site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब देउवाले गगन थापाको टिकट नैनसिंह महरलाई दिए..., यस्तो छ भित्री कथा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । शनिबार बेलुका देशभरका उमेदवार टुंगो लगाउने चटारो थियो प्रमुख दलहरुलाई । 

सबै राजनीतिक दलहरु आआफ्ना उमेदवार टुंगो लगाउन व्यस्त थिए । प्रतिनिधिसभा र प्रदेशसभाका आकांक्षीहरु शीर्ष नेताहरुको निवास बाहिर थिए । कतिले टिकट लिएर हिँडिसकेका थिए, कति पर्खाइमा । त्यही बेला सामाजिक सञ्जाल एकाएक गर्मायो गगन थापा सर्लाही ४ बाट उमेदवार बन्ने भन्ने खबरले । 

हुन पनि थापाको नाम सर्लाही ४ बाट एकल सिफारिसमा थियो । त्यहाँका सभापति, पूर्वसभापतिलगायतले थापालाई नै पटक पटक सर्लाहीबाट चुनाव लड्न आग्रह नगरेका होइनन् ।

त्यसबाहेक कास्की, चितवन, कञ्चनपुरलगायतका क्षेत्रबाट पनि गगन थापाको नाम सिफारिस गरिएको थियो ।

तर थापाले काठमाडौं ४ छाडेर कहीँ पनि जाने सोच बनाएका थिएनन् । कतिसम्म भने ‘जान पर्छ कि क्या हो’ भन्ने सम्मको पनि कुरा नभएको उनी निकट स्रोत बताउँछ ।

सामाजिक सञ्जालमा छाएपछि कतिपय सञ्चारमाध्यममा पनि थापा सर्लाही जाने भन्ने समाचार सम्प्रेषण भयो । 

सामाजिक सञ्जालमा थापा सर्लाही जानेबारे पक्ष र विपक्षमा बहस जारी थियो । उनका आलोचकहरु काठमाडौं ४ मा थापा कमजोर भएका कारणले ‘भाग्न खोजेको’ आरोप लगाइरहेका थिए । समर्थकले भने कुनै निर्णय नभएको भन्दै बचाऊ गरिरहेका थिए । केही समर्थकले सर्लाही जानु उचित भएको सुझाव पनि दिएका थिए ।

थापा निकट विश्वस्त सुत्रले दिएको जानकारीअनुसार संसदीय बोर्डको बैठकमा सभापति देउवा पक्षले धेरै ठाउँमा आफ्ना उमेदवार बनाउन अड्डी कसेको र पछिल्लो समय चर्चामा रहेका स्वर्णिम वाग्लेलाई कुनै पनि क्षेत्रमा टिकट नदिने संस्थापन पक्षको अडानका बीच थापाले ‘आफ्नो क्षेत्र छाडेर भए पनि वाग्लेलाई टिकट दिलाउने’ अडान लिए ।

“तपाईंलाई चितवन र काठमाडौं ५ मा उमेदवार बनाउन सकिएन, मैले मेरो क्षेत्र छाडिदिएर म सर्लाही जाऊँ त ?,” थापाले बालुवाटारबाटै वाग्लेलाई टेलिफोन गरेर सोधे ।

“महामन्त्री थापाले मलाई यस्तो प्रस्ताव गरौं भन्नुभयो मैले समर्थन जनाएको थिएँ,” डा. वाग्लेले प्रस्ताव राखेको पुष्टि गर्दै भने ।

त्यसबेला वाग्लेले पनि समर्थन जनाए । यो जानकारी थापानिकट नेताहरुबाटै सामाजिक सञ्जालसम्म पुगेको थियो । 

त्यहीबेला सभापति देउवाले पनि थापालाई सोधे, ‘महामन्त्रीज्यू तपाईं काठमाडौं छाडेर सर्लाही जान लाग्नुभएको हो ?’
गगन थापाको जवाफ थियो– मैले अहिले निर्णय गरिसकेको छैन । मेरोबारेमा निर्णय गर्ने अधिकार मलाई नै दिनोस् ।”

थापाले काठमाडौं ४ मा स्वर्णिम वाग्लेलाई टिकट दिने सर्तमा सोच्न सकिने बताएको उनी निकट स्रोत बताउँछ ।

कतिसम्म भने थापासहितका नेता आइतबार सर्लाही जाने, त्यहाँ एक कार्यक्रम गरेर उमेदवारी दर्ता गराउने तयारी गरिएको थियो ।

थापा निकटका नेताहरु मधेसमा राष्ट्रियस्तरको नेता नहुँदा कांग्रेसको साख गिर्दै गरेको समीक्षापछि केही महिनाअघि नै थापाले मधेसको कुनै एक क्षेत्रमा गएर चुनाव लड्ने योजना बनाएको बताउँछन् । त्यो योजनाअनुसार सल्लाह पनि भएपछि सर्लाही–४ बाट गगन थापाको एकल सिफारिस आएको उनको भनाइ छ ।

“मधेस कांग्रेसको आधार भूमि हो । त्यहाँ लामो समय बलियो रहेको कांग्रेस क्षेत्रीय राजनीतिका कारण कमजोर हुँदै गएको छ,” महामन्त्री थापा निकटका ती नेताले भने, “मधेसका नेता साथीहरुको आग्रह महामन्त्री थापाको समर्थनपछि मधेसबाट चुनाव लड्ने समझदारीसहितको योजना तय भएको थियो ।” 

ती नेताका अनुसार सर्लाहीबाट सिफारिस ल्याउँदा एउटा कमजोरी भयो । सर्लाही–४बाट निर्वाचित सांसद अमरेशकुमार सिंहको सहमति नलिएर उनलाई पन्छाउँदै प्रस्ताव आयो अनि प्रस्ताव नै विवादित भयो ।

एक ठाउँमामात्रै भन्दा देशका विभिन्न स्थानमा पुगेर चुनाव लड्ने चाहना थापाको पनि थियो ।

पार्टीभित्रको अन्तरघातका कारण पनि त्यो अवस्था आएको हुन सक्ने थापा निकट नेताहरुको बुझाइ छ ।

छलफलकै बीचमा देउवाले थापालाई सर्लाही पठाउने र काठमाडौं ४ मा नेविसंघका पूर्वसभापति नैनसिँह महरलाई टिकट दिन प्रवक्ता डा. प्रकाशशरण महतलाई निर्देशन दिए ।


बिहानै कांग्रेस प्रवक्ता डा. महतले नेविसंघका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय सदस्य महरलाई काठमाडौं ४ को टिकट थमाइदिए । 

आफूलाई जानकारी पनि नदिई काठमाडौं ४ मा वाग्लेलाई पन्छाउँदै महरलाई टिकट दिइएको जानकारी थापाले पाए ।

थापा पनि आफू सर्लाही जाने निर्णयमा पनि पुग्दै नपुगेका बेला नेतृत्व तहबाटै ‘षडयन्त्र’ गरिएको भन्दै आक्रोशित बने । 

त्यसपछि महरलाई बालुवाटार बोलाएर टिकट फिर्ता लिइयो काठमाडौं ४ मा थापाले नै टिकट लिए आइतबार बिहान ।

थापा निकट स्रोतका अनुसार डा. महतबाट षडयन्त्र भएका कारण टिकट र सर्लाही जाने विषयमा अनावश्यक हल्ला फिँजाइयो ।

mahar1665324097.jpg

तर पार्टीको निर्णयबाट केन्द्रीय सदस्य महरले भने आफूलाई मर्माहत बनाएको बताएका छन् ।  उनले पार्टीले टिकट दिएर पनि खोसेको भन्दै आफूलाई दुःखी बनाएको बताउँछन् ।

“टिकट नपाएको भए पाइएन भन्ने हुन्थ्यो । टिकट पाएर चुनाव लड्ने तयारी गरेपछि टिकट खोसियो,” महरले बाह्रखरीसँग भने, “यस्तो अवस्थाले असाध्यै असमन्जस्य बनाउँदो रहेछ ।” 

* यसअघि नैनसिंह महर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro