site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय दलमा पराजित गगनले राजनीति चाहिँ जिते कि हारे ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीबाट २०६१ सालमा बिदा लिएका गगन थापा त्यसको १७ वर्षपछि कांग्रेसको महामन्त्री निर्वाचित भए । 

नेविसंघ महामन्त्रीबाट बिदा लिएको तीन वर्षमै समानुपातिकतर्फबाट संसद छिरेका थापा त्यसयता काठमाडौं–४ बाट निरन्तर तीनपटक सांसद निर्वाचित भएका छन् । 

तेस्रो पटक निर्वाचित सांसद भइसक्दा थापा यसपटक संसदीय दलमा २०२१ सालमा राजनीति सुरु गरेका ७७ वर्षीय शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिए । 

Prabhu Bank
Agni Group
NIC Asia

०४८ सालमा गृहमन्त्री भएपछि ५१ सालबाट संसदीय दलको नेता हुँदै प्रधानमन्त्री भएका देउवा पछिल्लो दुई कार्यकाल नेपाली कांग्रेसको सभापति समेत छन् । 

०७० अघि कांग्रेस संसदीय दलमा हारेर संस्थापनइतरको नेतृत्व गर्दै आएका देउवा ०७२ सालपछि भने नेपाली कांग्रेसको मूल नेतृत्व सम्हाल्दै आएका छन् । देउवाले मूल नेतृत्व सम्हालेपछि उनका विरुद्ध लड्नेहरु देउवाकै सहयोगिमा रुपान्तरित हुँदै आएका छन् । 

Global Ime bank

०७२ सालमा पार्टी सभापतिमा देउवाविरुद्ध लडेका रामचन्द्र पौडेल अहिले देउवाका नजिक छन् ।

०७४ सालमा देउवा विरुद्ध संसदीय दलको नेता लडेका प्रकाशमान सिंह ०७८को १४औं महाधिवेशनसम्म पुग्दा देउवासँगै उभिएका छन् ।

पहिलो चरणमा देउवा सभापतिमा उमेदवारी दिएका र देउवाविरुद्ध सबैभन्दा कडा अभिव्यक्ति दिने सिंह नै दोस्रो चरणमा गएपछि देउवाका समर्थक भएर उभिए र देउवा सभापतिमा निर्वाचित भएका हुन् । 

यस्ता ताजा इतिहास हुँदा हुँदै महामन्त्री गगन थापा भने आफ्नै समूहका नेता डा. शेखर कोइरालालाई रोकेर देउवासँग संसदीय दलमा भिडेका हुन् । 

समूहको नेताको हैसियतमा डा. शेखर नै संसदीय दलमा पनि देउवासँग लड्न चाहन्थे । 

तर, थापाले आफूले मतदातासँग गरेको प्रतिबद्ध पूरा गर्न दिन आग्रह गर्दै १५औं महाधिवेशनमा सभापति लड्दा आफू प्रस्तावक बस्ने बचन गगनले दिएपछि १४औं महाधिवेशनमा पुस्तान्तरणको नारा लगाएका शेखरले त्यही नारासहित गगनलाई अघि सारे र गगन संसदीय दलको नेतामा संस्थापनइतरको एकल उमेदवार बने । 

बुधबार विहान ८–१० बजे भएको मतदानपछि परिणाम आयो देउवा ६४ गगन २५ । 

८९ सदस्यीय कांग्रेस संसदीय दलमा शेखर टिमको ३२ मत रहेको दाबी गरिएको थियो । त्यसमा महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मा र देउवाको टिमबाट महामन्त्री लडेका प्रदीप पौडेल थपिँदा ३४ हुनुपर्नेहो । तर, गगनको ९ मत कम अर्थात् २५ मत मात्र आयो । 

थापाको हार पछि नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाको प्रतिक्रिया थियो – राजनीतिमा पुस्तान्तरण नै एजेन्डा बन्न सक्दैन । 

“उमेरवाला पुस्ता होइन एजेन्डाबाट आफ्ना पुस्तासँगै अग्रज पुस्तालाई विश्वासमा राख्न सक्नुपर्छ पछिल्लो पुस्तालाई आकर्षण दिन विश्वास गर्नसक्ने एजेण्डा दिनुपर्छ । दुनियाँमा पुस्तान्तरणलाई नै एजेन्डा बनाएर कोही पनि नेता बनेका छैनन्,” ढुंगानाले भने, “मैले कांग्रेसलाई फरक बनाउने योजना गगनमा देखेको छैन ।” 

उनले त्यही कारण संसदीय दलमा गगनको हारलाई राजनीतिक हारका रुपमा अर्थ्याए ।  ढुंगानाको कुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे भने सहमत छैनन् । 

गगनले संसदीय दलमा हारेर राजनीति भने जितेका छन् र गगनको राजनीतिक जितमा एउटा पुस्ताले नै गर्व गरिरहेको छ । 

“गगनले चुनाव हारे पनि राजनीति जित्नुभएको छ । गगन पुस्ताले नेतृत्व गर्नसक्छ भनेर स्वीकार्यता स्थापित भएको छ । अहिलेसम्म सभापतिमा कसैले उमेदवारी दिने आँट गरेका छैनन् । गगनले संसदीय दलबाट त्यसको सुरुवात गर्नुभयो,” सहमहामन्त्री पाण्डेले भने, “यसले एउटा पुस्तामा उत्साह भरेको छ । आउँदैगरेको पुस्तामा आशाको संचार गरेको छ ।” 

 

उनले गगनले संसदीय दलमा जितेको भए एउटा क्रान्ति हुने भन्दै चुनाव हार्दैगर्दा पनि राजनीतिक जित भने कायम भएको बताए । 

 

राजनीतिक विश्लेषक तथा अध्येता हरि शर्मा देउवा टिममा देउवा बाहेक नेता नदेखिएको भन्दै शेखर टिममा गगन कसैको छाँयामा बस्नु पर्दैन भन्ने मान्यता बोकेको नेताका रुपमा उदाएको बताउँछन् । 

संसदीय दलमा शेखरलाई सहमत गरेर उमेदवारी कायम गर्नु नै गगनको ठूलो सफलता भएको भन्दै अब उनी कांग्रेसको नेताका रुपमा स्वीकार्य भएर स्थापित भएको शर्माको बुझाई छ । 

“देउवासँग थुप्रै नेताहरु छन् । उनीहरुमा कसैको छाया बन्दा मात्रै आफ्नो अस्तित्व देखिरहेका छन् । हिजो किशुनजीको छायाँमा बसेकाहरु अहिले देउवाको छाँयामा आफ्नो अस्तित्व खोज्दैछन्,” शर्माले भने, “शेखर टिममा भएपनि गगन कसैको छाँयाबिना नै नेता बन्न सक्छु भनेर शाहस देखाए । यो नै उनको राजनीतिक जित हो ।” 

शर्मा राजनीतिक रुपमा जितको गगन थापाले अहिले भने आफूलाई नेताका रुपमा प्रोजेक्सन मात्रै गरेको भन्दै १५औं महाधिवेशनसम्म उनी शेखरको छाया बनेरै राजनीतिमा रहने बताउँछन् । 

“एउटा समुहको पूर्ण स्वीकार्यताका लागि अर्को एक महाधिवेशन उनी शेखरको छाया बनेर राजनीतिमा रहने देखिन्छ,” शर्माले भने, “त्यसपछि कांग्रेसमा एउटा विचार समुहको नेता गगन हुन् । उनको विकल्प तत्काल देखिएको छैन ।” 

डा. शर्माले देउवाले एउटा लिगेसी बनाएको भन्दै त्यो लिगेसी बोकिदिने नेता भने नदेखिएको बताए ।

“देउवामा समय, परिस्थितिअनुसार चल्न नसके पनि एउटा क्षमता छ । उनी पार्टीभित्र अलोकप्रिय हुँदा पनि दल बाहिरका शक्तिसँग समन्वयन गरेर बस्न सक्ने कुटिल प्रकारको एउटा क्षमता छ । त्यही क्षमताले उनी यतिका समय शक्तिमा बसेका छन् । उनको एउटा धरोहर स्थापित भएको छ । उनीसँग थुप्रै नेताहरु पनि लाइनमा छन् । तर, उनको धरोहर बोकीदिने नेता भने देखिएको छैन,”  शर्माले भने, “अर्को टिममा भने शेखरले एउटा लिगेसी बोक्न सफल भएका छन । अब त्यो लिगेसीलाई गगनले नै अगाडि लैजाने छन् ।” 

गगन नेता हुँदा थुप्रै नेताहरुले आफ्नो अस्तित्व संकटमा पर्ने देखेकाले उनी विरुद्ध गोलबद्ध भएपनि उनीहरुले स्वतन्त्र अस्तित्वको खोजी नगरेको बताए । 

गगन भने शेखर टिममा हुँदै आँट देखाएकाले शेखरपछिको नेताका रुपमा स्थापित भएको बताए । उनले शेखरले राजनीतिक बहावको प्रतिनिधित्व गर्ने र गगनले परिवर्तनको बाहकको प्रतिनिधित्व गर्ने भन्दै अवको राजनीति यो समूहतर्फ आएको बताउँछन् । 

“राजनीतिमा भोलि कस्तो ‘एक्सिडेन्ट’ हुन्छ र त्यसले समयलाई कतातिर लैजान्छ त भन्न सकिँदैन । तर, आजको परिस्थितिमा गगनलाई सम्भावना बोकेको युवाका रुपमा म देख्छु,” शर्माले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC