
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरूको मनोबल खस्किएको बताएका छन् ।
बिहीबार नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । आज अग्रवालसहितको परिसंघको टोली बैंकर्स संघको नयाँ कार्यसमितिलाई बधाई दिन पुगेको थियो ।
सोही अवसरमा कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरूको मनोबल खस्किएको बताए । संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमति गरेकोमा धन्यवाद दिए ।
त्यस्तै, कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह अग्रवालले बताए । उनले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरूले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिनाप्रोभिजन ऋणको पुनर्संरचना, पुनः तालिकीकरण गरी सहयोग गर्नुपर्ने बताए ।

उनले उद्योगहरूको प्रवद्र्धन गर्न बेसरेटमा दुई प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे । अध्यक्ष अग्रवालले चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाइमा एकरूपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल सञ्चालन गर्न आग्रह गरे ।
बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडि बढ्नुपर्ने बताए । परिसंघले दिएको कतिपय सुझाव बैंकहरू तथा संघले आफै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने केसीले बताए ।
उनले अहिले बैंकहरुको प्रमुख समस्याको रूपमा बढ्दो खराब कर्जा रहेको बताए । केसीले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गरे ।