साहित्य
सम्माननीय प्रधानमन्त्रीज्यू !
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं, नेपाल
‘बा ! सरकारले खातामा पैसा हाल्द्यो ? अनि घडेरी खार्नुभो ?’ एकाबिहानै मलेसियाबाट छोराले छिमेकमा फोन गरेर सोध्यो ।
मुखभरिको जवाफ दिन मन लागेको थियो, तर यतिमात्रै भनेँ, ‘तिमी बजियाहरूलाई घर चाहिएन, पाखुरामा बल भएकालाई त धुरी लडेको वास्ता छैन भने हामी डाँडा पारिकालाई के मतलब ? बारिको पाटाको त्यही पालकै ओतमुनि छु ।’
अरु दोहोरो कुरा नगरी घत्रक्क फोन राखिदिएँ ।
छोरालाई तीतो पोखे पनि मनमा तिल जौ छड्कन कम्ती भएको थिएन, ‘टहरामै पो बित्ने भो त प्राण, धत् !’
गोजीमा गाँठ नभए पनि मनले आँट्न मात्रै सकेको भए उहिल्यै जग खनिसक्थेँ । सरकारको भर पर्नु मर्नु बराबर हो भन्ने नबुझेको थिएँ र !
उमेर घर्किएपछि बल पनि तर्किइहाल्दो रहेछ ! बाउले पाँच वटा घरको धुरी मारे, मैले पनि तीनवटासम्म ठड्याएकै हुँ, छोराहरू के भएका हुन्, दुई वर्ष बित्न लाग्दा पनि घर बनाउने कुरै झिक्दैनन् बा ! यही पीरले आफ्नो झिमिक्क आँखा नपारी रात बित्छ ।
दुई वटा छोरामध्ये एउटा बाहिर भइगो, अर्को सहरतिरै बस्छ । दसैं–दसैंमा आउँछ, टहरामै टिको लाउँछ । त्यसपछि फर्केर आउँदैन ।
यता बूढी क्याउँ–क्याउँ गर्छे, ‘आज बनाउलान् भोलि बनाउलान् भन्दाभन्दै दुई वर्खा कटाए । यी बाउछोराले घर नबनाएर यो हिउँद पनि यही पालमुनि राख्लान्जस्तो छ, दमले माघ काट्न देलाजस्तो छैन, प्राणचाहिँ सजिलोसँग गइदिए हुन्थ्यो !’
चिसोसँग दमको दुस्मनी छ । हुस्सु बढ्नेबित्तिकै जहानलाई अप्ठ्यारो पारिहाल्छ ।
जे भए पनि दुःखमै बूढोलाई त हो नि । दुवैजना बूढाबूढी बिरामी परेको दिन त पानी तताएर दिने मानिस पनि भेट्न मुस्किल छ । पखेटा लागेका छोराहरूले दैलो नाघिहाले !
दसैंताका हुनुपर्छ, एकजना पत्रकार नानी आइपुगिर’थे । के कसो छ भन्दै थिए, पालमुनिको रित्तो भकारी देखाइदिएँ । सास बढेकाले कुनामा बूढी घ्यार्र घ्यार्र गर्दै थिई । पालबाट टहराभित्र शीत तप्किएको उनैले देखे । मैले केही भन्नै परेन ।
मुलाको साग ओइलाएजस्तो अनुहार पारे । काठमाडौँमा बसेर लेखापढी गरेर मात्रै कहाँ देखिन्छ र गाउँको दुःख ? यहाँ आएपछि ती तीनछक परेछन् !
मैले नै भनेँ, ‘समाचार लेख्नेमात्र होइन बाबु, प्रचण्डलाई म बूढाको गुनासो पनि पुर्याइदेऊ । लेख्न जान्दिनँ । म भन्छु, तिमी आफैँ लेखिदेऊ है ।
के भनूँ सरकार ! अचेल गाउँहरू ‘वृद्ध घर’ मा परिणत भएका छन् । कपाल फूलेका बूढाखाडाबाहेक गाउँमा अरु मानिस देख्नै मुस्किल छ । खुट्टा लागेका जति लाखापाखा लागेकाले गाँवै शून्य छ भन्दा पनि हुन्छ । भूकम्पपछि त बस्ती पूरै निर्जन भइसकेको छ, भिषण बमबारी पछि मानिसहरू थातथलो छाडेर भागेजस्तो !
भुइँचालो गएको १८ महिना बित्यो । सुरुका दुई–चार महिना त राहतको ओइरो नै लाग्यो । त्यसपछि भने भूकम्पका गाउँ बस्तीमा मानिसहरू आउनै छाडे । गाविस सचिव र आक्कलझुक्कल आउने इन्जिनियर ओभसियर साबबाहेक सरकारका मानिसको नाकमुख देख्न पाएका छैनौँ हामीले ।
सरकारले घर बनाउन दिने सहयोग सम्झौता गरेको ६ महिनापछि अस्ति बल्ल बल्ल पहिलो किस्ता पाएँ । त्यो लिन जाँदाको दुःख कसरी सुनाऊँ !
यहाँबाट बजार जान म बूढोलाई ठ्याक्कै आठ घण्टा लाग्यो । उकालो पायक परेकाले त्यहाँबाट फर्कन त झनै दोब्बर । बजार पुगेर यहाँ आउन तीन दिन लाग्यो मलाई । तीन दिन माया मार्दा पैसा सुविस्ताले पाएको भए त हुन्थ्यो नि !
बैंकका कर्मचारी उस्तै रुखा ! ‘यति पनि जान्नुहुन्न, त्यति पनि आउँदैन’ भनेर अरिंगालले झैँ छोप्छन् । बूढाबूढीलाई कस्तो व्यवहार गर्नुपर्छ । नजान्नेलाई सिकाउनुपर्छ भनेर तिनमा कुनै चेत हुँदो रहेनछ । पढेर मात्रै कहाँ बुद्धि आउँदो रहेछ र बाबु ! यो देशमा कस्ता कर्मचारी ! यो कागज भएन त्यो कागज भएन भनेर पैसा निकाल्न दिनभरि नै पो लगाइदिए ।
बजार उस्तै महँगो ! खाँदाबस्दा र कागजात मिलाउँदा झण्डै १५ हजार सकियो । ५० हजार लिन १५ हजार खर्च गर्न परेपछि बाँकी पैसाले कसरी जग खन्ने सरकार ? यति पैसा पाउन पनि दुई वर्ष कुर्नुपर्यो । बाँकी पैसा पाउन कति वर्ष कुर्नुपर्ने हो हामीलाई क्यै थाहा छैन सरकार ।
टीभी त भए पो हेर्न पाउनु ? भइदिएको भए नेता र सकारमा बस्नेको अनुहार एक पटक हेर्न मन थ्यो । सरकारमा पुगेपछि कस्ता हुँदा रहेछन् ती ?
एउटा मजत्तिकै बूढो रेडियो छ घरमा । त्यसले भनेको सुन्दा अब केही दुःख छैन जस्तो ! आफ्नो दुःख देख्दा लाग्छ, यस्तो दुःख पाउनुभन्दा खोलामा हामफाल्नु वेश ! तर, निर्धनलाई त कालले पनि छल गर्दोरहेछ सरकार !
३५ हजार च्यापेको आज ३५ दिन बितिसक्यो । भत्किएको घर पन्छाएर जग खन्ने मान्छे पाएको छैन । दश गाउँ चहार्दा पनि ज्यामी मिस्त्री पाइँदैनन् । सबैका घर भत्किएका छन् । कसलाई भन्नू, ‘मेरो घर बनाउनुप¥यो ओइ आइजो त !’
प्रधानमन्त्रीज्यू, हिजो भूमिगत हुँदा तिम्रा कायकर्तालाई दिनहुँ पाल्ने मै बूढो हुँ । यति दुःख गरेका छन्, सत्तामा पुगे भने केही त पक्कै गर्लान् भन्ने आश मलाई पनि थियो । त्यसैले आफू भोकै सुतेर पनि तिनीहरूको पेटमा तातो लगाउँथें । त्यतिबेला माओवादीका कार्जेकर्ता भन्थे– हामी सत्तामा पुगेपछि यस्तो दुःख पाउनुपर्दैन, नेताहरूको अनुहार हेर्न काठमाडौँ धाउनुपर्दैन बा !
अहिले सत्तामा छन्, खै त भूकम्पपीडितलाई हेरेको ? सरकार चाहिने भनेको यस्तै गाह्रो–साह्रो पर्दा हो । सधैँ चुल्हो बालिदेऊ त हामीले पनि भनेका छैनौं नि !
हाम्रो घर बनेन भनेर के गुनासो गर्नू ? सरकारले आँगनकै सम्पदा त बनाउन सकेको छैन रे । सुन्दैछु– त्यो पनि विदेशीलाई बनाउन जिम्मा दिने रे । देशको सम्पत्ति बनाउन विदेशीको मुख ताक्न लाज नमान्ने गतिछाडा सरकारले हाम्रो घर बनाइदिएन भनेर के गुनासो गर्नु !
मेरो बिन्ति लाग्छ भने सरकार, भत्किएका ती सम्पदा छिटो बनाऊ । पर्यटक आएर हुने देशको आम्दानीमा अरू हानी नपुगोस् । सम्पदा देशको सम्पत्ति हो । समयमै बनेन भने पुर्खाको सम्पत्ति पुस्तालाई कसरी दिने ?
रेडियोमै सुनेको हुँ– टीभीमा हँसाउने कलाकारको एक जोडीले दुईटा बस्ती उभ्यायो ! एक वर्षमा ८५–८६ वटा घर बनायो । सामान्य कलाकारले त्यत्रो असामान्य काम गर्न सक्छ भने देशको साँचो नै कम्मरको जनैमा भिरेकाले त जादुकै भरमा बस्ती उभ्याइसक्नुपर्ने होइन र सरकार ? तर, तिम्रो चालचुल देखिँदैन ! सरकार जिउँदै छ कि छैन हामीले चालै पाएनौँ ।
भन्नु त धेरै थियो सरकार । दुई बर्खा र एक माघ टहरामै बितायौँ । जंगलको छेउ छ, बाघभालुले खाइदिने हुन् भन्ने डर लागिरहन्छ । डरैडरमा तिम्रो भर परेका छौँ सरकार !
यो हिउँदमा जसरी पनि घर बनाउनुपर्छ । नत्र हामी बूढाबूढीलाई बाँच्नै मुस्किल हुन्छ ।
किस्ता–किस्तामा पैसा दिँदा किस्ता–किस्तामै दुःख पाइन्छ । पैसा दिने नाउँमा यस्तो सास्ती दिनुभन्दा बरु सुरक्षा निकायको सहयोगमा गाविस सचिवले गाउँ–गाउँमै पैसा बाँड्ने प्रबन्ध मिलाए अलि सजिलो हुन्थ्यो कि ।
अघि नै भनिसकेँ, गाउँमा सिकर्मी, डकर्मी छैनन् । घर बनाउने मान्छे नै नपाइएपछि बास कसरी बनाउनु ? अतः भूकम्पपीडित गाउँमा अन्यत्र भूकम्पले क्षति नपुर्याएका ठाउँबाट काम गर्ने मान्छे पठाउने हो कि अरू उपाय खोज्ने हो, छिटो ध्यान पुर्याउनु पर्यो सरकार ।
यस्तो पानी मारको घट्टझैं चालाले कहिले सकिन्छ पुनःनिर्माण । पुनःनिर्माण ढिला भयो, जनताले दुःख पाए भनेर नै सरकार फेरेका होइनौँ तिमीले ?
फगत कुर्सीकै तातो आलु खेलेर बसिरहनुभन्दा देश बनाउनेतिर पनि ध्यान जाओस् । नत्र हामी बूढाखाडाले मात्रै होइन, छोरानातिले पनि सरकारलाई सरापिरहनुपर्ने छ ।
अक्षर काकाको सहयोगमा सिन्धुपाल्चोकबाट भूकम्पपीडित रामवीर तामाङ
मिति २०७३/०७/२६
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १५:३४
प्रतिक्रिया दिनुहोस्