site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रत्यक्षमा ‘ह्याट्रिक’ गर्दै चौथोपटक सांसद बने गगन थापा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रत्यक्षमा लगातार तेस्रोपटक विजयी भएर गगन थापा ‘ह्याट्रिक’सहित सांसद बनेका छन् । नेपाली कांग्रेसका महामन्त्री थापा सांसद बनेको यो चौथोपटक हो । ०६४ सालमा उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए । त्यसयता निरन्तर प्रत्यक्षतर्फ विजयी भएका हन् ।

योपटक थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट २१ हजार ३०३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार राजन भट्टराईले १३ हजार ८४६ मत पाएका छन् । थापा सात हजार ४५७ अर्थात् करिब साढे सात हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।

थापाले यो क्षेत्रमा ०७० सालको निर्वाचनमा एमालेका उमेदवार निर्मल कुइँकेललाई हराएका थिए । पछिल्ला दुई निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी भट्टराई नै हुन् । यही क्षेत्रमा थापाले ०७० मा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि हराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

थापाले यसअघि नै अबको प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्ने बताएका थिए । पार्टी सत्तामा रहँदा होस् वा प्रतिपक्षमा रहँदा संसद्मा आफूलाई उनले प्रतिपक्षका रूपमा उभ्याउँदै आएका छन् ।

उनले पार्टी प्रतिपक्षमा हुँदा महामारी नियन्त्रणका योजनासहित सरकारसँग सहकार्यको प्रस्ताव समेत गरेका थिए । थापा दुईतिहाइ बहुमतको वाम सरकारले विश्वासको मत लिने बेलामै दिनगन्ती सुरु भइसकेको बताउने सांसद हुन् । ०७४ सालको निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पहिलो चुनौती दिने सांसद उनी नै थिए । त्यति बेला देशभर वाम गठबन्धनको लहर देखिएको थियो ।

Global Ime bank

“यो कम्फर्टेबल मेजोरिटीसहितको सरकारलाई मेरो शुभकामना छ । यो सरकार सफल बनोस् र देशको अवस्थामा सुधार ल्याउन सकोस्,” थापाले संसद्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन भनेका थिए, “तर, यो सरकारको काउन्टडाउन आजैबाट सुरु हुन्छ । संविधान कार्यान्वयनका लागि बनेको यो सरकारका लागि हनिमुन अवधिको नाममा १०० दिन कुरिने छैन ।”

उनले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने बताएका थिए । सरकारले गलत कदम चाले १०० दिन ‘हनिमुन पिरियड’का नाममा कुरेर नबस्ने समेत बताएका थिए ।

पार्टी नेतृत्वलाई चुनौती दिने मामिलामा पनि थापा अगाडि छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई दिने योगदान पर्याप्त दिएको भन्दै अबका दिनमा उनको नेतृत्व उपयुक्त नहुने थापाले बताएका थिए । पार्टीको १४औँ महाधिवेशनअघि नै उनले देउवालाई ‘विश्राम लिन’ आग्रह गरेका थिए ।

१४औँ महाधिवेशनमा उनी देउवाविरुद्धको ‘क्याम्प’मा उभिएका थिए । त्यति बेला थापाले सभापति पदमा डा. शेखर कोइरालालाई समर्थन गरेका थिए । थापाले पदाधिकारीमा सबैभन्दा बढी मत पाएका थिए ।

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तीन हजार ३०० मतान्तरसहित विजयी भएका थिए । योपटक उनले जित्न नसक्ने भन्दै विरोधीहरूले सामाजिक सञ्जालमार्फत बहस चलाएका थिए ।

यही मंसिर ४ गते अर्थात् मतदानको केही दिनअघि बाह्रखरी टोली काठमाडौं क्षेत्र नम्बर–४ अन्तर्गत कपन क्षेत्रमा पुग्दा एमालेका पुराना कार्यकर्ताहरू भन्दै थिए, “उमेदवारको कार्यशैली, व्यक्तित्व र अभिव्यक्तिको कलाबाटै हामीले स्वीकार गरिसक्यौँ, हामी चुनाव हार्दै छौँ ।”

कपनमा ३५ वर्षयता बसेर संगठन निर्माण गरेका उनीहरू आफ्ना उमेदवारको कार्यशैलीदेखि पार्टी अध्यक्ष ओलीका कारण आफूहरू कमजोर बनेको स्वीकार गरिरहेका थिए । थापाको व्यक्तित्वले आम मानिसलाई प्रभावित गर्ने गरेको उनीहरूको भनाइ थियो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा पर्ने कपनको खहरेको समस्यालाई विपक्षीले थापाविरुद्धको ‘मसला’ बनाएका थिए । तर, त्यस क्षेत्रका बासिन्दाको भेलामा थापाले सम्बोधन गरेपछि माहोल फेरिएको कतिपयको बुझाइ छ ।

“खहरे साँघुरो नालीभित्र सीमित गर्न खोज्दा यो विकराल समस्या बनेर आयो । स्थानीयवासीका लागि हरेक वर्षायाममा खहरे विपद् बनेर आइरहेको छ । यो समस्याबारे म जानकार छु,” थापाले भनेका थिए, “यो समस्यामा म विज्ञहरूको सुझाव लिन्छु । त्यो सुझावानुसारको समाधान यहाँका बासिन्दालाई चित्त बुझ्यो भने त्यो योजना कार्यान्वयन गर्छु, चित्त बुझेन भने फेरि अर्को योजना मागेर खहरे समस्या समाधान गर्छु ।”

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका एमालेको गढका रूपमा स्थापित छ । गएको स्थानीय तह निर्वाचनमा पनि एमालेले बूढानीलकण्ठ नगरपालिकाका बहुमत वडासहित पालिका जितेको थियो । त्यति बेला बूढानीलकण्ठ नगरपालिकामा एमालेभन्दा कांग्रेस करिब चार हजार ३२१ मतले पछाडि देखिएको थियो । अहिले त्यही बूढानीलकण्ठमा पनि थापाले अग्रता कायम गरे ।

थापा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । कांग्रेसको विद्यार्थी संगठन नेविसंघको तत्कालीन महामन्त्री उनी ०७३ सालमा नौ महिना स्वास्थ्य तथा जनसंख्यमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीका लागि पार्टीभित्र प्रतिस्पर्धा गर्छु भनेकाले अबका उनका हरेक गतिविधिमाथि जनताको निरन्तर निगरानी रहनेछ । पार्टी नेतृत्वविरुद्ध उभिनु र जनताका काम गर्नु एउटा चुनौती हुनेछ । दोस्रो, प्रधानमन्त्रीको प्रत्यासीका रूपमा संसदीय दलमा प्रतिस्पर्धा गरेपछि उनी देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न जान्छन् वा सदाझैँ प्रतिपक्षकै रूपमा संसदीय भूमिका खोज्छन्, त्यसले पनि उनको छवि निर्धारित हुनेछ ।

थापा ‘प्रोजेक्ट गभर्मेन्ट’मार्फत अबको सरकारले गर्ने कामका विषय र योजनामाथि काम गरिरहेका छन् । अबका दिनमा बन्ने छविले उनी योजना कार्यान्वयन गर्ने स्थानमा जाने वा राजनीतिक रूपमा क्षति व्यहोरेर ओरालो यात्रामा फर्कने भन्ने निर्धारित हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC