर्छ भनेका छन् । आज तँलाई हेर्न र कुरा गर्न आउने भनेका छन्, तँ अलिक चिटिक्क परेर बस् है’ भनिन् ।
यति भनिरहँदा आमाले ‘तेरो के छ त विचार ?’ भनेर सोध्नसम्म आवश्यक ठानिनन् । तर पनि स्यानी त्यसै फुरुङ्ङ परी । अनि, बेहुली भएर लोग्नेको घर डाँडागाउँ गएको, लोग्नेको मिठो माया पाएको, केही दिनपछि नै लोग्नेका पछि लागेर जागिरमा गएको मिठामिठा कल्पनामा डुब्दै नुहाइधुवाइमा लागि ।
बेलुका तीन बजेतिर तीनजना पुरुष स्यानीका घरमा आए । दुईजना अधबैँसे र एकजना २८/२९ वर्षको जस्तो देखिन्थ्यो । स्यानीले भित्र झ्यालबाटै चियाएर हेरी र त्यही २८/२९ वर्षको देखिने मानिस नै आफ्नो हुनेवाला लोग्ने हुनुपर्छ भन्ने अनुमान गरी ।
आमाबाबु र काका समेत बसेर भित्र केके कुरा गरे, उसले मेलो पाउन सकिन । कुराकानीपछि उसलाई बाहिर बोलाइयो र बाबुले भने, “लु ! छोरी यही हो । हेर्नमा त्यति नराम्री छैन । सात कक्षासम्म पढेकी छे । शीलस्वभाव राम्रै छ । अब तपाईंहरू के भन्नुहुन्छ ?”
सँगै आउने एकजनाले केटोतर्फ फर्केर भन्यो, “कस्तो लाग्यो त केटी ? भन्नुपर्यो ।”
केटोले “ठिकै छ” मात्र भन्यो ।
उता, स्यानीलाई ‘तँलाई केटो मन पर्यो कि परेन ? बिहे गर्न मन छ कि छैन ?’ भनेर कसैले सोधेन पनि । केटा र केटीबीच कुराको चर्चा कसैले गरेनन् ।
बिहे कहिले गर्ने, कसरी गर्ने भन्ने विषयमा छलफल हुनुअगाडि नै स्यानीकी आमाले उसलाई भित्र जान संकेत गरेकी हुँदा ऊ भित्र गई । कुराकानी केके भए, उसलाई थाहा नभए पनि आएका मान्छे फर्किसकेपछि आमाले आउने महिनाको ३ गते बिहेको टुंगो भएको कुरा सुनाइन् । त्यो दिन आउन केवल चार दिन मात्रै बाँकी थियो ।
स्यानी गम्न थाली । बाहिर बोलाइएका बेला उसले कर्के आँखाले केटोको अनुहार हेरेकी थिई । अनुहार निकै छिप्पिएजस्तो, कतैकतै मुजा परेको जस्तो देखिने । यसरी हेर्दा केटो खासै राम्रो त लागेन, तैपनि अब कुरा छिनिसकियो । ऊ निरपेक्ष रही, उसको कुनै गुनासो रहेन ।
स्यानी आफू पनि त केटो यस्तो उस्तो भनेर रोजीछाडी गर्ने मनस्थितिमा नभएर बाबुआमाले जस्तो खोजेर दिन्छन्, त्यस्तै स्वीकार गर्ने मनस्थितिमा थिई । उसले बाबुआमाको छनोटलाई मनमनै स्वीकारी ।
बिहेको तयारी सुरु भयो । छोटो समय भएकाले बिहे सानो आकारमा गर्ने र धेरै खर्चबर्च नगर्ने सल्लाह भएको रहेछ । त्यसैले पनि स्यानीले बिहेपछिको सुनौलो जीवनको कल्पना गर्दै दिन र रात बिताउन थाली ।
बिहेको दिन आयो । १५–२० जना जति जन्ती आए । बाजागाजा केही थिएन । आफ्नो रीतिथितीअनुसार विवाह विधि सम्पन्न भएपछि स्यानी अन्मिएर लोग्नेका घरमा पुगी । त्यहाँ पनि खासै तामझाम केही थिएन । केही मानिस, धेरैजसो महिलाहरू जम्मा भएका थिए ।
साधारण भोजको व्यवस्था त्यसै दिन गरिएको रहेछ । कार्यक्रम सकिएपछि सबै पाहुना आ–आफ्नो घरतिर लागे । भोलिपल्टै उनीहरू बेहुली फर्काउने विधिका लागि स्यानीका माइतीघर आए ।
स्यानी खुसी नै देखिन्थी । लोग्नेले आफ्नो जागिर भएको ठाउँमा छिट्टै जानुपर्ने भनेकाले उनीहरू एक रात मात्रै बसेर बिहानै बिदाबारी भए । स्यानीका साथीहरूले ‘बिहेपछि घरमा नबसी तुरुन्तै लोग्नेसँगै जागिरमा जान पाउने कति भाग्यमानी’ भन्दै उसलाई बधाई दिए ।
उसका आफन्त दिदीहरूले ‘तेरो त हनिमुन पनि भारततिरै हुने भयो, रमाइलो गर्ने भइस्’ भनेर जिस्क्याउँदै बिदा गरे । ऊ पनि मक्ख थिई ।
घर आएर एक÷दुई दिन बसेको समयमा यसो बाहिर, पानीपँधेरो जाँदा ‘तिमी त उसकी तेस्री श्रीमती हौ’ भनेर कुनैकुनै महिलाले भने पनि उसले खासै चासो दिइन । तेस्री नै भए पनि अरू दुइटी श्रीमती हाल नरहेको भन्ने पनि सुनेकीले यतातिरबाट ऊ ढुक्कै थिई ।
यो कुरो आफ्ना आमाबाबुलाई थाहा थियो वा थिएन भन्ने विषयमा पनि उसले खासै चासो राखिन । जे भयो भइसक्यो, अब चासो राखेर पनि केही फाइदा हँुदैन, बरु चासो नराख्दै राम्रो भन्ने उसले सोची ।
घरमा केही दिन बसेर उनीहरू लोग्नेको जागिर रहेको भारततिर जान भनेर घरबाट बिदा भएर हिँडे ।
घरबाट कहिल्यै कतै नगएकी स्यानी भारत कताबाट जाने हो, कुन सहर कहाँ छ ? केही जान्दिन थिई । लोग्नेले जताजता भन्यो, पछिपछि गई । गाडी र रेलमा गर्दै घरबाट हिँडेको तेस्रो दिन एउटा सहरमा पुगेपछि लोग्नेले भन्यो, “हामी हाम्रो ठाउँमा आइपुग्यौँ । डेरा अहिले व्यवस्थित छैन, व्यवस्था मिलाउनुपर्छ । आजको रात होटेलमा बसौँ । भोलि डेरा मिलाएर सरौँला ।”
त्यो रात उनीहरू होटेलमै बसे । भोलिपल्ट बिहानै डेराको व्यवस्था मिलाउन भन्दै लोग्ने होटेलबाट बाहिर निस्कियो । स्यानी त्यो नौलो ठाउँको होटेलमा दिनभर एक्लै बसिरही ।
उसको लोग्ने एकैपटक साँझमा आयो । र, भन्यो, “आज पनि डेराको राम्रो व्यवस्था हुन सकेन । कति होटेलमा बस्नु, यहाँ एकजना चिनेको दिदीभिनाजुको घर छ, आज त्यहीँ गएर बसौँ । अनि, भोलि डेरामा सरौँला ।”
स्यानीले नाइँनास्ति गर्ने कुरै थिएन । ‘हुन्छ’ भनी । सम्पूर्णतः लोग्नेमा समर्पित र आश्रित भइसकेकी ऊ उत्निखेरै लाग्नेको पछि लागी ।
झमक्क अँध्यारो भइसकेपछि उनीहरू एउटा गल्लीभित्रको घरमा पुगे । हिन्दी लबजमा नेपाली कुरा गर्ने दिदीभिनाजुले उनीहरूको स्वागतसत्कार गरे । त्यहाँ अरू पनि पुरुषहरू आउने–जाने गरिरहेका थिए । कोठाभित्र महिला र पुरुष गुनगुन गर्दै कुरा गरिरहेको सुनिन्थ्यो ।
केही पुरुष आएर दिदीसँग हिन्दी र अरू कुनै भाषामा के–के भन्थे भन्थे । उसले बुझ्ने कुरै भएन । बेलुकी खानपिन गरेर उनीहरू त्यहीँ रहेको एउटा कोठामा सुते ।
बिहान पाँच बजेतिर स्यानीको निद्रा खुल्यो । उसको लोग्ने ओछ्यानमा थिएन । उठेर नित्यकर्ममा लागेको होला भनेर पर्खेर बसी । तर, ऊ निकै बेरसम्म पनि आएन । उठेर स्यानीले हेरी, ढोका खुल्लै थियो ।
आफूले नित्यकर्म सकेर दिदीलाई गएर सोधी, “हाम्रो वहाँ कता जानुभएछ दिदी ?”
दिदीले अर्ध हिन्दीमिश्रित लबजमा भनिन्, “ओ त भोरै उठेर काममा गएछ । अब सामको मात्र आउँछ । तिमी यतै बस ।”
अब भने ऊ छक्क परी । सोच्न थाली, ‘भोलि कोठामा जाने भन्नुहुन्थ्यो, बिहानै काममा जाने कुरो त भएकै थिएन । काममै जानुपरेको भए पनि मलाई भनेर जानुपर्ने ? हिजो अबेला सुतिएको थियो, कि म निदाइरहेकी भएर निद्रा बिग्रेला भनेर नभनी हिँड्नुभएको हो कि !’
स्यानीले आफैँलाई सान्त्वना दिई । दिदीले बिहान खाजा तथा दिउँसो खाना राम्रैसँग दिइन् र आफैँसँग राखिन् । त्यहाँ दिनभर थरीथरीका मान्छे आउँथे, सबैसँग कहिले हिन्दीमा त कहिले हिन्दीमिश्रित नेपालीमा “यो मेरो भाइको जनानी छ, भर्खरै गाउँ से आएको छ” भनेर परिचय गराउँथिन् ।
आउने मानिसले “ढेरै राम्रो छ” भन्दै ऊमाथि गिद्धे नजर लगाउँदै दिदीसँग कुरा गरिरहेका थिए । के कुरा भइरहेको थियो, ऊ बुझिरहेकी थिइन । दिदीलाई आउनेले केही पैसा दिन्थे र एउटा कोठातिर छिर्थे ।
थुप्रै कोठाहरू भएको दिदीको घरमा झल्याकझुलुक केटीहरू देखिन्थे । तिनीहरू भएको कोठाबाट महिला–पुरुषबीचको मधुरो आवाज सुनिन्थ्यो । यो के हो ? उसले केही भेउ पाउन सकेकी थिइन । तथापि, उसको मनमा चिसो भने पसेको थियो ।
दिदी भन्नेकोे पेसा त्यति राम्रो नरहेको कुरा उसले लख काटिसकेकी थिई । त्यसैले कतिखेर आफ्नो लोग्ने आऊलान् र यस ठाउँबाट निस्कनुपर्ला भन्ने छट्पटाहट उसमा थियो ।
साँझ पर्यो । तर, उसको लोग्ने आएन । दिदीले काम पर्यो होला भनेर टारी । उसले भोलि आउला भनेर सम्झाई । यसरी भोलि आउँछ भनेको उसको लोग्ने कहिल्यै आएन ।
अघिल्लो दिनसम्म ‘बुहारी’ भनेर माया देखाउने दिदीले अब राक्षसी रूप देखाउन थालिन् । उप्रान्त, उसलाई एउटा कोठामा बस्न अह्राइयो र आएका मानिसले भनेअनुसार गर्न भनियो । उसले नमान्दा पटक–पटक थरीथरीका मान्छे हुल्दै बाहिरबाट ढोका लगाइयो ।
स्यानीसँग त्यो मान्छेले जबरजस्ती यौनसम्पर्क गर्ने प्रयास गर्यो । उसले प्रतिवाद गरी । त्यसपछि मालिक्नीलाई बोलाइयो । दिदी भनेर मानेकी मालिक्नीले भित्र पसेर उसलाई “तेरो लोग्नेले तँलाई मकहाँ बेचेर गएको हो, ऊ मेरो भाइसाइ क्यै होइन, मैले तँलाई यस्तै काम गराउन किनेकी हुँ, अब तेरो काम भनेकै मैले पठाएका मान्छेले भनेअनुसार गर्ने र उनीहरूको चित्त बुझाउनु हो” भनेर प्रस्ट पारी ।
यतिखेर स्यानीले केही देखिन । आँखाअगाडि अन्धकार छायो । रिंगटा लागेर ऊ भुईंमा लडी । तर, जेसुकै भए पनि उसले धर पाउने कुरै थिएन । त्यसपछि स्यानी रोई, कराई, भाग्न खोजी । आफूले आफैँलाई मार्न खोजी । तर, ऊ सफल हुन सकिन ।
त्यहाँ आउने ग्राहकसँग अलिकति तलवितल परी मालिक्नीसम्म कुरा पुग्दा कहिले मालिक्नी आफैँ त कहिले भिनाजु भनेर चिनाइएको बडिगार्ड आएर मरणासन्न हुने गरी स्यानीलाई कुट्थे । अनि, त्यही अवस्थामा तिनकै सामुन्ने यौनसम्पर्क गर्न बाध्य बनाउँथे ।
अर्काको सामुन्ने त्यस्तो काम गर्नुभन्दा बरु कुनै प्रतिवाद नगरी ग्राहकले जे भन्छन्, त्यही गर्नु श्रेयस्कर हुने उसले ठानी र आत्मसमर्पण गरी ।
रहँदाबस्दा स्यानी त्यही काममा अभ्यस्त हुँदै गई । मालिक्नी पनि ऊबाट रिझिँदै गई । पछिका दिनमा मालिक्नी ऊसँग निकै खुसी थिई ।
एक वर्षपछि उसलाई छोडेर भाग्ने लोग्ने फेरि अर्कै केटी लिएर त्यहीँ आइपुग्यो । उसलाई देख्नासाथ स्यानीले ‘मलाई किन यस्तो अवस्थामा पु¥यायौ ?’ भनेर झम्टी । तर, उसले स्यानीलाई चिन्नै अस्वीकार गर्यो ।
“तिमी को ? म कसैलाई चिन्दिनँ” भन्दै ऊ टकटकियो । मालिक्नीले पनि “तिमीलाई यहाँ ल्याउने मान्छे यो होइन, तिमी झुक्कियौ” भन्दै उसैको बचाउ गरी । त्यसो नगरे विवाद बढ्दै गई उसले ल्याएकी केटीले समेत यो कुरा थाहा पाउने थिई ।
उसको लोग्ने भनाउँदो विवाद बढ्ला भनेर केही बेरमै कुलेलम ठोक्यो । खासमा स्यानी बिहे गरेर घर आउँदा गाउँकी महिलाहरूले ‘तिमी त उसको तेस्री स्वास्नी’ भनेको कारण पनि थाहा पाई ।
त्यो मानिसको पेसा नै केटी खोजेर भारत पुर्याएर बेच्ने रहेछ । कतिलाई काम लगाइदिन्छु भनेर त कतिलाई बिहे नै गरेर भारत लैजाँदो रहेछ । स्यानीभन्दा पहिले पनि दुईजनालाई बिहे गरेर लगेको रहेछ ।
उसले पहिलीलाई अन्तै पोइल गई भनेको रहेछ । अर्कीचाहिँ बिरामी भएर मरी भनेर माइतीतिर खबर पठाएको रहेछ ।
आज करिब २० वर्षपछि स्यानी आफैँ त्यो कोठीकी मालिक्नी भएकी छे । ऊसँग सम्पत्तिको कुनै कमी छैन । नोकरचाकर, बडिगार्ड सबै छन् । सुखैसुख छ । तर, बिहे गरेर घरजम गर्ने, साथीहरूजस्तै नानी बोकेर माइती आउने–जाने अनि घरपरिवारसँग रमाएर बस्ने उसको रहर कहिल्यै पूरा हुन सकेन । सायद अब हुन पनि सक्दैन ।
उसको भित्री आत्माले आफू बेचिनु परेको पीडा नभुलेको भए पनि आफूलाई जस्तै झुक्याएर घरगाउँबाट लिएर आएका केटीहरू दलालसँग किन्छे । र, सुरुमा जबरजस्ती धन्दा गराउँछे ।
उसलाई बिहे गरेर यो अवस्थामा पुर्याउने केही दिनको उसको लोग्ने, जो उसलाई छोडेर गएको एक वर्षपछि नै अर्की केटी लिएर आई उसलाई चिन्नै अस्वीकार गरेको थियो, अहिले पनि कहिलेकाहीँ नयाँ केटी लिएर आउँछ र पहिलेकी मालिक्नीलाई जस्तै स्यानीलाई पनि दिदीकै नाता लगाएर निश्चित मूल्यमा बेचेर जान्छ ।
स्यानी पनि ती केटीहरूसँग त्यस्तै व्यवहार गर्छे, जस्तो सुरुमा आफू आएको बेला मालिक्नीले गरेकी थिई । पहिले माया, त्यसपछि यातना अनि बाध्यतावश त्यो पेसामा बानी पार्दै जाने !