अहिले व्रत भन्नासाथ महिलाले गर्ने उपासना र उपवास भनेर बुझिन थालेको छ । हुन पनि धार्मिक कार्य र व्रत उपासनामा महिला नै अग्रसर हुने गरेको कथा किंवदन्ती र पुराणहरूमा समेत पाइन्छ । साउन महिनामा पनि शिवजीको आराधना, सोमबारको व्रत र महिलाको शृङ्गारलाई विशेष महत्त्व दिएके देखिन्छ । तर, आजकल कतिपय पुरुषले पनि व्रत बसेको सुनिन्छ । सामान्यतयः व्रत उपासनामा शाकाहारी र सात्विक खानपान, सरल, सहज आचरणमा रहने गरिन्छ । त्यसमा पनि साउन महिना मैसमका कारणा संक्रमण बढ्ने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने उपवासको विशेष महत्त्व हुन्छ ।
ऋतुअनुसार प्रकृतिमा परिवर्तन आएजस्तै मानिसको स्वभाव र रुचिमा पनि परिवर्तन आउँछ । किनभने मानिस पनि त प्रकृतिकै एक अंश हो । प्रकृति र प्रकृतिमा आउने परिवर्तनबाट मानिस निरपेक्ष रहन सक्तैन । हिन्दु परम्परामा पर्व र ऋतुहरूमा गरिने उपवास अनि उपासनाको गहिरो महत्त्व छ | ओशो भन्नुहुन्छ – “उपवास - नजिक बस्नु र उपासना-नजिक आसन लगाउनु हो ।“ जसको अर्थ हुन्छ हामीले मान्दै आएको भगवान, परमात्मा, शिवशक्ति, अस्तित्व, गुरु जे नाम लिएपनि उसको नजिक, उसको पासमा बस्नु र उसको आराधना गर्नु । अवश्यमेव त्यो परम शक्ति, परम कृपा, परम आशीर्वाद प्राप्त गर्न गरिने साधनाले हाम्रो जीवन ऊर्जामा सकारात्मक नतिजा ल्याउँछ ।
यो सकारात्मक ऊर्जा महिलालाई मात्र आवश्यक हो र ? अवश्य होइन, पुरुषलाई पनि आवश्यक छ । त्यसैले होला आजकल पुरुषहरु खुलेरै व्रत र उपासनाको बारेमा बताउने गर्छन् । त्यसमाथि अर्धनारीश्वर मानिने शिवको आराधनामा पुरुष सहभागिताले त्यत्तिकै महत्त्व राख्छ । मन्दिरमात्रै जाँदा पनि मानिसमा सकारात्मक सोचको विकास हुन्छ भने परम अस्तित्वको मर्म बुझेर उसको शक्तिको उपासना गर्दा पक्कै पनि भित्रैदेखि ऊर्जा प्राप्त हुन्छ । त्यही ऊर्जाले गर्दा मानिसलाई शान्त, आनन्द, मस्त र स्वस्थ राख्छ । जसरी आमा बच्चाको नजिक हुँदा बात्सल्य भाव पैदा हुन्छ र उनको सारा ध्यान बच्चामा हुन्छ । उनी बच्चा जस्तै बन्छिन्, सँगै लोरी गाउन थाल्छिन् ।
बोली पनि बच्चाको जस्तै निकाल्छिन्, हाउभाउ बच्चाको जस्तै हुन्छ | आफू पनि बच्चाजस्तै लोभ, मोह, रिस, रागनगरी, पूरै सकारात्मक र बात्सदल्य भावले मात्र भरिएकी हुन्छिन् । त्यसैगरी शिवशक्ति, अस्तित्वप्रति उपासना गर्दै ती शक्तिको नजिक बसेर गरिने आराधनाले पनि त्यस्तै सकारात्मक ऊर्जा प्राप्त हुन्छ | जहाँ सत्यम, शिवम्, सुन्दरम्को आभास हुन्छ त्यहाँ नै परमात्माको, अस्तित्वको अनुभूति हुन्छ । त्यसैले सत्यम, शिवम्, सुन्दरम् को आभास हुने गरी परमात्माको नजिक बस्नु उपवास हो । खुला हृदयले, प्रेमपूर्ण, त्यो अस्तित्वरूपी ऊर्जाको आगमनको प्रतीक्षा गर्नु, निमन्त्रणा गर्नु र परम चेतनाको उपस्थितिको लागि हृदयको ढोका खुला राखेर प्रतीक्षा गर्नु व्रत र उपवास हो जो पुरुष स्वभावले पनि महसुस गरेका हुन्छन् ।
हामीले उपवासको अर्थ अन्न नखाई भोको बस्नु भनेर बुझेका छौं । तर, त्यतिमात्र नभई परम ऊर्जाको नजिक हुनु, त्यो ऊर्जा आफूले पनि प्राप्त गर्नु र जीवन ऊर्जालाई सकारात्मक भावले फैलाउनु भन्ने अर्थ र संदेश उपवासले प्रदान गर्न खोजेको हो । यस्ता उपवास र उपासनामा कुनै चेष्टा तथा प्रयास हुँदैन । परम ऊर्जा समर्पण र निष्क्रियतामा मात्र अनुभूति गर्न सकिन्छ | जसरी सबै कर्मबाट थकित भएर निष्क्रिय हुँदा हामीलाई निद्राको अनुभूति हुन्छ र मस्तसँग निदाउन सकिन्छ त्यसरी नै परम शक्ति र शान्तिको अनुभूति प्राप्त गर्न निष्क्रिय र अक्रियामा रहनुपर्छ । परमात्मा हामी छेउ आउन आफैँ आतुर छ त्यसको लागि प्रयास होइन उपवास चाहिन्छ । उसप्रतिको भक्ति, साधना र प्रतीक्षा गर्न सक्ने धैर्य चाहिन्छ । धैर्य महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ । त्यसैले पुरुष पनि आस्था, व्रत, उपासना र खानपान बारे सचेत हुन्छन् । बरु पुरुषहरु यसलाई हल्लाखल्ला नगरी मौन अभ्यास गर्छन् ।
सजिलो छ परमात्माको उपासना गर्न । सात्विक भोजन ग्रहण गर्ने, शान्त बस्ने , धैर्यपूर्वक प्रतीक्षा गर्ने र उसको स्मरणमा डुब्दा परम ऊर्जा प्राप्त हुन्छ । उसको स्मरणमा डुब्ने एकमात्र कला मौन अर्थात् ध्यान हो। बिनाकोलाहल, बिनाहिसाबकिताब र बिनातर्क परम तत्त्वको अनुभूति प्राप्त गर्न सकिन्छ । उपवास र उपासना कुनै क्रिया होइन । सबै कुरा परमात्मालाई समर्पण गरेर आफू शान्त उसको प्रतीक्षामा रहनु उपवास हो । मन्दिर जानुमा कुनै आपत्ति छैन तर भित्रको आफ्नो ऊर्जाको पहिचान गरी परम तत्त्वको अनुभूति गर्नु नै उपवासको फल हो । बाहिरी पूजाअर्चना र भजन व्रत, उपवास हैन । आफ्नो अन्तर्तमको आवाज सुन्नु, उसको इसारा बुझ्नु र सत्कर्म र प्रेमपूर्ण कर्ममा लाग्नु उपवास र उपासना हो ।
असत्य, हिंसा, कुकर्मबाट सुमार्गमा ल्याउने उपाय प्रेम, साधना र सकारात्मकता हो । मनका विकार त्यागी, आफूभित्र भएको पशुत्वको बलिदान गरी प्रेमपूर्ण र करुणावान् बन्ने संदेश शिव भगवानको हो । उपवास र उपासना हाम्रा धर्म र गुण हुन् । सही अर्थमा जीवन रुपान्तरण हुनेगरी उपवास र उपासनालाई अपनाउन सक्नु मुख्य कुरा हो ।
यसको लागि ध्यान एकमात्र माध्यम हो । ध्यानले सबै विकाररुपी पर्दा उघार्नमा मद्दत गर्छ अनिमात्र आफ्नो स्वभावरूपी घरभित्र प्रवेश गर्न सहज हुन्छ । भगवान शिवको वास्तविक भक्ति त्यतिबेला हुन्छ जब उनले प्रस्तुत गरेका १०८ ध्यान विधिमध्ये कुनै एकलाई आफ्नो जीवनको सहारा बनाउन सकिन्छ । जब मानिस ध्यानमग्न हुन्छ तब जागृत हुन्छ । जब जागृत हुन्छ तबमात्र आफ्नो स्वास्थ्य, आचरण, व्यवहार र खानपानबारे सजग हुन्छ । के महिला, के पुरुष सबैमा यस्ते सजगता जरुरी छ ।