साहित्य
फरक शैलीको गीत र ट्रेलर सार्वजनिक भएपछि चर्चामा आएको सिनेमा हो ‘गाँठो’ । यही भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाँठो’ पेन्टिङलाई माध्यम बनाएर युवायुवतीको त्रिपक्षीय सम्बन्धलाई देखाउन खोजिएको सिनेमा हो । तीन जनाको समानान्तर रोल रहेको ‘गाँठो’ मा नाजिर हुसेन र अभय बराल सँगै नायिकाको भूमिकामा छिन् नम्रता श्रेष्ठ । श्रेष्ठको यो ‘डेब्यु’ चलचित्र हो । ‘गाँठो’को प्रमोसनका लागि वीरगन्ज पुगेकी श्रेष्ठसँग पहिलो चलचित्र गर्दाको अनुभवसँगै समग्र नेपाली चलचित्रका विषयमा केन्द्रित रहेर बाह्रखरीले गरेको टेलिफोन संवादः
‘गाँठो’ फुकाउने दिन कहिले हो ?
अब आठ दिन बाँकी होला । भदौ ३१ गतेबाट रिलिज हुँदैछ ।
केको गाँठो हो यो चलचित्र ?
‘गाँठो’ भन्नेबित्तिकै नपाली ठेट शब्द हो । सिनेमामा चाहिँ सम्बन्धको ‘गाँठो’ छ । नाजिर हुसेन, र अभय बराल र म छौं । हामी तीन जनाबीच केकस्तो सम्बन्ध छ, त्यही सम्बन्धको आधारमा सिनेमाको नाम नै ‘गाँठो’ राखिएको हो ।
‘गाँठो’ले तपाईंको करियर झन् गाँठो त पार्ने होइन ?
‘गाँठो’ले मेरो करियर बनाउँछ नै जस्तो लाग्छ । पहिलो सिनेमा नै राम्रो निर्देशक, राम्रो कलाकारहरूसँग गर्न पाएँ । धेरै कुरा सिक्न पाएँ । त्यसैले पनि मेरो भविष्यको लागि पनि यसले गाँठो फुकाउँछ नै जस्तो लाग्छ ।
‘गाँठो’मा तपाईं कस्तो भूमिकामा हुनुहुन्छ ?
म साइकोलोजिकल स्टुडेन्ट हुन्छु । भर्खरै ब्याचलर सकेर रिसर्च गरेर थेसिस लेख्दै हुन्छु । साइकोलोजीको विद्यार्थी भएकाले मैले थेसिस पनि त्यसैसँग सम्बन्धित विषयमा गर्नुपर्ने हुन्छ । त्यसैक्रममा मैले एउटा पेन्टिङ देख्छु । त्यो पेन्टिङ कसरी बन्यो भन्ने विषयमा साइकोलोजीको अध्ययन गर्ने भूमिकामा छु म ।
सम्बन्धको गाँठो कसिन्छ कि फुक्छ त ?
अहिलेसम्म त कसिएकै छ । भदौ ११ गतेपछि दर्शकले हेरेपछि दर्शकसँगको सम्बन्ध कसिन्छ कि फुक्छ त्योचाहिँ हेर्न बाँकी नै छ ।
के लागिरहेको छ ? फुक्छ कि कसिन्छ ?
मलाई त फुक्छ नै जस्तो नै लागिरहेको छ । हाम्रो होल युनिटले राम्रो काम गरेको छ । मलाई लाग्दैन, कुनै पनि नेपाली चलचित्र रिसर्च गरेर बन्छन् । तर, यो रिसर्च गरेर निर्माण गरिएको चलचित्र हो । मैले शतप्रतिशत दिएकी छु । मलाई लाग्छ, चलचित्र दर्शकले मन पराइदिनुहुन्छ ।
तपाईंको यो पहिलो चलचित्र हो क्यारे । कसरी छनोट हुनुभएको थियो ?
पछिल्लो समय नयाँ कलाकार लिनुपरे अडिसन लिने प्रचलनजस्तै बनेको छ । मभन्दा पहिला अरुले पनि अडिसन दिनुभएको रहेछ । निर्देशक सुरज भुसाल दाइले मेरो म्युजिक भिडियो र फोटो हेर्नुभएको रहेछ । एक्सप्रेसन ठिक छ, एक पटक अभिनय हेरौं भनेर बोलाउनुभयो । पछि अडिसन दिएका मध्ये म नै छनोट भएँ । यसअघि पनि दुईवटा सिनेमाका लागि अफर आएको थियो । तर, मेरो समय भएको छैन भनेर मैले रिजेक्ट गरेको थिएँ । पछि मोडलिङ गर्दै जाँदा केही सिकें पनि । बच्चैदेखिको इच्छा थियो, दाइले यही बेला बोलाउनुभयो । त्यसैले यसमा काम गरें ।
अझै पनि नेपाली अभिभावकले आफ्नो सन्तान सिनेमामा काम नगरोस् भन्ने नै चाहन्छन् । त्यसमा पनि छोरीलई त लगभग जानै दिँदैनन् । तपाईंको परिवारले सहजै अनुमति दियो ?
अहिले पहिला जस्तो छैन । समाज उदार बन्दै गएको छ । मेरो परिवारले मलाई साथ दियो । ‘म सिनेमामा अभिनय गर्छु है मामु’ भन्दा मेरो ममी ‘हो र ?’ भनेर उत्सुक हुनुभएको थियो । ममीबुबा ‘तिम्रो सिनेमा कहिले लाग्छ ?’ भनेर सोधिरहनुहुन्छ । सधैं सहयोग नै भयो । मेरो मामु मेरोबारे एकदम चासो राख्ने मान्छे, मैले के गर्छु भनेर सोधिरहने । उहाँले ‘हुन्छ, गर’ भनेपछि मलाई अप्ठ्यारो हुने त कुरै भएन । मभन्दा उहाँ बढी ‘एक्साइटेड’ हुनुहुन्छ ।
मोडलिङबाट सिनेमामा प्रवेश गर्नुभयो । अब मोडलिङ नगर्ने हो ?
अब र्याम्प शोचाहिँ गर्दिनँ । एड र राम्रा म्युजिक भिडियो त गर्छु । राम्रो आयो भने त किन नगर्नु, होइन र ? तर, अब चलचित्रमा नै फोकस हुन्छु ।
चलचित्र भनेको के रहेछ ?
तपार्ईंहाम्रो समग्र जीवन नै चलचित्र हो । सबैको सबै पक्ष समावेश गरिएको हुन्छ । मेरो कुरा तपाईं र तपाईंको कुरा मलाई थाहा नभइरहेको पनि हुनसक्छ । यी सबै पक्षलाई चलचित्रमा समेटिन्छ र आम दर्शकसामु एकैपटक पुग्छ । यही नै हो चलचित्र ।
नेपाली सिने उद्योग महिलामैत्री छैन, नयाँ हिरोइनलाई ‘डेब्यु’ गर्न सहज छैन भन्छन् नि ?
मैले पनि सुरुमा त्यस्तै सोचेकी थिएँ । पहिला मलाई अफर आउँला ‘ला.. मलाई पनि डिरेक्टर वा प्रोड्युसरले यस्तै सोचेर बोलाएको हो कि’ भन्ने लाग्थ्यो । तर, मैले राम्रो टिमसँग काम गर्ने अवसर पाएँ । मेरा लागि यो सौभाग्य पनि हो । एक–दुई जना मान्छेले गर्दा समग्र सिने उद्योग नै बदनाम भइरहेको छ । सबै व्यक्ति खराब सोच र प्रवृत्तिका हुँदैनन् । मैलेचाहिँ अलिकति पनि फिल गरिनँ बाहिर भनेजस्तो । अहिलेसम्म फिल गरेको पनि छैन र गर्नु पनि नपरोस् ।
सिने जगत्का फाइदा र बेफाइदा चाहिँ के–के रहेछन् ?
युनिटमा काम हुन्छ । नयाँ कलाकारले पनि पुरानासँग सिक्ने अवसर पाउँछन् । करियर बनाउन अग्रजहरुबाट सहयोग मिल्छ । मैले पनि अरुबाट सिक्ने अवसर पाएँ ।
नराम्रो पक्षचाहिँ परिवारलाई समय दिन सकिँदो रहेनछ । सिनेमा रिलिज हुने महिनौंअघिदेखि घरमा बस्न पाइँदैन । म घर नबसेको १५ दिन हुन लाग्यो ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७३ १४:२१
प्रतिक्रिया दिनुहोस्