site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेख्न नसकेको कथा 
Tiktok banner adTiktok banner ad

एक दिन 
“सुन्नु न !” उताबाट म्यासेज आउँछ । 
“भन्नु न !” म रिप्लाई दिन्छु । 
“उम्... लेखूम् कि भनूम् ?” दुई विकल्पसहितको म्यासेज आउँछ । 
“तपाईंको इच्छा !” म यो लेखी पठाउँछु । 
“तपाईं त कथाकार, मेरो’नि कथा लेख्नु न है !” उताबाट एउटा प्रस्ताव आउँछ ।
“म कथाकार हैन, कथा बेआकार हुँ !” म आफू कथाकार नभएको भन्छु ।

(नोट : हुन पनि हो, म कथाकार हैन । कथालाई सुन्दर आकार दिएर कथा बुन्ने शिल्प ममा छैन । म कथा शिल्पकार हैन । कथाको व्याकरण थाहा छैन मलाई । ‘कथा तत्व’हरूको ज्ञान छैन मलाई । यत्ति हो, बेलाबेलामा मनको फाँटमा चल्छन् सानातिना हुरी । अनि, त्यसलाई थुनेर यसो कथाको आकार दिन खोज्छु । तर, बेआकार भइदिन्छ । पात्रहरूको चरित्रमा मनको कुचीले अनेकन् रङ भर्न खोज्छु, झन् बेरङ भइदिन्छ । तैपनि, पोस्ट गर्छु सामाजिक सञ्जालमा, शब्दका बेआकार थुप्रा । अनि पाउँछु लाइक्स र लभ रियाक्टहरू । अनि, ‘वाह ! गज्ज्ब कथा ! दामी कथा !’ जस्ता कमेन्टहरू पनि । कमेन्ट र रियाक्ट देखेपछि मन फुरुङ्ङ फुर्किन्छ, मक्ख पर्छ । फेरि लाग्छ, साथीहरूले बिनासित्तिमा उचालेको न हो मलाई । अनि भइदिन्छु म हावा खुस्केको बेलुनजस्तो !)

उनी हुन् कविता अनि म निबन्ध । हाम्रो भौतिक भेटघाट आजसम्म भएको छैन । तीन वर्षदेखि हाम्रो भेट केवल सामाजिक सञ्जालमा सीमित छ । कवितासँग मेरो पहिलो भेट फोटो कमेन्टमा भएको थियो । त्यो दिन मैले मेरो साथी ईनुको बर्थडे सेलिब्रेसनको फोटो ईनुलाई ट्याग गरेको थिएँ ।

त्यही फोटोमा उनले पनि कमेन्ट गरेकी थिइन् । त्यही दिन मैले कवितालाई फ्रेन्ड रिक्वेस्ट सेन्ड गरेँ । तत्कालै मेरो रिक्वेस्ट एक्सेप्ट गरिन् । अनि, फोटो कमेन्ट, पोस्ट कमेन्ट, लाइक, रियाक्टहरू बाक्लिँदै गए ।

सुरुमा ‘हजुर’ अनि ‘तपाईं’ अनि ‘तिमी’ ! हाम्रो सम्बोधनले रूप फेर्दै गयो । कहिले निकै फर्मल तरिकाले प्रस्तुत भयौँ, कहिले निकै इनफर्मल पनि । जतिखेर जसरी सजिलो भयो, त्यसरी प्रस्तुत हुँदै गयौँ । यही रूपले अघि चल्दै छ आजसम्म ।

अर्को एक दिन — १ 
“उम्... एउटा कुरा भन्नु थियो ।” च्याट हुँदै गर्दा विनाप्रसंग एक दिन ‘एउटा कुरा’को कुरा गर्छिन् उनी ।

“एउटा कुरा मात्रै ? म त सय कुरा सुन्न आतुर छु !” म थोरै जिस्किदिन्छु ।
“पैला एउटा ! त्यसपछि सय हैन, हजार !” उनी पनि मेरै रङमा मिसिन आउँछिन् । 
“ओके !” म अनुमति दिन्छु ।
“सबैको आआफ्नै कथा हुन्छ भन्छन् । मलाई थाहा छ मेरो पनि कथा छ, तर म लेख्न सक्तिनँ । प्लिज, लेखिदिनु न है मेरो कथा !” उनी फेरि कथातिरै मोडिन्छिन् ।

कथाको कुरा हाम्रो च्याटिङमा नघुसेको यस्तै तीनचार महिना भइसकेको थियो । घुस्यो फेरि, त्यही दिन ।

वास्तवमा म सकभर उनको कथा लेख्न चाहन्न थिएँ । म चाहन्थेँ, लेखून् उनको कथा उनी आफैँले । लेखून मज्जाले उनी आफूले अनुभव गरेका क्षणहरू । लेखून् खुलस्त भएर देखेका र भोगेका समयका रङहरूलाई ।

म आफैँले भोगेका समयलाई त शब्दमा उतार्दा न्याय गर्न सकूँला नसकूँला, त्यसको ठेगान हुन्न । अरूले बाँचेको समयलाई म कसरी न्याय गर्न सक्छु र ? यही सोचेर भाग्दै थिएँ म । च्याप्प समातिन् त्यस दिन फेरि । 

“कविताको कविता हुनुपर्ने हो, कसरी कथा ?” म जिस्किन थाल्छु । 
“निबन्धको जसरी त्यसरी !” उनी पनि । 
“हा...हा ! बाठो मुन्छे !” म हाँसिदिन्छु ।
“हा...हा !” उनी पनि ।
यसपछि म प्रसंग मोड्न थाल्छु । उनी टसको मस हुँदिनन् । 
“कस्तो जब्बर तपाईं !” फुत्रुक्क आइपुग्छ उनको म्यासेज । 
“उम्... म जब्बर, तपाईं गब्बर ।” स्माइलीसहित सेन्ड गरिदिन्छु । म जिस्किने मुडमा हुन्छु ।
“थाहा होला नि गब्बर कति डरलाग्दो मान्छे हो भनेर !” जिस्किन थालिन् उनी पनि । 
“जति डरलाग्दो भए’नि जेल जान पर्यो क्यारे  !” म गब्बरलाई डर देखाइदिन्छु । 
“हा...हा !” उनी हाँसिदिन्छिन् ।
“हा...हा !” म पनि ।

त्यसपछि सुनसान हुन्छ मेरो म्यासेन्जर च्याट बक्स । म पर्खि बस्छु कविताको म्यासेज । दुई, चार हुँदै दश मिनेट बित्छ, तर आउँदैन म्यासेज । मोबाइलको देब्रे टप कर्नरमा हेर्छु । रातको ११ बजेर १५ मिनेट गएको थाहा पाउँछु ।

“गुड नाइट । म सुतेँ ल !” यो म्यासेज लेखी पठाउँछु र वाइफाई अफ गरेर सुत्छु ।

भोलिपल्ट हाम्रो संवाद हुँदैन । पर्सिपल्ट पनि । समय आफ्नै गतिमा बग्दै जान्छ । हामी एकले अर्कालाई बिर्सेको जस्तै हुन्छौँ । एक महिनासम्म पनि कुनै हाई हेल्लो हुँदैन । फेसबुकका पोस्टहरूमा पनि लाइक र कमेन्ट हुँदैन । हामी आआफ्नै धुनमा हुन्छौँ । अर्थात्, अपरिचितझैँ हुन्छौँ । 

अर्को एक दिन — २ 
“हजुरले मेरो कथा नलेखेसी मैले अर्कैलाई लेख्न अनुरोध गरेको छु । हजुर मात्र हो र यो देशमा कथाकार ?” यसो भन्दै एक दिन म्यासेन्जरमा रातको करिब १० बजेतिर टुप्लुक्क आउँछिन् कविता । म के गरूँ, के भनूँ हुन्छु ।

“ल बधाई ! छिट्टै पढ्न पाऊँ !”  एक छिनपछि यति लेखेर सेन्ड गरिदिन्छु ।

“अझै बधाई रे ! आफ्नो कथा आफैँले पो लेख्नपर्छ भन्नु छैन ! भो लिन्नँ बधाई !” तुरुन्त आउँछ कविताको म्यासेज । उनका यी हरफहरूले कता कता घोच्छ मलाई । मैले सोचेको पनि त्यही त थियो, किन भन्न सकिनछु ? यो सोचले एक छिनसम्मै रन्थनाउँछ मलाई ।

“ओके... ओके । कथा लेख्न लगाए पनि उपन्यासचाहिँ आफैँ लेख्नु न त !” फटाफट चल्छ्न् मेरा औँलाहरू मोबाइलको किप्याडमा, तर सेन्ड गर्न सक्दिनँ । कुनै औँला तयार हुँदैनन् । मन दोधारमा फस्छ । सेन्ड गरूँ कि नगरूँ हुन्छ । अलमलिन्छु एक छिनसम्म ।

“ओ हेलो ! किन ? के भो ? किन ढिलो ? बरु, उता मेल चेक गर्नु त कथा आइसकेको छ । आफैँले लेखेको हो । म जाबोले कुन कथाकार चिनेको होला र ? बरु, कस्तो लाग्यो भन्नु है । कथा नै त नभनौँ । शब्दहरूको थुप्रोचाहिँ भन्न सकिन्छ मज्जाले । यसैलाई आधार मानेर तपाईंले कथा बनाउनु न है !”

सायद म अलमलिएको थाहा पाउँछिन् । म उनको म्यासेज पढ्छु र हुत्तिन्छु मेल चेक गर्न । जीमेलको इनबक्स भित्र छिर्छु र पढ्न थाल्छु कविताको कथा । 

शीर्षक : 
लेख्न नसकेको/नजानेको कथा !
गोर्खा 

त्यति बेला म सानै थिएँ, करिब छ वर्षको (छ वर्षको मान्छे जो पनि सानै त हुन्छ) । गाउँमा थियौँ हामी । गोर्खाको एउटा सानो गाउँ, नारानबस्ती । मेन बजारबाट निकै टाढा ।

सानोमा बजार जान खुब मन लाग्थ्यो । तर, आमा भन्नुहुन्थ्यो, “दुई घण्टा लाग्छ । तँ हिँड्न सक्दिनस् । ठुली भए’सी जालिस् ।”

मेरा शनिबारहरू गाईबाख्रासँग बित्न थाले र बिते । छ–सात वर्षदेखिको सहर हेर्ने रहर १५ वर्ष हुँदा पूरा भयो । त्यो पनि भागेर गएकी थिएँ, साथीहरूसँग फिल्म हेर्नलाई ।

सहर निकै भव्य लाग्यो । त्यहीँ बसूँबसूँ लाग्यो । गाउँ फर्कनै मन लागेन । गाउँमा मुस्किलले सानोखाले ट्याक्टर गुड्थ्यो । मुस्किलले दुई–चारवटा पक्की घर थियो, त्यो बेलामा ।

सहर मेरो लागि स्वर्ग थियो, त्यो बेलामा । तर, अचेल ठिक उल्टो पाउँछु । वास्तविक स्वर्ग त गाउँमा पाउँछु ।

एसएलसी पास भएँ । राम्रो नम्बर त आएन, तर पनि मनले ताक्यो सहरको कलेज । मन हुत्तियो सहरतिरै । उमेरसँगै सहर हेर्ने, त्यहीँ बसेर पढ्ने चाहनाको पहाड पनि अग्लिँदै गयो ।

आमालाई भनेँ । मान्नु भएन । बाबालाई पनि भनेँ । बाबाले पनि मान्नु भएन । अग्लिँदै गएको रहरको पहाड भास्सियो । म गाउँकै उच्च माविमा पढ्न थालेँ । र, प्लस टु पास भएँ ।

अब भने मेरो सहर बसेर पढ्ने सपनाको ढोका खुल्यो । गाउँमा डिप्लोमाको पढाइ हुन्थेन । मैले अब सम्झाउनै परेन घरमा । अनि, एक दिन म हिँडेँ सहर, धेरै वर्षअघिको सपनालाई मनको एउटा कुनामा पोको पारेर ।

नारायणगढ
सुरुको दुई–तीन महिना त यताउता हेर्दै, बुझ्दै बित्यो । अलमल अलमलमै सिद्धियो । बालकुमारी कलेजमा भर्ना भएँ । कोठा लिएँ क्षेत्रपुरमा । हामी दुईजना बस्थ्याँै । रुममेटचाहिँ मुग्लिङकी । पढ्नमा निक्कै तेज । हेर्दा हिरुनीजस्तै राम्री ।

हामी निकै मिल्थ्यौँ । बिदाको दिन सौराहा, मौलाकालिका घुम्न जान्थ्यौँ, अनि जान्थ्यौँ शिवघाट र देवघाट पनि । तर, विस्तारै मलाई ऊ मन परेन । उसको आनीबानी मन परेन । अचम्मको हरकत देखाउँथी ।

आफ्नो बेड छोडेर मसँग सुत्न आउँथी । अँगालो मार्थी । चुम्न खोज्थी, गालामा, नाकमा अनि ओठमा ! आफ्नो भित्री वस्त्र सहजै खोल्थी र मेरो पनि खोल्न खोज्थी । अहिले बुझ्दा ऊ लेस्बियन क्यारेक्टरवाली केटी रहिछे भन्ने थाहा भो ।

करिब पाँच महिनापछि हामी अलग भयौँ । म वीरेन्द्र क्याम्पस पछाडि सरेँ । यता सरेपछि म शिशिरसँग नजिकिएँ । उसको घर माडी । दुईपटक पुगेँ उसको घर । माओवादीले बस विस्फोट गराएको ठाउँभन्दा पनि पर रै’छ ।

ऊ भरतपुर, हाकिमचोकको मखमली सहकारीमा काम गर्थ्यो । पढाइमा पनि तेज थियो । उसले मलाई अंगे्रेजी सिकाउँथ्यो । बोर्डिङमा पढेको शिशिर ! यही क्रममा हामी नजिकिएका थियौँ ।

दोस्रो वर्षमा पुगेपछि म पनि त्यही सहकारीमा काम गर्न थालेँ । दुवैजना एकै ठाउँ ! निक्कै राम्रोसँग बित्न थाले दिनहरू । तर, एउटा यस्तो समय आयो कि मेरा राम्रा दिनहरू नराम्रा हुन थाले ।

उसले एक दिन अचानक अस्ट्रेलिया जाने कुरा गर्यो । म सहमत हुन सकिनँ । म उसलाई टाढा गएको हेर्न चाहन्न थिएँ । तर, ऊ आफ्नो निर्णयमा अडिग रह्यो ।  हेर्दाहेर्दै ऊ उड्यो अस्ट्रेलिया, बनाएर मलाई एक्लो । बनाएर मेरो मनलाई रित्तो न रित्तो ।

उता पुगेपछि ऊ विस्तारै बद्लिएको छनक पाएँ । भाइबर कल, भिडियो कल, म्यासेजहरू दुई–तीन दिन बिराएर आउन थाल्यो । पातलिन थाल्यो हाम्रो भेट । देखादेख !

हाम्रा साझा समयहरू विस्तारै व्यक्तिगत समयमा परिणत हुन थाल्यो । मन चिसो हुँदै गयो मेरो । आँखा गिलो हुँदै गयो । पढाइ बिग्रिँदै गयो । मन सम्हाल्न गाह्रो हुँदै गयो ।

यस्तैमा एक दिन ऊ मलाई थाहै नदिई नेपाल आयो । मैले थाहा पाएँ । म उसलाई भेट्न हतारिएँ । तर, ऊ मबाट टाढा रहन हतारियो । ऊसँग मेरो भेट हुन सकेन । भेट नभएरै ऊ फेरि उड्यो अस्ट्रेलिया ।

योपटक अझ ठूलो पीडा दिएर गयो । अस्ट्रेलिया जानुअघि उसले आफ्नो बिहेको तस्बिरहरू फेसबुक वालभरि लपक्कै टाँसेर गयो । अनि, मेरो मनको बारीमा फुलेको मायाको फूल मासेर गयो ।

म निकै प्रताडित भएँ त्यस दिन । उसले मलाई अनेकौँ सपना देखाएको थियो । सपनासँगै उसले मेरो शरीर मागेको थियो । झुटो सपनालाई प्रेम सम्झेर मैले मेरो शरीर विनिमय गरेछु । मैले उसलाई मेरो शरीर जसरी माग्यो, त्यसरी नै दिएँ । जहिले माग्यो, त्यही बेला दिएँ ।

ऊ मेरो आकाशबाट खुशीको इन्द्रधनुष लिएर उड्यो र पुग्यो अस्ट्रेलियाको आकाशमा । म भने पीडाको आँसुमा डुब्न थालेँ, आफ्नै सहरमा । मेरो त्यो वर्तमानबारे घरका आमाबाबा, बैनी र भाइ सबै अनभिज्ञ थिए । म भने भित्रभित्रै जल्दै थिएँ । शिशिरले ममा आगो लगाएर गएको थियो ।

त्यसपछि मलाई नारायणगढ बस्नै मन लागेन । अहँ, कत्ति पनि मन लागेन । कुनै दिन खुसी दिने ठाउँहरूले पोल्न थालेको थियो मलाई । नारायणगढ अब मेरा लागि तातो अगेनोसरह भएको थियो ।

रञ्जितालाई भनेँ सबै कुरा । उसले कलेज ट्रान्सफरको सबै प्रक्रिया मिलाइन्, अनि म हान्निएँ काठमाडौं । 

काठमाडौं
काठमाडाैं आएपछि एक्कासि मैले घर सम्झिएँ । आमाबाबा सम्झिएँ । आमाबाबाका सपना सम्झिएँ । भाइबहिनी सम्झिएँ । शिशिरको बनावटी प्रेममा मैले भुलेकी रहिछु आमाबाबाको प्रेमलाई । अनि, भुलेकी रहिछु आफैँलाई पनि ।

घरबाट फोन आउँथ्यो । म झुटो बोलिदिन्थेँ । ‘सबै ठिकै छ’ भनिदिन्थेँ । ठिकचाहिँ हुन्थेन केही पनि । सपना फाटेको थियो । जीवन अस्तव्यस्ततासँग साटिएको थियो ।

रञ्जिता, जोसँग म काठमाडौं आएकी थिएँ, म उसैको अंकलको घरमा बसेँ । उसको चिनेको मान्छेमार्फत एक हप्तापछि एउटा फाइनान्समा काम गर्न थालेँ । केही हप्तापछि जीवन सामान्य हुन थाल्यो ।

म छुट्टै कोठा लिएर नयाँ बानेश्वरनजिक बुद्धनगरमा बस्न थालेँ । रञ्जिता हरेक दिन मलाई फोन गर्थी र हालखबर सोध्थी । म नर्मल भएको खबर पाएपछि ऊ खुसी हुन्थी । अनि, ऊ खुसी भएको थाहा पाएर म झनै खुसी हुन्थेँ ।

करिब तीन महिनापछि दसैँ बिदाको समयमा फाइनान्सका स्टाफहरूको भ्रमण भयो, थाइल्यान्ड । त्यो पाँचदिने भ्रमणमा जेजे घटना भए, त्यसपछि मैले जागिर नखाने निर्णय लिएँ ।

मलाई त्यो फाइनान्सका मैनेजरको व्यवहार ठिक लागेन । उसले मेरो शरीरमाथि गरेको भद्दा मजाक ठिक लागेन । पैसा र पदको लोभ देखाएर उसले मेरो शरीर मागेको थियो । मेरो शरीरमाथि ऊ आफ्नो विजयको झन्डा फहराउन चाहन्थ्यो । उसले मेरो शरीरमा शासन चाहेको थियो ।

उताबाट फर्केर आएपछि जागिर छोडिदिएँ । म हारेँ आफैँसँग । म हारेँ नारायणगढसँग । म हारेँ काठमाडौंसँग । अनि, तयार भएँ फर्किन आफ्नै गाउँमा । गाउँको काखमा ।

जुन स्वर्ग लाग्थ्यो सानोमा सहर, अब नर्क लाग्न थालेको थियो । सहरका मान्छे गिद्द, बाज, ब्वाँसाजस्ता लाग्न थाल्यो । अनि, फर्किनँ चाहेँ आफ्नै आमाको काखमा ।

म एक्लै थिएँ कोठामा । तर, म रोइनँ । मेरा आँखा भने भिजेको थियो । मेरो सिरानी चिसिएको थियो । मैले मेरो विगत सम्झेँ । झनै दुखायो त्यसले । त्यही दुखाइ बाँड्न म जान चाहेँ आफ्नै ठाउँमा । र, जाने मिति तय गरेँ ।

कस्तो नराम्रो दिन फिक्स गरेकी रहेछु मैले ! मैले सर्वस्व गुमाएको दिन थियो त्यो । महिनौँसम्म म उठ्न नसक्ने गरी थेचारिएको दिन थियो त्यो । अलिअलि बाँकी भएको आशा निमोठिदिएको दिन थियो त्यो ।

त्यो दिन अर्थात् २०७२ वैशाख १२ ! म उभिएको जमिन लगलग काँपेको थियो । आफू काँपेर मलाई नि त्यस्तै बनाएको थियो जमिनले, त्यस दिन । आफू काँप्दै सारालाई तहसनहस पारेको थियो ।

त्यो भयंकर कम्पन रोकिएपछि घरमा आत्तिँदै फोन गरेँ । फोन लागेन । मन झनै आत्तियो । फोन फेरि गरेँ । फेरि पनि लागेन । पछि थाहा पाएँ, सञ्चार सेवा सबैतिर अवरुद्ध भएको रहेछ ।

अबेर राति मात्र लाग्यो फोन, तर उठेन । आमासँग बोल्न पाइनँ । बाबा, भाइ अनि बैनीसँग बोल्न पाइनँ । करिब आधा घण्टापछि अंकलसँग सम्पर्क भयो, अनि थाहा पाएँ–मेरा आमा, बाबा, बैनी र भाइले मलाई छोडेर गएको खबर ।

म थचक्कै बसेँ । ग्वाँग्वाँ रोएँ । रुँदारुँदा म बेहोसजस्तै भएँ । मेरो घाँटीबाट आवाज आएन । घाँटी च्याप्प सुक्यो । म टुहुरी भएँ । वैशाख १२ पछि मेरो अगाडिको पूरै बाटो अस्पष्ट भयो ।

वैशाख १३ गते बिहानै चोकमा आएँ र लमतन्न परेको नयाँ बानेश्वरको त्यो लामो सडकलाई निकै बेर हेरिरहेँ । फनफनी घुम्यो मेरो मथिंगल । हेर्दाहेर्दै ध्वस्त भएको थियो हजारौँका सपनाहरू ।

सुन्धाराको धरहराजस्तै ढलेको थियो मेरो बचेखुचेको सपनाको धरहरा पनि । सुन्धारातिर हेर्दै निक्कै बेर सोचेँ— अब कता जाने ? भनेर ।

(मेरो गन्थन सकिएको छैन है । पिक्चर अभी बाँकी है ! लेखूम् कि तपाईंले कल्पनाको रङ भरेर आकर्षक बनाएर टुंगोमा पुर्याउनुहुन्छ ?)

कविताको कथा सकिएर पनि नसकिएको थाहा पाउँछु । के गरूँ कसो गरूँ हुन्छ । फेसबुकमा देखिने उनको हँसिलो तस्बिर आँखाअगाडि नाच्न आइपुग्छ । मन झनै अमिलिएर आउँछ । भित्र कतै चिसो वस्तु सलल बगेको झैँ अनुभव हुन्छ । कवितालाई म जसरी बुझ्थेँ, त्यो बिल्कुल होइन रहेछ ।

मुस्कान जीवनको सुन्दर रङ हो । तर, सबै मुस्कानले जीवनको वास्तविक कथा भन्न नसक्ने रहेछ ।

मोबाइलको देब्रे कुनामा हेर्छुं । रातको ११ बज्न लागेको बताउँछ मोबाइल । कविताका लागि केही लेख्न चाहेर पनि लेख्दिनँ । लेख्न सकिनँ । बाहिर निस्किन्छु  कोठाबाट ।

सुनसान छ चारैतिर । जुनेली रात । म अनायासै आकाशतिर हेर्छु । उज्यालो जून देख्छु । नियाली बस्छु जूनलाई एक छिनसम्म । विस्तारै जूनमा म देख्छु कविताको नाक, ओठ, आँखा अनि उनको सुन्दर मुहार । मिठो मुस्कान र सिल्की केशराशि ।

हेर्दाहेर्दै चारैतिरबाट आउँछ एक हुल कालोखैरो बादल । घेर्न थाल्छ कवितालाई र निल्न थाल्छ उनीलाई । म आत्तिन्छु । यो हेर्न सक्तिनँ र हतारहतार कोठाभित्र पस्छु ।

हठात् अनुभव गर्छु, म लेख्न सक्तिनँ कविताको कथा ।

दिन बित्दै जान्छन् । पत्तै हुँदैन दिन बितेको । म आफ्नो काममा बिजी हुन्छु । धेरै दिन हामीबीच कुराकानी हुँदैन । अपरिचितजस्तै हुन पुग्छौँ हामी । यसैबीच, एक दिन फेसबुकमा एउटा भिडियो देख्छु उनको । म्युजिक भिडियोमा खेलेकी रहिछन् ।

उनको भिडियो देखेर यस्तो लाग्छ, एक दिन उनले नेपाली चलचित्रजगत्मा एकछत्र राज गर्ने छिन् । फेरि उनका बारेमा प्रेम सम्बन्धका हल्ला फेसबुकभरि देख्छु । युट्युबमा भेट्छु ।

यति नै बेला मेरो अस्ट्रेलियाको भिजा लाग्छ । तर, उता पुग्नुअघि म चाहन्छु कवितालाई एकपटक भेटूँ । म चाहन्छु उनलाई एकपटक देखूँ । उनलाई बुझूँ नजिकबाट । महसुस गरूँ नजिकबाट ।

म्यासेन्जरमा म्यासेज सेन्ड गर्छु, तर उनको रिप्लाई आउँदैन । म निराश हुन्छु ।

यस्तैमा एक दिन उनको एउटा लामो मेल आउँछ । उनको त्यो मेललाई उनको कथासँग जोडेर पढ्छु ।

‘देश अझै दुखिरहेको थियो । सहर दुखिरहेको थियो । सबैभन्दा बेसीचाहिँ म दुखिरहेकी थिएँ । मेरो मन दुखिरहेको थियो । देशलाई सहयोग गर्ने, सहरलाई सहयोग गर्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय हातहरू अघि बढिरहेको थियो ।

मेरो दुखेको मनलाई मल्हमपट्टी लगाउने भने कोही थिएन । मेरा लागि हिँड्ने बाटोहरू सबै समाप्त भएको आभास हुँदै थियो । एक हिसाबले भन्ने हो भने म पूरै कोल्याप्स भएकी थिएँ । पढाइ छोडेकी थिएँ । म दिनदिनै हिँड्थेँ, लक्ष्यविहीन यताउता । उतायता ! कहिले पुग्थेँ पशुपति, कहिले चोभार । अनि, पुग्थेँ तपोवन पनि ।

“एक्स्क्युज मी ! तपाईं मेरो म्युजिक भिडियोमा खेल्ने हो ?”

समयको कठोर पाइलाले मेरो छातीलाई कुल्चिएको समयमा म हिँड्दै थिएँ, एक साँझ बबरमहलको लामो र चौडा छातीलाई कुल्चिँदै, त्यही समय यो आवाजले मलाई पछ्याउँदै आयो ।

फर्केर हेरेँ । देखेँ, करिब ३० वर्षको एक हेन्डसम युवक लमकलमक मतिर लम्किँदै आएको । म दोधारमा परिनँ । ढिलो पनि गरिनँ । अनि, धेरै सोचिनँ पनि । छिनभर सोचेँ अनि सहमति जनाएँ । किनभने, काठमाडाैंमा मलाई माम चाहिएको थियो । त्यसका लागि दाम अनि दामका लागि काम चाहिएको थियो ।

नसोचेको एउटा मौका थियो त्यो । मेरो स्वीकृतिपछि हामी बबरमहलको त्यही चौडा छाती कुल्चिँदै अघि बढिरह्यौँ । हिँड्दै उसले आफ्नो परिचय दियो र नयाँ म्युजिक भिडियोका लागि नयाँ मोडलको खोजीमा रहेको बतायो । उसले मेरो परिचय माग्यो । मैले छोटो परिचय दिएँ ।

नाम : निता बिसी 
घर : पालुङ, हालको बसाइ : कोटेश्वर, मामाघर ।

मैले उसलाई झुटो बोलेँ । उसले पत्यायो होला । सायद पत्याएन पनि होला ! त्यो कुरा उसले मलाई कहिल्यै भनेन । मैले सोधिनँ पनि ।

हिँड्दै उसले साथीलाई फोन गर्यो । माइतीघर मन्डलनजिक पुग्दा एउटा सेतो रङको प्राइभेट कार हाम्रो अगाडि रोकिन आयो । हामी भित्र पस्यौँ र अनि हुइँकियौँ, दरबारमार्गलाई लक्ष्य बनाएर ।

दरबारमार्गको फ्रेन्डसिप क्याफेमा खाजा खायौँ । केही बेरमै कन्ट्याक्ट पेपरमा साइन गरेँ । यसरी पहिलो भिडियोको लागि डेट फिक्स गर्यौँ ।

तेस्रो दिनमै आयो त्यो समय । भक्तपुरका विभिन्न ठाउँमा भयो सुटिङ । सुटिङ स्पटमा पुगेपछि डाइरेक्टरले भनेजस्तै ड्रेस लगाएँ । शरीर छेक्ने लगाएँ । देख्ने पनि लगाएँ ।

त्यसपछि डाइरेक्टरले भनेजसरी नाचेँ अनि हाँसेँ पनि । ओठ लुकाएर हाँसेँ । ओठ फिजाएर हाँसेँ । आँखा झुकाएर हाँसेँ । आँखा उठाएर पनि हाँसेँ । गाला रातो पार्दै हाँसेँ, गुलाबी बनाएर पनि हाँसेँ ।

मेरो पहिलो अनुभव थियो क्यामराअगाडि । क्यामरा एंगल, सट, एक्सन र कट...! सुरुमा निक्कै गाह्रो भयो । गर्न सक्दिनँजस्तो पनि लाग्यो । तर, दुई–चारपटकको एक्सन र कटपछि म लयमा आएँ ।

जब एक टेकमै सट ओके हुन्थ्यो, डाइरेक्टर एकदम खुसी हुन्थ्यो । अनि, मलाई मज्जाले हग गर्थ्यो र भन्थ्यो, “वेलडन निता ! गज्जबको एक्स्प्रेसन दियौ । यस्तै गर्यौ भने स्योर हिट हुन्छौ तिमी ! तिमीले म्युजिक भिडियो मात्र हैन, फिल्म इन्ड्रस्टीमै राज गर्छौ । फिल्म साइन गर्न प्रोड्युसर र डाइरेक्टरको लाम लाग्छ एक दिन !”

मलाई भने त्यसरी हग गरेको मन पर्थेन । तर पनि म सहज भइदिन्थेँ । दुई दिन लाग्यो, पहिलो म्युजिक भिडियो सुटिङ सकिन । पहिलो म्युजिक भिडियो मैले सोचेको भन्दा राम्रो भयो । राम्रो चल्यो ।

दोस्रोपटक पनि उसकै म्युजिक भिडियोमा खेलेँ । यो अझ राम्रो भयो । राम्रो चल्यो । युट्युबमा रिलिज भएको पहिलो दिनमै मिलिएन भ्युज अनि ट्रेन्डिङमा नम्बर एक !

त्यसपछि तेस्रो पनि उसकै प्रोजेक्टमा काम गरेँ । पछिपछि मलाई गाह्रो भयो । थुप्रै अफरहरू आउन थाले, म्युजिक भिडियो अनि फिल्ममा पनि । हामफाल्न थालेँ म यताउता । सबैतिर ।

तर, उसले मलाई अंकुुश लाउन थाल्यो । उसले ममाथि अधिकार जमाउन थाल्यो । मेरो समयमाथि अधिकार जमाउन थाल्यो । मेरो स्वतन्त्रतामाथि छेकबार लगाउन थाल्यो ।

म्युजिक भिडियो, फिल्मसम्बन्धी हरेक कुरामा उसको अनुमति लिनुपर्ने कुरा गर्न थाल्यो । मलाई थाहा थियो, ऊ मलाई प्रेम गर्थ्यो ।

प्रेम त म पनि गर्थेँ, तर उसलाई हैन सनमलाई । यो कुरा उसलाई पनि थाहा थियो । सनम र मैले खेलेको हरेक म्युजिक भिडियो सुपरहिट हुन्थ्यो । विस्तारै उसले मलाई सनमबाट टाढा राख्न थालेको थाहा पाएँ । सनमलाई मेरो प्रोजेक्टबाट उसले निकालेको खबर थाहा पाएँ ।

कुनै मिडियाले अन्तर्वार्ता लियो भने ‘त्यस्तो केही छैन हामीबीच, साथी मात्र हौँ हामी !’ भन्दै बोल्नुपर्ने बनायो । कस्तो बनावटी दुनियाँ हो यो ? कस्तो कृत्रिम दुनियाँ हो यो ? जेमा पनि अभिनय गर्नुपर्ने ! जता पनि अभिनय गर्नुपर्ने ! प्रेम त शाश्वत हो । सत्य हो । फेरि, किन असत्य भन्न पर्ने ? प्रेममा कस्तो अंकुश हो यो ?

म अकमकिन थालेँ । गुम्सिन थालेँ फेरि । म त प्रेममा स्वतन्त्रता चाहन्थेँ र स्वतन्त्रतामै प्रेम चाहन्थेँ ।

दिनहरू बित्दै जाँदा सनम पनि मदेखि टाढिन थाल्यो । उसले पनि इग्नोर गरेको आभास हुन थाल्यो । मैले सोध्दाचाहिँ ‘हैन । तिमीलाई भ्रम भएको हो । तिमीबाहेक मेरो अरू को नै छ र ? हामी दुईको सफलता हेर्न नचाहनेहरूको षड्यन्त्र हो’ भन्यो ।

बनावटी कुराले सत्यलाई घाँटी अँठ्याएको महसुस हुन थाल्यो । उसले पनि मलाई दुखाउन थाल्यो । मलाई थाहा थियो, ऊ झुटो बोल्दै थियो । निबन्ध, प्रेम त तिमीले नि गरेका छौ होला नि ! गर्यौ होला नि ! के तिम्रो प्रेम पनि यस्तै थियो ? यस्तै अर्थात् दुखाउने खाले प्रेम थियो ?’

प्रेममा नदुख्ने को होला ? प्रेमले नदुखाउने कसलाई होला ? जसरी कविता दुखेको रहेछ, त्यसरी कुनै दिन म पनि दुखेको थिएँ । यत्ति हो, मैले आफ्नो दुखाइ कवितालाई भनिनँ । कसैलाई भनिनँ ।

कविता दुखेको कथा लेख्न सकूँलाजस्तो लागेन । दुखेको कवितालाई शब्दमा उतार्न त झनै मन लागेन । मलाई सामाजिक सञ्जालमा छरपस्ट भएको कविता र सनमको सम्बन्ध हेरेर बस्न पनि मन लागेन । कवितामाथि खनिएको अश्लील शब्दको बाढी हेर्न मन लागेन । अनि, फेसबुक डिएक्टिभ गरेर बसेँ, करिब आधा महिना । 
००० 
आज
आज मेरो फ्लाइट । ड्याडी र ममीसँग म छु, टीआईए परिसरमा । मन खुसी छ । हल्का छ । मलाई दुखाउने पीडा यतै थन्काएर जाँदै छु । मनलाई दुखाउने घाउ यतै छोडेर जाँदै छु । बरु, बेलाबेलामा कविताको याद आइदिन्छ । यादले दुखाइदिन्छ मलाई । मेरो मनलाई । दुख्न जान्ने भनेको नजिकिएको मनले नै त रहेछ । सायद थाहा नपाएरै कवितासँग नजिकिएको रहेछ यो मन । मन अझै पनि उनलाई एकपटक भेट्न खोज्दै छ ।

म अचानक फेसबुक स्क्रोल गर्न पुग्छु । ‘कविता–सनम’कान्ड निकै मत्थर भएको पाउँछु । मन रमाउँछ । लाग्छ, कविताको जीवनको एउटा अप्ठ्यारो अध्याय समाप्त भयो ।

यस्तैमा एउटा अल्कल्पनीय समाचार देख्छु । विश्वास लाग्दैन मलाई यो समाचार । हेर्दाहेर्दै एकैछिनमा टु फाइभ के, फाइभ के, टेन के लाइक्स, नेगेटिभ र अश्लील कमेन्टहरू र ‘हा...हा’ रिएक्टको बाढी आउँछ । भटाभट सेयर हुन्छ !

यो देखेर मेरो दिमाग रिनीनिनी हुन्छ ।

जतिपटक पढे पनि समाचार त्यही हुन्छ । मैले नचाहेको तर जतिपटक हेरे पनि त्यही देखिने समाचारले भन्दै थियो, ‘चर्चित मोडल तथा उदयीमान नायिका निता बिसीको प्रेम सम्बन्ध सामाजिक सञ्जालमा छरपस्ट ! नायिकाले दर्ता गरिन् आफ्नै प्रेमी भनिएका चर्चित नायक सनमविरुद्ध जबर्जस्ती यौनशोषण र बलात्कारको मुद्दा ! स्रोतले भन्छ– निताले कसैको उक्साहटमा लागेर सनमको करियर बर्बाद गर्न यो कदम उठाएको हो !’ 

(भरतपुर महानगरपालिका—११)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro