site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जताजता कारोबारी र जनप्रतिनिधिका ‘प्लटिङ’ उतैउतै कित्ताकाट ! 
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङमा जनप्रतिनिधि र जग्गा कारोबारीका ‘प्लटिङ्’ भएका क्षेत्रमा कित्ताकाट खुलाउने मनसायसहित भएका सिफारिस नापी कार्यालयले कार्यान्वयन नगर्ने भएको छ । 

स्थानीय तहबाट हचुवाका भरमा कित्ताकाटसम्बन्धी सिफारिस भइ आएपछि कार्यालयका कर्मचारी संशयमा परेका हुन् । 

स्थानीय तहमा अवस्थित कतिपय सिंगो कृषि क्षेत्रलाई नै गैरकृषिमा रूपान्तरण गरी कित्ताकाटको सिफारिस भइ आएको पाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तोकिएको मापदण्ड र कानुनविपरीतका सिफारिस आउँदा ‘फस्न सकिने त्रास’ बीच नापीका कर्मचारीले तत्काल कार्यान्वयनमा नजाने तयारी गरेका छन् । 

विराटनगर महानगरपालिकासहित तीन स्थानीय तहले जग्गाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा सिफारिस गरी पठाइसकेका छन् । 

Global Ime bank

यसको जानकारी प्राप्त भएको नापी कार्यालयले जनाएको छ । 

विराटनगर महानगर भू–उपयोग परिषद्को कात्तिक १९ गते बसेको बैठकले वडागत रूपमा आएको सिफारिस बमोजिम भू–उपयोग योजना स्वीकृत गर्ने निर्णय गरेको थियो । यसैगरी बुढीगंगा र जहदा गाउँपालिकाले पनि सिफारिस गरेका छन् । 

कार्यपालिकाको निर्णयअनुसार विराटनगरका १९ मध्ये वडा नम्बर १४, १६ र १८ का केही क्षेत्रबाहेक अन्य वडालाई गैरकृषि क्षेत्र तोकेर सिफारिस गरिएको छ । महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले भने, “मेरै वडामा पनि धेरै ठाउँमा प्लटिङ् नै भएको छ । कृषिक्षेत्र थोरै मात्र छ त्यसैले पछि झन्झट नहोस् भनेर गैरकृषि नै सिफारिस गरिएको छ ।” 

खासगरी विराटनगरको १९ नम्बर वडाको सबैक्षेत्रलाई गैरकृषि भनी सिफारिस गरिएपछि संशय र आशंका उत्पन्न भएको हो । अन्य पालिकाबाट आएका सिफारिसमा समेत नापी कार्यालय ‘कन्भिन्स’ हुन सकेको छैन ।

नापी कार्यालय मोरङका नापी अधिकृत तथा सूचना अधिकारी गणपति साह सम्पूर्ण रूपमा कृषिमा आश्रित वडालाई गैरकृषि भनेर सिफारिस भइ आए कार्यान्वयनमा लैजान नसक्ने बताउँदै भन्छन्, “सिफारिस कार्यान्वयन मालपोत र नापी कार्यालयबाट हुने हो । स्थानीय तहको निवेदनपछि मालपोतबाट आएका सिफारिस अहिल्यै कार्यान्यवन गर्नसक्ने अवस्था छैन । मिहीन ढंगले अध्ययन गर्दैछौँ ।” 

उनले हचुवाका भरमा सिफारिस भइ आएका निवेदन कार्यान्वयन नगर्नेमा आफूहरू प्रष्ट रहेको सुनाए । 

खासगरी विराटनगर–१९ को विषयमा कार्यापालिका बैठकमा समेत सदस्यहरुबीच मतमतान्तर भएको थियो । यसैगरी ग्रामथान गाउँपालिकाको वडा नम्बर ७ मा समेत यस्तै समस्या देखिएको छ । त्यहाँ कृषि क्षेत्रलाई गैरकृषि क्षेत्रमा रुपान्तरण गर्न खोजिएपछि वडाध्यक्षले नै इन्कार गरिदिएका छन् । विराटनगर १९ सम्पूर्ण क्षेत्र कृषि भएपनि गैरकृषि भनि सिफारिस भएको छ ।  

हतारमा स्थानीय तहको सिफारिस 

मोरङका धेरै स्थानीय तहले पूर्ण तयारीबिना हचुवाकै भरमा चारकिल्ला नखुलाइ सिफारिस गरेको पाइएको छ । बुधबारसम्म मालपोत कार्यालयमा विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाले कित्ताकाट खोल्न सिफारिस गरेका छन् । तर, नापी कार्यालय भने ती सिफारिस प्रति सशंकित छ ।  

मालपोत कार्यालय मोरङका प्रमुख दीपक कोइरालाले आइतबारदेखि कित्ताकाटसम्बन्धी सिफारिस कार्यान्वयनमा लैजाने तयारी गरेको बताउँदै भने, “प्राप्त निवेदनलाई म कार्यान्वयन गराउन नापीमा पठाउने तयारीमा छु ।” उनले सिफारिस कार्यान्वयन गराउने दाबी गरेपनि नापी कार्यालयले मंसिर ११ गते नापी विभागबाट प्राप्त निर्देशनलाई आधार बनाइ तत्काल कार्यान्वयनमा जान नसक्ने निक्र्योल गरेको छ । 

नापी अधिकृत साह भन्छन्, “सरकारले लागु गरेको भू–उपयोग नीतिविपरीत हुने गरी कित्ताकाट गर्न आएका निवेदन मालपोतमै फिर्ता पठाइदिन्छौँ ।” 

विभागले गरेको परिपत्रमा भू–उपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (७) बमोजिम स्थानीय तहले कृषियोग्य जग्गा संरक्षण गर्न चारकिल्ला खुलाइ कृषिक्षेत्र नतोकेकोले नियमावलीको अनुसूची १ बमोजिम भू–उपयोग क्षेत्र वर्गीकरणका आधार, मापदण्ड तथा क्षेत्रफल तय गराउन स्थानीय तहलाई जानकारी गराउन भनिएको छ । 

सरकारले भू–उपयोग ऐन २०७६ बमोजिम जग्गाको वर्गीकरण नभएसम्म कित्ताकाट गर्न रोक लगाएपछि तीन वर्षयता जग्गाको कित्ताकाट बन्द भएको थियो । सरकारले भू–उपयोग नियमावली २०७९ जारी गरेपछि अंशबण्डा र कित्ताकाटका लागि अदालतबाट भएको फैसलासमेत कार्यान्वयन नहुने अवस्था थियो । 

महानगरपालिका भू–उपयोग परिषद्ले कृषि र गैह्रकृषिलगायत नियमावली बमोजिम जग्गाको वर्गीकरण गरी कार्यान्वयन गर्ने निर्णय भूमिसुधार तथा मालपोत कार्यालयलाई जानकारी गराएको भएपनि भू–उपयोग कार्यान्वयन समितिले वर्गीकृत क्षेत्रको सूचना तोकिएबमोजिम सरोकारवालाको जानकारी लागि समेत सार्वजनिक गरेको छैन । महानगरवासीले आफ्नो स्वामित्वको जग्गा कुन वर्गमा प¥यो भन्ने थाहा पाउन सकेका छैनन् ।

नापी कार्यालय मोरङका नापी अधिकृत संजयकुमार साह भन्छन्, “जस्तो विराटनगर–१९ पुरै वडालाई गैरकृषि क्षेत्र वर्गीकरण गरिँदा अब त्यहाँका किसानले सरकारबाट उपलब्ध हुने कृषिसम्बन्धी कुनै पनि सुविधा पाउने छैनन् । मलखाद पाएनौँ भनेर भन्न पाउने छैनन् । महानगरले कृषि, भेटेनरी शाखासमेत उठाउनुपर्ने हुनसक्छ । यस्ता विषय सर्वसाधारणलाई जानकारी गराइनुपर्छ ।”

महानगरको परिषद्को बैठकले भूमिसम्बन्धी लगत संकलन, विश्लेषण र उपयोगका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेपनि भू–उपयोग नियमावलीबमोजिम नयाँ भू–उपयोग नक्सा तयार गरेको छैन । भू–उपयोग नियमावलीले जग्गालाई विभिन्न दश वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, महानगरले कृषि र गैरकृषि मात्र भनी छुट्याएपछि नापी संशकित बनेको हो । 

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाहरूबाट अध्ययन गरी सिफारिस भएको दाबी गर्दै भने, “अरू वर्गीकरणको लागि अझ धेरै समय लाग्ने भएकोले क्रमशः गर्दै जाने सोचेका छौँ । अहिल्यै गर्नसक्ने अवस्था छैन ।” 

नापी विभागले जेठ २३ गते पठाएको परिपत्रमा ६ महिनाभित्र कृषि र गैरकृषि क्षेत्र छुट्याएर कित्ताकाट गर्न सकिने निर्देशन जारी गरेको भएपनि अन्तिम समयमा मात्रै स्थानीय तहले जग्गा वर्गीकरणसम्बन्धी निर्णय गरेका हुन् । यो निर्णय मंसिर ११ गतेको अर्को परिपत्रद्वारा संशोधन गरिसकेको छ । 

मालपोत कार्यालय विराटनगरमा दैनिक सरदर १६० वटा लिखत तयार हुन्थ्यो । असारदेखि यता सरदर ५० वटा लिखत बनिरहेको कार्यालयले जनाएको छ । त्यस हिसाबले विराटनगर मालपोत कार्यालयमा लिखत झन्डै दुईतिहाइ घटेको छ । जग्गाको खरिद बिक्री र कित्ताकाट दुवै घट्दा कार्यालयको राजस्व प्रभावित बनेको छ । जग्गाको कित्ताकाट नखुल्दा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिने क्रम पनि घटेको छ । 

विगतको सुझावविपरीत सिफारिस

भू–उपयोग नीतिअनुसार स्थानीय तहभित्रको जमिनलाई आवास, व्यवसायिक, कृषि, आौद्योगिक, खोला तथा नदी, वन, आदिमा वर्गीकरण गर्नुपर्छ । तर, स्थानीय तहले विज्ञहरूबाट समेत अध्ययन नगराइ कृषि र गैरकृषिमा मात्र वर्गीकरण गरेको हो । 

विराटनगर महानगरले यसअघि गराएको एक अध्ययन प्रतिवेदनमा महानगरपालिकाको वडा नम्बर १, २, ३, ७, ८, ९, र १० का अधिकांश भूभागलाई आवास तथा व्यवसायिक क्षेत्रको रूपमा वर्गीकरण गर्न सुझाव दिएको थियो । 

यस्तै, वडा नम्बर ४, ५, ६, ११, १२, र १३ का करिव दुईतिहाइ भूभागलाई आवास तथा व्यवसायिक क्षेत्र र बाँकीलाई कृषि तथा उद्योग क्षेत्रमा वर्गीकरण गर्न सकिने सुझाव दिइएको थियो । वडा नम्बर १८ र १९ का बढी भूभागलाई कृषि क्षेत्र बनाउन  र बाँकी वडाहरूमा पनि आवास तथा कृषि क्षेत्रको करिब बराबरी जस्तो हुने गरी वर्गीकरण गर्न सकिने समितिको सुझाव थियो । तर, नयाँ जनप्रतिनिधिले त्यो सुझावलाई कार्यान्वयन नगरी बेवास्ता गरेका छन् । 

विराटनगरलाई महानगर घोषणा गर्दा न्यूनतम ३ लाख जनसंख्या आवश्यक पर्नेमा २ लाख १४ हजार मात्र थियो भने आन्तरिक आम्दानी पनि ४० करोड भन्दा कम थियो । जग्गाको कित्ताकाट रोकिदाँ आवास क्षेत्रमा पनि नयाँ घरहरू थपिने क्रम सुस्त भएको र आन्तरिक आम्दानी नबढेको निष्कर्षसहित महानगरले भू–उपयोग नीति पारित गरी कार्यान्वयनमा लैजाने पहल बढाएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC