फाफुराले समाचार सुन्ने र पढ्ने काम गर्दैन । न रेडियो, न टिभी अनि न पत्रपत्रिका । जति गरेपनि यो एउटा कुलत उसले लगाउनै सकेन के गर्नू ? यति सुन्नासाथ तपाईंहरुलाई अवश्य पनि लाग्यो होला फाफुराभन्दा बेकामको मानिस संसारमा मोबाइल फोनको बत्ती बालेर खोजे पनि पाइँदैन । किनभने समाचार नसुन्ने वा नपढ्ने नागरिक भनेको देशको लागि कलङ्क हो । त्यस्तो लागेको भए एकछिन फाफुराको अझ अर्को एउटा दुर्गुण पनि सुनिहाल्नुस् । उसलाई विशेषतः राजनीति र तिनका समाचारमा रुचि छैन । अब त तपाईंहरुलाई फाफुराको राष्ट्रियतामा नै शंका भयो होला । किनभने नेपाली हुनका लागि नागरिकतामात्र भएर पुग्दैन । राजनीतिमा अथाह रुचि हुनैपर्छ । चौबीसै घन्टा तिनै राजनीतिक गतिविधि, नेताहरुको भाषण, समर्थन, विरोध, गुणगान, गालीगलौज, देवत्वकरण वा दानवीकरण गरिएका समाचारमा भुल्ने, टीकाटिप्पणी गर्ने र आफ्नो विचार प्रकट गर्ने योग्यता पनि हुनुपर्छ । त्यति भएपछि मात्र आफूलाई पक्का नेपाली हूँ भन्न पाइन्छ ।
घरघरमा पत्रिका, चोकचोकमा रेडियो, टोलटोलमा टेलिभिजन च्यानल र कम्प्युटरकम्प्युटरमा अनलाइन समाचार पोर्टल भएको यो देशमा सबैको मुख्य खुराक नै राजनीतिक समाचार हुने गर्छ । त्यति हुँदा पनि राजनीतिबाट अछूतो रहने भनेपछि फाफुरामा कुनै ‘म्यानुफ्याक्चरिंग डिफेक्ट’ हुनुपर्छ । माथि भनिएका ती कुनै पनि सद्गुण नभएका हुनाले ऊ नेपाली हुनै सक्तैन । त्यसैले अब त पक्कै पनि चारपाटे मुडेर, जुत्ताको माला लगाइदिएर यो फाफुरोलाई राज्यद्रोहको आरोपमा सीमापारिसम्म पु¥याएर आउनुपर्छ भन्ने पनि यहाँहरुलाई लागिसक्यो होला ।
सोमवार बिहानै पनि फाफुरा झोक्राएर बसिरहेको थियो । फाफुरी चाहिँ आफू पक्का र शुद्ध नेपाली भएको प्रमाण दिँदै भान्छामा समाचार सुन्दै खाना बनाउँदै थिई । अचानक ऊ गाला रातो पार्दै कोठामा आई ।
“सुन्यौ ? तेलको भाउ फेरि बढेछ ।”
फाफुराले उसलाई हेर्दै भन्यो,
“ठीकै छ नि त । धेरै चिल्लोचाप्लो खानु यसै पनि स्वास्थ्यको लागि राम्रो होइन । आजदेखि भुटेको र तारेको खानेकुरा बन्द । उसिनेको खाने बानी लाग्यो भने त्यसैमा स्वाद बस्दै जान्छ ।”
फाफुरीले थाप्लो पिट्दै भनी,
“हे भगवान । कस्तो उल्लु मानिससँग बिहे गर्न पुगिछु म ! तेल भनेको आयल... आयल । पेट्रोल र डिजेलको कुरा गरेको मैले ।”
मूल्यवृद्धिको सांकेतिक विरोधस्वरुप फाफुरीले सात दिनसम्म आफ्नो स्कुटी नचढ्ने निर्णय गरी । उसलाई विश्वास थियो, यसप्रकारको सांकेतिक विरोध गरेर सरकारलाई तेलको भाउ घटाउन लगाउनु भनेको गणेशजीले मुसा नचढेर आफ्नो पकेट खर्च बढाउन महादेवलाई राजी गराएजस्तै हो । तर, हरेक विवेकशील पतिले झैं फाफुराले पनि पत्नीको कुरामा विवाद नगरेर सम्भावित गृहकलहबाट आफूलाई मुक्त राख्यो । फाफुरीको स्कुटीमा लिफ्ट नपाएपछि ऊ लोप्रेकान लगाएर नारायण मोडमा लुखुरलुखुर हिंड्दै रत्नपार्क गयो । निकै दिनपछि पानी नपरेको मौका पारेर ऊ रत्नपार्कमा टोपीले मुख छोपेर सुत्यो र मस्तसँग निदायो ।
फाफुरा एउटा अनौठो स्थानमा पुग्यो । त्यसलाई अनौठो भन्नुपर्ने सबैभन्दा मुख्य कारण के थियो भने त्यहाँ झलमल्ल घाम लाग्दालाग्दै पनि एक किसिमको अँध्यारो थियो । फाफुरा जिल्ल परेर चारैतिर हेर्दै थियो । अचानक उसको सामु एकजना मानिस प्रकट भयो । त्यो मानिसको हातमा निकै ठूलो माला थियो । उसले नजीकै आएर फाफुरालाई त्यो माला लगाइदियो र हाँस्दै भन्यो,
“स्वागत छ तपाईंलाई ।”
त्यो माला कति गह्रौं थियो भने लुरे ख्याउटे फाफुरा त्यसको बोझ खप्न नसकेर थचक्कै भुइँमा बस्यो । त्यो मानिस हाँस्यो र भन्यो,
“५१ किलोको माला हो । त्यसैले ।”
फाफुराले उसलाई सोध्यो,
“सबैभन्दा पहिले त कृपया मलाई म कहाँ आइपुगें बताइदिनुस् ।”
उसले मुस्काउँदै भन्यो,
“हेर्नुुस्, मान्छे कहाँ पुग्ने भन्ने कुरा उसको सवारीले निर्धारण गर्छ । माइक्रोबस चढे रत्नपार्क पुगिन्छ, डायनोसर चढे जुरासिक पार्क ।”
फाफुरालाई ती मानिसको कुरा बुझ्न गाह्रो भयो । उसले भन्यो,
“न त म माइक्रो चढेको थिएँ, न डायनोसर । त्यसैले म जुरासिक पार्क त अवश्य आइपुगेको होइन । रत्नपार्कमा त म सुतिरहेको थिएँ । यो कहाँ आइपुगें ।”
त्यो मानिसले गम्भीर प्रश्न तेर्स्यायो,
“सुत्नको लागि आँखा चिम्लनुपर्छ । आँखा चिम्लेपछि केही देखिन्न । निन्द्रा भनेको निष्क्रियता पनि हो । निदाएको मान्छे जहाँ पुग्न सक्छ, तपाईं पनि त्यहीं आइपुग्नुभएको छ ।”
फाफुरा उसको गाउँखाने कथाजस्ता कुराहरु सुनेर वाक्क भयो । उसले झर्किंदै भन्यो,
“मेरो सोझो प्रश्नको सोझो उत्तर दिन सक्नुहुन्न ? यो कुन ठाउँ हो ?”
यसपटक उसले सोझै उत्तर दियो,
“अन्धेर नगरी ।”
अनि पो फाफुराले किन घाम लागेर पनि अँध्यारो भएको रहेछ भन्ने बुझ्यो । अन्धेर नगरीमा त अँध्यारो हुने नै भयो । उसले त्यस मानिसलाई सोध्यो,
“अनि तपाईं चाहिँ को हो ?”
उसले फेरि सीधा र स्पष्ट उत्तर दियो,
“चौपट राजा ।”
ए..केटाकेटी हुँदा सुनेको ‘अँधेर नगरी–चौपट राजा’ भनेको त कथामात्र होइन रहेछ । साँच्चै पनि हुँदोरहेछ । फाफुराले फेरि प्रश्न ग¥यो,
“अनि मलाई किन यति गह्रौँ माला लगाइदिनुभएको त ?”
अँधेर नगरीको चौपट राजाले दंग पर्दै भन्यो,
“हामीले यहाँको पर्यटन विकास गर्न यसपटक भिजिट अन्धेर नगरी वर्ष मनाउने भएका छौंँ । त्यसअन्तर्गत तपाईँ पहिलो पर्यटकका रुपमा आइपुग्नु भएको छ । हाम्रो अन्धेर नगरीमा अतिथिको स्वागत गर्दा गह्रौँंभन्दा गह्रौँ माला लगाइदिने गौरवशाली परम्परा छ । हुन त यो भन्दा गह्रौँ माला पनि यहाँ प्रचलनमा छ । तर, तपाईंलाई यो भन्दा गह्रौँ माला पहिर्याइदियो भने हिजो खाएको कुराहरु समयभन्दा पहिले नै बाहिर निस्केलान् भनेर ५१ किलोको मात्र छानेका हूँ ।”
फाफुराले चौपट राजालाई धन्यवाद भन्यो । चौपट राजाले अलि पर राखेको एउटा मिनीट्रक तर्फ इङ्गित गर्दै भन्यो,
“अँधेर नगरीमा कसैको स्वागत गर्दा यस्तै वाहनमा राखेर घुमाउने चलन छ । आउनुस् अतिथिज्यू ! म तपाईंलाई नगर परिक्रमा गराउँछू ।”
उसले फाफुरालाई ससम्मान मिनीट्रकमा लगेर चढायो । उसले भन्यो,
“एक वर्षपछि फेरि आउनुभयो भने तपाईं मेट्रो रेल चढेर अँधेर नगरी घुम्न पाउनुहुन्छ । अहिलेलाई यसैमा काम चलाउनुहोला ।”
फाफुराले देख्यो कतै बालुवा बोक्दाबोक्दैको ट्रक उसलाई नगर परिक्रमा गराउन भनेर ल्याइएको रहेछ । चौपट राजा आफ्नो राजकीय सवारीमा अघि लागेर अँध्यारोमा हराइहाल्यो । ट्रकमा भएको उसको कर्मचारीले फाफुराको स्वागत गर्दै भन्यो,
“अँधेर नगरीको मेयरको स्वागत स्वीकार्नुस् अतिथिज्यू । म विदेशभ्रमणमा व्यस्त हुन्छु । कहिलेकहीँ यहीँ भएको बेला पनि म ‘मिस्टर इन्डिया मोड’मा हुन्छु । तपाई भाग्यमानी हुनुहँदो रहेछ । नत्र त यही नगरका बासिन्दाले समेत मलाई देख्ने सौभाग्य पाउँदैनन् ।”
फाफुराले त्यस्तो लोपोन्मुख प्रजातिको मानिसलाई भेट्न पाएकोमा आफूलाई अपार भाग्यमानी ठान्दै उसलाई नमस्कार गर्यो । मिनीट्रकको चालकको मात्र दसपटकको प्रयासमा त्यो चालु भयो । अनि सुरु भयो फाफुराको अँधर नगरी नगर परिक्रमा । मेयर फाफुरालाई अँधेर नगरीको बारे जानकारी दिन थाल्यो । उसले आफ्नो नगरीमा पुरातात्विक महत्वका निकै धेरै कुराहरु भएको कुरा सुनायो । प्राचीन कालदेखि नै संसारका अरु सहरहरुभन्दा अँधेर नगरी सम्पन्न भएको र वैज्ञानिक हिसाबले बसाइएको हुनाले वास्तुकला र निर्माणकलामा अँधेर नगरी सबैभन्दा अगाडि भएको कुरा बतायो । तर, फाफुराले ती सब चाहिँ देख्न सकेन । अँध्यारोले गर्दा अलि परको केही देख्न यसै पनि सम्भव थिएन । अलि नजिक चाहिँ असरल्ल फोहोरका डुङ्गुरहरु, भत्किएका बाटाघाटा, हिलो जमेका खाल्टाखुल्टी, धूवाँ र धूलोका कारण नाकमुख डम्म ढाकेर खोक्दै खकार्दै र थुक्दै हिँडिरहेका मानिसहरुमात्र उसले देख्यो ।
अलि पर गएपछि एउटा ठूलो चौर देखियो । त्यसमा झारहरु उम्रिएका थिए । बेवास्ता गरेको हुनाले कतैकतै त ती जंगलजस्ता भएका थिए । फाफुराले त्यतै देखाउँदै सोध्यो,
“त्यो जंगलमा बाघभालु लाग्छ होला हैन त मेयरसाब ?”
अँधेर नगरीको मेयरले एकछिन जिल्ल परेर फाफुरालाई हेर्यो अनि अट्टहास गरेर हाँस्यो,
“तपाईं बडो ठट्यौलो मानिस हुनुहुँदो रहेछ । त्यो कहाँ जंगल हुनु र ? त्यो त पोखरी हो । चानचुने होइन । ऐतिहासिक महत्वको पोखरी हो ।”
अब जिल्ल पर्ने पालो फाफुराको थियो । उसले सोध्यो,
“पोखरी हुन त पानी हुनुपर्छ हैन र ? त्यो कुन एंगलबाट पोखरी हो मेयरसाब ?”
मेयरसाबले सम्झाउने भावमा भने,
“केही समयअघि त्यो भत्किएकोले पुनर्निर्माण हुँदैछ । बीस तीस वर्षपछि आफ्ना छोरानाति लिएर फेरि घुम्न आउनुभयो भने मोटरबोट चढेर जलबिहार गर्न पाउनुहुन्छ । त्यति बेलासम्म हामी तयार पारिसक्छौँ ।”
“बीस तीस वर्ष किन र ?”
मेयर साबले गर्वले छाती फुलाउँदै भने,
“अँधेरी नगरीको आफ्नै गति छ । हामी कुनै पनि काम छिटो गर्नेमा विश्वास गर्दैनौं । किनभने हतारको काम लतार भन्ने तपाईंले सुनेकै हुनुपर्छ । यो पोखरीमात्र होइन अँधेर नगरीमा तपाईँले त्यस्ता बीसतीस वर्षे अरु धेरै पक्का आयोजनाहरु देख्न सक्नुहुन्छ ।”
दिनभरि मेयर साबले फाफुरालाई अँधेर नगरीको गौरवसँग परिचित गराए । साँझ पर्नेबेलासम्म फाफुरा प्रसन्न भइसकेको थियो । उसलाई कुनै टाइम मेसिनमा बसेर इतिहासमा तीन सय वर्षपछाडि फर्केको रोमाञ्च भएको थियो । साँझ अँधेर नगरीको चौपट राजाको दरवारमा रात्रिभोज थियो । त्यहाँ रातो मलमलले मोरिएको एउटा आगन्तुक पुस्तिका थियो । चौपट राजाले फाफुरालाई त्यसमा दुई शब्द लेखिदिन अनुरोध ग¥यो । केही बेर घोत्लिएर सोच्दै फाफुराले आफ्नो कागले विष्टा गरेजस्तो सुन्दर र कलात्मक अक्षरमा केही लेखिदियो । चौपट राजाले खुसी भएर चाँदीको करुवाबाट हत्केलामा पानी खन्यायो र कुनै मन्त्र पढ्दै फाफुराको मुखमा छर्किन थाल्यो ।
खुलेको आकाश अचानक कालोनीलो र डम्म भएर चुहिन थालेको रहेछ । रत्नपार्कमा फाफुराले मुख छोपेर सुतेको टोपी ऊ निदाएको बेला कसैले लिएर चम्पत भइसकेको रहेछ । वर्षाका छिटाहरु मुखमा परेको हुनाले फाफुरा ब्यूँझियो । अँधेर नगरी र चौपट राजाको बारे सोच्दै ऊ आफ्नो डेरातिर फर्कियो । उसले अँधेर नगरीको चौपट राजाको आगन्तुक पुस्तिकामा साँच्चै दुई नै शब्दमात्र लेखेको थियो,
‘अँध्यारो हटाउनुस् ।’