site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख निर्वाचन : कांग्रेसले लिन सक्ला माओवादीको साथ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिपक्षमा बस्ने निर्णयसहित प्रधानमन्त्रीलाई पुस २६ गते विश्वासको मत दिएको नेपाली कांग्रेसले सहकार्यका लागि अन्य दलहरूसँग छलफल गर्ने भएको छ । सत्ता पक्षमा १६९ सांसद रहेकाले कांग्रेसले उठाउने उमेदवारहरू निर्वाचित हुने सम्भावना देखिँदैन । तर, बिहीबार कांग्रेस पदाधिकारीहरूको बैठकले भने सभामुख र उपसभामुख निर्वाचनका लागि अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

“नेपाली कांग्रेस प्रतिपक्षमा भएकाले सुरुमा त विपक्षमा रहेका दलहरूसँग नै छलफल हुन्छ,” कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बाह्रखरीसँग भने, “तर, विपक्षमा भएकाहरूबाट मात्र बहुमत पुग्दैन । त्यसैले सत्ता पक्षसँग पनि छलफल हुनेछ ।”

उनले सभामुख र उपसभामुख चयनका विषयमा संसद्भित्र रहेका दलहरूसँग गरिने छलफल स्वाभाविक भएको बताए । यसलाई अन्यथा बुझ्नु उचित नहुने तर्क उनको छ । 

तर, प्रतिपक्षमा हुँदाहुँदै प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस सत्ता गठबन्धन भत्काउने प्रयासमा रहेको विश्लेषण भइरहेको छ । कांग्रेसका नेताहरूले पनि सत्ता गठबन्धन टुटेको भन्दै विश्वासको मतलाई ‘कोर्स करेक्सन’को थालनीका रूपमा व्याख्या गरेका छन् । अझ कांग्रेस पदाधिकारी बैठकले विपक्षमा रहेका दलहरूसहित सत्तापक्षीय दलहरूसँग पनि वार्ता थाल्ने निर्णय गरेपछि त्यसले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

कांग्रेसले कोर्स करेक्सन गरेको भन्दै विचार मिल्ने दलहरू विस्तारै एक ठाउँमा आउने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए ।

“संविधानको रक्षाका लागि गठबन्धन बनेको थियो । तर, गठबन्धन ‘हाइज्याक’ भएको थियो । आजको विश्वासको मतले ‘कोर्स करेक्सन’ थालेको छ,” पौडेलले भनेका थिए, “विस्तारै विचार मिल्ने दलहरू एक ठाउँ हुनेछन् ।”

उनले संविधान र व्यवस्थाको रक्षा प्राथमिक भएको भन्दै विगतमा संसद् विघटनविरुद्ध एक भएका शक्तिहरू एक ठाउँमा आउने संकेत गरेका थिए । 

नेकपा (एमाले)ले भने कांग्रेसले गठबन्धन जोगाउन नसकेको भन्दै गठबन्धन तोडिएर प्रतिपक्षमा पुगेपछि उसलेआफ्नो भूमिका बिर्सिएको टिप्पणी गरिरहेको छ । एमालेका उपमहासचिव विष्णु रिमाल कांग्रेसले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउन तयार नभएर गठबन्धन टुटेपछि त्यसपछिको भूमिकामा अडिग रहन नसकेको बतए । 

“कांग्रेससँग हिजो गठबन्धन थियो । गठबन्धन जोगाएर उसले सरकार र संसद्सहितको नेतृत्व लिने ठाउँ थियो । तर, उसले नै त्यो गठबन्धन जोगाउन नसकेको हो,” रिमालले बाह्रखरीसँग भने, “हिजो आफ्नो हातमा भएको गठबन्धन सम्हाल्न नसक्ने अनि अहिले लोभ गर्ने कुराले ‘दिँदा तेल नखाने राति कोल चाट्ने’ देखाएको छ ।”

उनले कांग्रेसले सक्दा गठबन्धन तोड्ने तर त्यस्तो सम्भावना नभएको बताए । 

प्रचण्डलाई पहिलो चरणको प्रधानमन्त्री दिने सहमति पालना गर्नुको साटो आफैँ सत्तामा रहने मोहका कारण गठबन्धन जोगाउन नसकेको तथा प्रतिपक्षको भूमिका स्वीकार नगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राजनीतिक नैतिकता गुमाएको भनेर कांग्रेसभित्रै नेतृत्वको चर्को विरोध भइरहेको थियो । 

सार्वजनिक रूपमै 'संसद् प्रतिपक्षविहीन भयो' भन्ने टिप्पणी भएपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ०५१ सालमै कांग्रेसले एमालेका मनमोहन अधिकारीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको भन्दै प्रतिपक्षको भूमिकाबाट कांग्रेस च्युत नहुने स्पष्टीकरण दिएका थिए । त्यसलाई कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिवाद गरेका छन् । उनले कांग्रेसले मत दिनेगरी गरेको निर्णयलाई नै अस्वाभाविक भनेका छन् । 

“लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ्य प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्दछ । प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन,” रिजालले भनेका थिए, “त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली कांग्रेसको निर्णय अस्वाभाविक छ ।”

रिजालले ०५१ सालको र अहिलेको परिस्थिति तुलना गर्न नै अनुपयुक्त हुने बताएका छन् । त्यतिबेला विश्वासको मत नदिँदा सरकार नै नबन्ने अवस्था रहेको तर अहिले त्यस्तो कुनै विशेष अवस्था नै नरहेको उनको भनाइ छ । 

विश्लेषक प्राध्यापक डा. लोकराज बराल कांग्रेसकै ‘बेबकुफी’ले सत्ता गएको भन्दै सबैभन्दा ठूलो पार्टीले सत्ता जोगाउन नसकेपछि प्रतिपक्षको राजनीतिक भूमिका जोगाउनुपर्ने बताउँछन् । उनी कांग्रेसले गठबन्धन तोडेर जान पनि नसक्ने भन्दै त्यसले कांग्रेसलाई राजनीतिक क्षति मात्र गर्ने उनको बुझाइ छ । 

“कांग्रेसले वार्ता गर्दैमा सभामुख, उपसभामुखमा आफ्नो उमेदवारलाई जिताउन सक्छ भन्ने मलाइ लाग्दैन,” बरालले बाह्रखरीसँग भने, “सत्ता उसकै बेबकुफिले गुमेको हो । सबैभन्दा ठूलो पार्टी भएर सत्ता जोगाउन नसकेको कांग्रेसले प्रतिपक्षको भूमिकामा आफूलाई प्रभावकारी बनाउन सक्नुपर्थ्यो । तर, उसले गलत बाटो रोजेको छ ।”

उनले कांग्रेसले सत्ता जोगाउन नसकेपछि अब केही समय  प्रतिपक्षका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने भन्दै त्यो धैर्यता गर्न नसक्दा कांग्रेस राजनीतिक रूपमा पनि थप गिर्न पुगेको बताए । 

“कांग्रेसले कम्तिमा पनि ६ महिना वर्ष दिन प्रतिपक्षको भूमिकामा खरो उत्रिएर त्यसपछि शक्ति हत्याउने अभ्यास गरेको भए स्वाभाविक देखिन्थ्यो,” बरालले भने, “अहिले त कांग्रेसले सत्ता पनि गुमायो । राजनीतिक नैतिकता पनि गुम्ने देखियो ।”

उनले सत्ता राजनीतिमा कांग्रेस फर्कियो भने सार्वजनिक छवि नबनेपनि राजनीतिक रूपमा जित हुने तर त्यस्तो सम्भावना तत्काल नरहेको बुझाइ उनको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro