
विराटनगर । नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशको आयोजनामा बिहीबारदेखि विराटनगरमा कोसी एक्स्पो सुरु भएको छ । औद्योगिक तथा व्यापारिक मेलाको रुपमा आयोजित एक्स्पोको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।
१० दिनसम्म चल्ने एक्स्पोमा नेपाली उत्पादन जुम्लाको मार्सी चामलदेखि बंगलादेशको रेडिमेड कपडा र पाकिस्तानको छालाबाट निर्मित विभिन्न सामग्रीका स्टल राखिएका छन् ।
विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा माघ २८ गतेसम्म सीएनआई कोसी एक्स्पो २०७९ आयोजना हुनेछ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित ३७० भन्दा बढी औधोगिक तथा कृषि सामग्री बिक्री गर्न स्टल राखिएका छन् ।
परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेका अनुसार एक्स्पोमा एकै स्थानबाट १०० भन्दा बढी प्रकारका औधोगिक तथा कृषि सामग्री खरिद गर्न सकिन्छ ।
एक्स्पोका संयोजक राजेन्द्र कुमार राठीले औद्योगिक तथा व्यावसायिक क्षेत्रमा बैंक ब्याजदरलगायत कारणले जारी निराशाबीच आफूहरुले ठूलो तयारीसाथ विभिन्न बस्तुको प्रदर्शनी र बिक्रीवितरणको प्रबन्ध गरेको बताए ।
एक्स्पोमा नेपाली उत्पादन जुम्लाको मार्सी चालम, दाल, विभिन्न प्रकारको पिठो, कोदो, स्याउ बिक्री हुने स्टल राखिएको छ । झापाको कृषि उत्पादन अचारदेखि हस्तकलाका सामग्री, इलामको अर्गानिक चिया, तेह्रथुमको ढाकाका सामग्री, भोजपुरको खुकुरी, सप्तरी बरमझियाको पेडा, विराटनगरको जुट सामग्री आदिका स्टल छन् ।
भारतबाट इन्जिनियरिङ तथा इलेक्ट्रिकका सामग्री र फिटनेसका सामग्री बिक्री हुने स्टलसमेत एक्स्पोमा राखिएको छ । एक्स्पो उदघाट्नअघि विराटनगर विभिन्न जातीयको संस्कृति झल्ने झाँकी निकालिएको छ ।