1675265490.jpeg)
विराटनगर । साना व्यवसायीहरू ई–कमर्समा प्रवेश गर्दा अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने विराटनगरमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । सरकार र निजी क्षेत्रले पनि यस्ता क्रियाकलापहरूलाई प्रवर्द्धन गर्नुपर्नेमा सहभागीको जोड छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधबार विराटनगरमा भएको साना उद्यमीका सदस्यका लागि विद्युतीय सचेतीकरण कार्यशाला कार्यक्रमका सहभागीले विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारहरू पछि पर्दै गएको पनि बताए ।
प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ का साना उद्योग व्यवसाय र उनीहरूका उत्पादनलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले वातावरण बनाउने बताए ।
“विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले मात्रै बजार प्रवर्द्धनको अवसर पाएको छ । अब सरकारले साना उद्यमीहरूलाई पनि ई–कमर्समा अभिप्रेरित गर्न प्रदेश सरकारले सहयोग गर्नेछ ।”
आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा नयाँ मान्छेहरूको उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले साना उद्यमीहरूलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने मन्त्री सिटौलाले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डीबी बस्नेतले कार्यशालाको सिप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रूपमा बजारमा पुग्ने बाटो तयार हुने बताए ।
संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेसनसीप म्यानेजर सरोज नेपालले पछिल्लो समयमा विकास भएको डिजिटल फाइनान्सले मुलुकको आर्थिक गतिविधिलाई नयाँ तरिकाले अघि बढाउन सहयोग पुगेको बताए ।
स्वीस सरकार विकास सहयोग (एसडीसी) की सुब्रिना श्रेष्ठले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र विकासको कामलाई अझ अगाडि बढाउनु पर्ने बताइन ।
साना व्यवसायीहरू पनि ई–कमर्समा प्रवेश गर्दा अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने भन्दै सरकार र निजी क्षेत्रले पनि यस्ता क्रियाकलापहरूलाई प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यशालामा महासंघका केन्द्रीय सदस्यहरू नरेन्द्र कुमार खड्का, उमेश डालमिया, तारानाथ घिमिरेलगायतको उपस्थिति रहेको थियो । हात हातमा हुने मोबाइल लगायतका विद्युतीय प्रविधिको प्रयोगबाट पनि आफ्ना उत्पादनको प्रवर्द्धन गर्न सकिने महासंघ अध्यक्ष ढकालले बताए ।
महासंघले साना उद्यमीहरूको क्षमता विकासका लागि डिजिटल प्लेटफर्मको प्रयोगबाट ई–कमर्सको प्रवर्द्धन गर्न सचेतनाका कार्यक्रमहरू गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।