site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भेडीगोठमा छेची
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
भारी बोक्दा–बोक्दा छेची थाकिसकेकी थिई ।
अर्काे विकल्प पनि थिएन । काम त गर्नै पर्थ्यो । पढ्न पनि त उसले भनेजस्तो पाइन । यस्तै दुईचार कक्षा पढिनसक्दै स्कुलबाट बिदा भई त हाली । 
“छोरीले पढेर के काम !”
“अर्काको घरमा जानेले खेत खन्न, बारी खन्न सिक्नु राम्रो । पढेर बिग्रिने मात्र हुन्छन् !”
आमाले भन्दा गाउँकै बोजूहरूले अरु थपेर कुरा गरे— छेची स्कुल गएको देखेपछि । 
अनि आमाले पनि भनिन्, “छोरी पढेर कामै छैन !” 
एकदिन छेची किताब मिलाउँदै थिई । आमाले किताबकपी खोसेर हातमा हँसिया र नाम्लो थमाउँदै भनिन्, “तल खोलानिर मकैको घाँस लिएर आइज छेची । अब किताब पनि यै, पढाइ पनि यै, स्कुल पनि यै !”
छेची अचम्म परी । 
“भाइ बिरामी छ । म झाँक्रीकोमा जान्छु । घाँस ल्याएर गोठमा राख्नू । देलु पनि बनाउनू । भरे अन्धकार होला । बाल्नलाई एकै सिन्को छैन !”
आमा फतफताउँदै भर्‍याङ चढिन् ।
छेचीले हँसिया र नाम्लो हातमा लिएको लिएकै गरी । अनि गरुँगो मन लिएर लागी, खोलापारिको खेततिर । आज ऊ निकै निराश थिई । भित्रैदेखि खिन्न थिई । उसलाई पाइला चाल्न पनि मन थिएन । पढियो भने ठूलो मानिस बनिन्छ भन्ने उसले सुनेकी थिई । 
छेची खोलामा पुगेर बसिरही ।
आफ्नै सुरले ढुंगामा ढुंगा थपेर माने बनाउँदै खेलिरही । स्कुल जान नपाएको चोटमा उदास बनिरही ।
त्यै बेला कता–कताबाट आएर कुकुरले पछाडि टोकेछ । ऊ डराई । अनि रुँदै घर पुगी । 
आमा थिइन् घरमा ।
घर मास्तिरकी ङिमा फुपूले सोधिन्, “किन रोएकी ?”
“कुकुरले तीन ठाउँमा टोक्यो !”
“म झारफुक गर्दिन्छु !”
उनले बारीको कान्लाबाट एउटा नीलो फूल फुल्ने बिरुवाको पात टिपेर तीन–तीन ठाउँमा फुकिन् । अनि कुखुराको खोरमा पसेर सुली ल्याइन् । त्यो सुली मज्जाले दलिदिइन्, टोकेको ठाउँमा ।
“अब कुकुरले टोकेको चट् !”
“फुपू कति दिनमा निको हुन्छ ?”
“भोलि नै ठीक हुन्छ !”
ङिमाले भनिन् ।
राति आमालाई छेचीले सबै भनीे । आमाले त घाँस नल्याएकोमा सातो लिइन् । 
“फुम फेजा !” कामै नगर्ने तरुनी भनेर उल्टै भनिन् ।
“भोलिदेखि कुखुराको गु दल्नु, ठीक हुन्छ !”
उनी रिसाइरहेकै थिइन् ।
कुकुरले टोकेको निको त भयो । केही दिन निकै दुख्यो । निकै माथिसम्म पनि सुन्नियो ।
गाउँकाले भने, “लामाकोमा लगेर मन्त्र पढाउनू, ठीक हुन्छ !”
घाउ ठीक भएर आयो । तर, टोकेको ठाउँमा निकै चिलाउँथ्यो । चिलाएको ठाउँमा कन्याउँदा–कन्याउँदै रगतै आउँथ्यो । रात परेपछि कन्याए ठाउँमा टट्याउँदा छेची पिलपिल रुन्थी ।
ऊ अरुभन्दा ठूली थिई । भाइबहिनाहरू निकै साना थिए । आमा–बुबाको माया ऊबाट भाइबहिनीमा सरेको थियो सरक्कै । 
ऊ निकै पटक लडेकी थिई । 
निधारमा टुटुल्को उठेको थियो । टुटुल्को उठेको ठाउँमा कालोनीलो भएको थियो । साथीहरूले माटो दलिदिएका थिए– भुक्क मासु उठेको निधारमा । 
भाइ बिरामी पर्दै गयो ।
आमा, बुबा उवा काट्न तलको बारीमा गएका थिए । बिरामी भएको भाइलाई हेर्ने काम छेचीले नै पाएकी थिई । 
“पानी खान खोज्यो भने खुवाउनू है !”
आमाले भाइलाई कपडामा बेरेर गइन् ।
“हुन्छ !”
छेचीले टाउको हल्लाई । 
ऊ आँगनमा बसेर मकै छोडाइरहेकी थिई ।
उसका आँखा बाटोमा गइरहेका जोक्प्यो र जोमको बथानमा घरिघरि पुग्थ्यो ।
निकैबेरपछि ऊ माथि गई र भाइलाई हेरी । मस्तले सुतिरहेको रहेछ ऊ ।
यो भाइको उसलाई निकै माया लाग्छ । जहाँ–जहाँ जाँदा पनि उसलाई पछ्याउँथ्यो । हात नसमाई हिँड्नै मान्दैन्थ्यो । छेची पनि अरु भाइलाई भन्दा यही भाइलाई अलि बढ्ता माया गर्थी ।
एकछिनपछि के सम्झेर ऊ फेरि माथि गई र हेरी ।
भाइका आँखा मास्तिर फर्किएका रहेछन् । मुख पनि खुल्लै थियो । ऊ डराएर बाटोबाट आमालाई डाकी ।
आमा पनि अत्तालिएर आइपुगिन् । त्यसपछि बुबालाई डाकिन् ।
भाइ त मरेछ ! 
मान्छे मरेको छेचीले देखेको यो पहिलो यो— आफ्नो घरमा ।
भाइ मरेपछि ऊ निकै दुःखी भई । त्यसलाई ज्यादै नराम्रो लाग्यो । घरै सुनसान लाग्यो । 
पारिबाट लामा आए । अनि मरेको भाइको मुखमा घिउ दलिदिए । बाजे निकै तन्त्रमन्त्र जान्दथे ।
रातभरि बाजेले चेतुंगु कर्म गरे । ठूलो डमरु बजाए । मान्छेको नली खुट्टाको बाजा फुकेर रातभरि क्रियाकर्म गरे । 
केही समयपछि भाइको दाहसंस्कार भयो । 
छेचीलाई लागेको थियो– यो भाइ अभागी रहेछ, त्यै भएर चाँडो गयो । तर, यो भाइ भाग्यमानी पनि रहेछ, गाउँकै प्रसिद्ध लामा बाजेले उसको अन्तिम सस्कार राम्रोसँग सम्पन्न गरिदिएका थिए ।
अचेल पनि छेचीलाई लाग्छ— त्यो भाइलाई सायद जन्डिस भएको थियो । लुक्ला, जिरीतिर लगेर डक्टरलाई देखाएको भए पक्कै पनि बाँच्थ्यो होला ।
सबैले बिख परेको भनेर धामी झाँक्रीको मात्र भर पर्दा भाइ बितेको हो कि ? छेचीलाई यस्तै लागिरह्यो । 
 
० ० ०
चैत लागेपछि मुसे गाउँ छेउछाउका डाँडापाखा त्यत्तिकै उज्याला भएर आउँछन् । सबैतिर हरियाली उम्रिएको देख्न पाइन्छ । हरेक बिरुवामा एक झर पानी परेपछि त झनै सुन्दर फूलहरू फक्रिन थाल्छन् ।
क्योङ्मोको गुम्बा छेउमा बसेका छन्— छेची र आङ म्हेन्दो ।
म्हेन्दोको घर नाम्चे नजिकै छ । अलिक परकी मामाकी छोरी हो ऊ छेचीकी । यतातिर आउँदा म्हेन्दो छेचीकै घरमा बस्छे । ऊ पनि नाम्चे जाँदा म्हेन्दोकै घरमा बस्छे ।
“म्हेन्दो तिम्लाई थाहा छ ! पहिला–पहिला यतातिर खुबै भेडाभेडी चराउन ल्याउँथे । अचेल त ल्याउनै छोडे ।”
“ए हो, हाम्रो घरसम्म आइपुग्थे रे !”
म्हेन्दोले पनि कुरा थपी । 
“कति धेरै आउँथे । मलाई त राम्रैसँग थाहा छ । साह्रै रमाइलो पो हुन्थ्यो त !” छेचीले सम्झन थाली ।
“गाउँमा भेडी गोठ आउने भएपछि नयाँ खालको वातावरण हुन्थ्यो । तल ओखलढुंगा, खोटाङ, संखुवासभातिरबाट ती भेडाका बथान आउँदा रहेछन् । यी तल देखिएका सबै बारीमा हजारौंका संख्यामा भेडाभेडी आइपुग्थे ।”
“बर्खाको बेलामा भेडा आएपछि तिनलाई हेर्ने गोठालाहरू पनि हाम्रा साथी जस्तै हुन्थे । कतिपटक त तीसँग हामी खेल्थ्यौं । अग्ला, गोरा, राम्रा हुन्थे ती गोठालाहरू !”
छेचीले पर बारीतिर औल्याएर भनी, “ऊ, त्यो हाम्रो घरको आँगन अगाडिको बारीमा निकै खेप भेडीगोठ राखिएको थियो !”
“भेडीगोठ राखेपछि बारीमा मल हुन्थ्यो । मल भएपछि मकै, उवा, गहुँ साह्रै फल्थ्यो । त्यै भएर भेडीगोठ राख्न तँछाडमछाड जस्तै हुन्थ्यो ।”
“निगालोको बाँसको घेरामा राखिन्थ्यो भेडाहरूलाई । तिनका साना पाठा–पाठी कति राम्रा हुन्थे । बोकिरहन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । म त साना पाठा बोकेर दिनभरि गोठालोसँगै चराउन पनि जान्थेँ ।”
म्हेन्दो छेचीका कुरा सुनेर हाँसी ।
“अनि सुन न । भेडा आएपछि हामी खुबै रमाउने एउटै मुख्य कारण थियो— दूध, दही निकै मज्जाले खान पाइन्थ्यो । गोठालोले भेडीको दूध दोएर दही जमाउँथे । मोही पार्थे, घिउ बनाउँथे । हामी त मोही टन्नै खान पाउँथ्यौं । आमा त गाउँमा अरुलाई पनि मोही बाँड्थिन् ।”
छेचीले ओठ चाट्दै भनी । 
“अहिले पनि त्यस्तै मोही खान पाए ...! तर आजभोलि भेडा नै यता आउन छोडे र पो त ... !”
छेचीले आँखा सन्काएर भनी, “ओहो ! कति डरलाग्दा कुकुर पनि भेडी गोठालासँगै हुन्थे । काला, सेता, ठूला कुकुर देख्दा साह्रै डर लाग्थ्यो । ती कुकुर त भेडासँगै यताउता कुदिरहेका हुन्थे । तिनले भुक्दा गाउँ नै थर्किन्थ्यो ।”
“तीन–चार दिन, तीन–चार दिन बस्थे गाउँका मुख्य–मुख्य घरका बारीमा । तिनीहरूलाई बस्ने सानो छाप्रो बनाइदिनु पथ्र्याे बा, काकाहरूले । गोठालाहरू दिनभरि भेडा लिएर वनतिर जान्थे । राति तिनलाई आगो बाल्ने दाउरा, मुडा खोज्ने काम बा हरूकै हुन्थ्यो ।”
छेचीले आँखा नचाएर भनी, “भेडीगोठ आएपछि गाउँमा नयाँ खालको चहलपहल हुन्थ्यो । गोठालाहरू पनि निकै रमाइला खालका हुन्थे । ती हामीसँग जिस्कन्थे । हामी पनि तिनको नजिकै बसेर पाठापाठी बोक्दै गफ सुन्थ्यौं । राति ती गीत पनि गाउँथे । आगो बालेर तिनीहरू नाचगान पनि गर्थे ।”
“धेरै गोठालाहरूले हाफ पेन्ट लगाएका हुन्थे । माथि चैं भेडाकै ऊनले बनेको कोट “लुप्चुङ” लाउँथे । कुनै बेला गोठालाले छोडेर बाहिर गएको समयमा हामी पनि लगाउँथ्यौ त्यो लुप्चुङ । एकपटक त मेरो सानो भाइले त्यो ऊनको कोट लगाएछ । अनि बाटो नदेखेर त्यहीँ लडेछ । अनि त रुन पो थालेछ । त्यतिखेर निकै रमाइलो भएको थियो ।”
छेचीले बयान गरिरही, “ती गोठालाहरू गुरुङ हुन्थे । निकै बलिया, राम्रा, तन्नेरी । गोठालाहरूले हाफ कट्टु लगाएका हुन्थे । कम्मरमा खुकुरी भिरेका हुन्थे भने ढाका टोपी मज्जाले ढल्काएर लगाएका हुन्थे । शैलुङको भेडा आयो भन्दै गाउँ भरिमा— एक खालको चाडबाड जस्तै हुन्थ्यो !”
“पानी परिरहेको बेला घुम ओडेर गएका गोठालाहरू दिनभरि वनतिरै हुन्थे । साँझ परेपछि साना पाठापाठी थन्काउने, दूध दुहुने र बिरामी भेडाभेडीलाई ओखती खुवाउने काममा निकै व्यस्त हुन्थे । खेतभरि बनेका छाप्रामा ती साह्रै खटेका हुन्थे ।”
“गोठाला आएपछि हामी तिनका छेउछाउमै बस्थ्यौं । अगेनाको तातोसँगै मोही खान पाएपछि सबै खुसी हुने नै भए नि । मलाई त झन् भेडाको दही ज्यादै मीठो लाग्थ्यो । अनि गोठालाले अनेक कथा, गीत सुनाएर हामीलाई हँसाउँथे पनि ।”
छेचीले अझै सम्झी, “बिहान भएपछि भ्या–भ्या सुनिन्थ्यो । गाउँभरि नै यो भ्या–भ्या सुनेर एउटा अनौठो वातावरण हाम्रो मन पुग्थ्यो । कुइरो, पानीको झरझर र बिजुलीको गड्याम्मसँगै पहाडमुनि भ्या–भ्या सुन्दा अलिक अचम्म लाग्थ्यो । साँझ र बिहान चैं भेडाको भ्या गज्जबले सुन्न पाइन्थ्यो !”
“कति भेडाका लामा सिङ हुन्थे । भेडीका सिङ हुँदैनथे । ती पोथी होलान् । कति भेडा जुधेर त रगत बगाएर, सिङ भाँचेर आएका हुन्थे । काला, सेता र छिर्केमिर्के भेडा निकै हुन्थे ।”
छेचीले गुम्बाभन्दा दक्षिणतिरका ठूला–ठूला गरा देखाउँदै भनेकी थिई, “यी गरामा धेरै पटक भेडीगोठ राखिएको थियो । ऊ, त्यो उत्तरको गरा र पूर्वपट्टिको खोल्सामुनिको खेतमा पनि धेरैचोटि भेडीगोठ राखिएको थियो । गुरुर्र कुदेर पस्थे भेडाका बथान । कतिचोटि त हामी पनि रमाएर भेडाभेडीसँगै गुडुडु कुद्थ्यौं ।”
“भेडा आएपछि गाउँभरि जुका लाग्थे । जङ्गलमा चर्न गएका भेडामा टाँसिन्थे जुका । अनि ती जुका हाम्रा बारीमा खस्थे । मान्छेहरू जुकाकै कारण कति त बर्खाभरि ती गरामा पस्दैनथे ।”
छेचीले निकै उज्यालो अनुहार लाएर भनी, “बिस्तारै भेडीगोठ माथि लुम्डिङसम्म पुग्थे । चराउँदै–चराउँदै माथि लाग्थे । निकै जाडोसम्म उतै बस्थे । भेडाका बथानलाई माथिसम्म पुर्‍याउन म पनि गएकी थिएँ ।”
“भेडीगोठ गएपछि गाउँमा अनेक कुरा काटिन्थे । एकपटक त माइला काका आङ डेन्डीले पो मलाई नजिकै बोलाएर भने, “के हो छेची, तँ त त्यो जुल्फे गोठालोसँग निकै जिस्कदै पो थिइस् रे !”
काकाको कुराले मलाई निकै रिस त उठेको थियो तर मुख फर्काइनँ । चुप लागेर घर गएँ । घरमा पुग्दा पनि चौरीखर्ककी बोजू आएर आमालाई भन्दै रहिछन्, “छोरी अलिक छाडा हुँदैछे । ख्याल गर्नू है ।”
छेचीले ओठ टोकेर भनी, “म पुर्‍याउन चैं जान्थेँ । कति पटक त निकै तलसम्म पु¥याउन पनि गएकी थिएँ । लुमडिङतिर पुर्‍याउन पनि गएकी छु । अनि शैलुङ फर्किने भेडीगोठका पछि–पछि छोकी, डोमा र पेल्हामुसँगै म निकै तलसम्म गएकी थिएँ । कति रमाइलो हुन्थ्यो । भेडा गुरुर्र कुद्थे । तिनका बथानसँगै कुद्दा शरीरै रमाइलो हुन्थ्यो । हजाराँैका हुलमा दुईचार मान्छे देख्दा निकै मज्जा हुन्थ्यो ।”
(हिमाली परिवेशलाई केन्द्रित गरेर अघिल्लो हप्ताबाट बजारमा आएको उपन्यास ‘हिमालकी छोरी’को अंश । लाक्पा फुटी शेर्पाको ‘हिमालमा चालीस वर्ष’ पुस्तक पनि प्रकाशित छ ।)
 
प्रकाशित मिति: शनिबार, असोज २९, २०७३  १०:१४
प्रतिक्रिया दिनुहोस्