site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लघुवित्तले रित्याउँदैछ डडेलधुराका गाउँ
Sarbottam CementSarbottam Cement

डडेलधुरा । उमेर ७० वर्ष कटिसक्यो । बुढ्यौलीमा दैनिकी सुखद होला भन्ने आश गरेकी मानी ताम्राकारका दुःख भने झन् बढ्दै छन् । 

डडेलधुराको अमरगढी नगरपालिका–६ छचोडास्थित घरमा पुग्दा ताम्राकार कष्टकर जीवन बिताइरहेकी छन् भन्ने सहजै बुझ्न सकिन्थ्यो । 

घरका दुबै ढोकामा ताल्चा ठोकिएको थियो । मलिन अनुहार बनाएर एक्लै बसेकी थिइन् मानी । 

Prabhu Bank
Agni Group
NIC Asia

बुढेसकालको सहारा थिए उनका छोरा घनश्याम । तर घनश्याम भने लघुवित्तका कारण श्रीमती र छोराछोरीसहित बेपत्ता छन् । 

पुर्ख्यौली पेशा (तामाको व्यापार) गर्दै आएका घनश्याम र उनको परिवारको दैनिकी केही वर्ष अगाडिसम्म राम्रै थियो ।
झन्डै पाँचवर्ष अगाडि साढे दुई सय परिवारको बसोबास रहेको छचोडामा लघुवित्त संस्थाहरुको प्रवेश भयो । 

Global Ime bank

महिलाहरुका समूह बनाउन थाले । भएको आम्दानी पनि बचत हुने र समस्या पर्दा सहजै ऋण पाउन सकिने भन्दै लघुवित्तकर्मी सर्वसाधारणलाई सम्झाउन थाले । 

व्यवसाय बढाउने भन्दै घनश्यामको परिवारले पनि लघुवित्तबाट ५ लाख ऋण लिएछ ।  ऋण दिएको लघुवित्त संस्थाले चर्को ब्याजदर मात्रै होइन विभिन्न शुल्कको नाममा असुली धन्दा नै चलायो । 

मानी भन्छिन्, “केही समयसम्म त छोराले नियमित किस्ता बुझाउँदै आएको थियो । तर साँवा कहिल्यै पनि घटेन । पछि ब्याजलाई पनि साँवा बनाएर रकम असुल्न थालियो । अहिले छोरा–बुहारी घर छाडेर सम्पर्कविहीन भएका छन् ।” 

उनका अनुसार अहिले लघुवित्तका कर्मचारी आएर धम्क्याउने गरेका छन् । 

“म ७० वर्षकी बुढीलाई घरबाट निस्क्यौ म ताल्चा लगाउँछु भन्दै धम्काउँछन्,” उनले आँखाबाट आँसु झार्दै भनिन्, “यस्तो बुढ्यौलीमा म कहाँ जाने ?”

dadeldhura31675581639.JPG

छचोडाका अर्का स्थानीय भीम ताम्राकारले ताल्चा लगाएको आफ्नो दाइको घर देखाउँदै दुःख पोख्न थाले । 

“लघुवित्तले ब्याजलाई पनि साँवा बनाएर रकम असुल्न थालेपछि मेरा दाई रामबहादुर अहिले भारत पसेका छन्,” उनले थपे, “लघुवित्त नआउँदासम्म तामाको राम्रै व्यवसाय चलाइरहनुभएको थियो । नयाँ घर पनि बनाइरहनुभएको थियो । तर उक्त घर पनि अधुरै छोडेर दाइको गाउँबाट उठिबास भइसकेको छ ।” 

स्थानीय नेता धर्म ताम्राकारका अनुसार तामाको व्यवसायले आत्मनिर्भर छचोडाबासी अहिले घरमा ताल्चा ठोकेर भाग्नुपर्ने अवस्थामा पुगेका छन् । 

“आयस्रोत नहेरी लघुवित्तले सुरुवातमा जबर्जस्ती ऋण लिन स्थानीयलाई तयार बनाए,” उनी भन्छन्, “अहिले ऋण प्रवाह बन्द गरेर असुली धन्दा मात्रै चलाइरहेका छन् । यहाँका स्थानीयलाई मर्न बाध्य बनाइरहेका छन् ।” 

लघुवित्तको ऋणले गाउँ नै खाली हुने चिन्ता उनमा छ । 

“सहुलियतका नाममा विपन्नलाई झन् विपन्न बनाउने योजना लघुवित्तको रहेछ,” उनले थपे, “एउटै लघुवित्तले दुई करोडसम्म छचोडा गाउँबाट संकलन गर्नुपर्ने बताउँदै आएका छन् ।”

अमरगढी नगरपालिका वडा नम्बर ८ खनमडाकी चन्द्रा पार्कीका दुःख पनि फरक छैनन् । 

“सुरुमा निकै सहुलियत हुने भन्दै जबरजस्ती ऋण निकाल्न लगाइयो,” उनले भनिन्, “चार लाख ऋण लिएकी थिएँ । झन्डै तीनवर्ष लगातार किस्ता तिरेँ । तर अझै साँवा घटेको छैन । उल्टै ब्याजलाई पनि साँवा बनाएर असुल्न थालिएको छ ।” 

लघुवित्त संस्थाले रकम असुल्ने नाममा प्रताडित गर्ने गरेको गुनासो उनको छ । 

“बचत र ऋण असुलीका लागि संस्थाका कर्मचारीले घरायसी सामान मात्रै होइन मेरो त अस्ती बाख्रा नै उठाएर लगे,” उनी भन्छन्, “हामीलाई यी लघुवित्तले त मर्न बाध्य बनाइरहेका छन् ।” 

खनमडाकै दत्ती पार्कीका अनुसार सुरुवातमा लघुवित्तले समूह बनाएर ऋण निकाल्न सहज बाटो देखाउँदै बाध्य बनाएका थिए । 

“गाउँगाउँ पसेर सुरुमा समूह बनाउँदै ऋण निकाल्नका लागि सहज बाटो देखाए,” उनी भन्छन्, “अहिले तीनै लघुवित्त मृत्युको बाटो देखाइरहेका छन् ।” 

लघुवित्तका कारण अहिले डडेलधुराको छचोडा, दमडा, खनमडा, हतर्कालगायतका बस्तीहरु रित्तिन थालेका छन् ।

ऋण तिर्न नसकेर अधिकांश अहिले भारत पलायन छन् ।

वर्षाैँसम्म किस्ता बुझाउँदा पनि साँवा नघट्ने र उल्टै ब्याजलाई पनि साँवा बनाएर लघुवित्तले रकम असुल्न थालेको गुनासो स्थानीयको छ । 

लघुवित्तले धम्की दिएर मर्न बाध्य बनाइरहेको गुनासोसहित अहिले पीडितहरु एकजुट पनि हुन थालेका छन् । 

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका सुदूरपश्चिम अध्यक्ष मणिप्रसाद चौलागाईँले डडेलधुराका विपन्न वर्गलाई झन् विपन्न बनाउने उद्देश्यमा लघुवित्त सक्रिय रहेको बताए । 

“ऋण नलिएका स्थानीयको बचत रकम पनि लघुवित्त संस्थाहरुले फिर्ता गर्न मानेका छैनन्,” उनले भने, “जसले ऋण लिएका छन्, उनीहरुबाट विभिन्न शुल्कको नाममा असुली भइरहेको छ । घरमा ताला लगाएर भाग्नपर्ने बाध्यता सिर्जना गरिएको छ ।” 

आफूहरु ‘नवसामन्तीको रुपमा स्थापित भएका’ लघुवित्त संस्था खारेज हुनुपर्ने माग रहेको उनी बताउँछन् । 

dadeldhura11675581638.JPG

लघुवित्तले चर्को ब्याजदर लिने, किस्ता तिर्न नसकेका सदस्यलाई अनावश्यक दबाब दिने, ऋण दिँदा पूरा रकम नदिने जस्ता समस्याको विरुद्धमा देशभरी नै प्रदर्शन भइरहेको उनले बताए । 

सहकारीका बचतकर्ता पनि सशंकित

डडेलधुरामा सहकारीका बचतकर्ता पनि सशंकित हुन थालेका छन् । 

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीको डडेलधुरा शाखामा रकम जम्मा गर्दै आएका ग्राहकले बचत डुब्ने चिन्तासहित एकैपटक सबै रकम फिर्ता माग्न थालेका छन् । 

दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेका हुन् । 

सहकारीले एक दिनमा एक जना ग्राहकलाई बढीमा ५० हजार रुपैयाँ झिक्न मिल्ने बताएपछि बचतकर्ता थप समस्यामा छन् । 

रकम झिक्ने बचतकर्ताको भीड हुन थालेपछि यो सहकारी संस्थालाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ ।  पाँच वर्षमा दोब्बर दिने भन्दै सहकारीले ग्राहकको रकम बचत गर्दै आएको थियो । 

तर, सहकारीले रकम दिन छोडेपछि व्यापारीले दैनिक जम्मा गर्ने रकम जम्मा गर्न छोडेका छन् । 

“ग्राहकहरुले हाम्रो रकम एकैपटक दिनुहोस् भनेर आइरहेका छन्,” शिवशिखर बहुद्देश्यीय सहकारी संस्था डडेलधुराका व्यवस्थापक डम्बरराज पनेरुले भने भने, “धेरैलाई सम्झाएर पठाएका छौं । कतिपयले रकम फिर्ता पनि गरेका छौं ।” 

उनले समाजिक सञ्जालमा आएजस्तो ग्राहकको लगानी डुब्ने खतरा नरहेको बताउँदै ढुक्क भएर बचत गर्न र दैनिक कारोबार गर्न आग्रह पनि गरे । 

डडेलधुरा जिल्लामा ३९ करोड ८ लाख निक्षेप रहेको उक्त सहकारीको सेयर पुँजी रकम १ करोड ७४ लाख रहेको छ ।

सहकारीले २ करोड ४ लाख मात्रै ऋण लगानी गरेको छ ।

यस्तै सोही सहकारीले झन्डै ५ करोडको लागतमा गार्डेन मार्ट पनि सञ्चालन गरिरहेको छ भने सोही हाराहारीमा सहकारीको भवनमा लागत लागेको बताइएको छ । 

डोटीमा डडेलधुरा शाखाकै लगानीबाट शिवशिखर सहकारी सञ्चालन भइरहेको पनि शाखा व्यवस्थापक पनेरुले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC