साहित्य
काठमाडौं । वान सट मुभी ‘जालो’ र ‘जालो रिटन्र्स’ कात्तिक एक गतेबाट छायांकनका लागि वर्कसपमा जाने भएको छ । एकै सटमा खिचेर विश्व रेकर्ड कायम गर्न निर्माणको घोषणा गरिएको ‘जालो’ र ‘जालो रिटन्र्स’ कात्तिक एक गतेबाट वर्कसपमा जाने अन्तिम तयारी भइरहेको चलचित्रका निर्देशक तथा गायक अराज केशवले बताए ।
“कात्तिक एक गतेबाट रिहर्सलनमा जान्छौं । करिब एक महिना रिहर्सल गरेपछि सुटिङको समय तोक्छौं,” निर्देशकले भने, “अहिले गीतको काम भइरहेको छ ।” उनका अनुसार गीत रेकर्डिङको काम सकेर मिक्सिङ गर्ने काम चलिरहेको छ ।
‘जालो’ र ‘जालो रिटन्र्स’मा ५ वटा गीत समावेश हुनेछन्, जसमा सुगम पोखरेल, मोहित मुनाल, अराज केशव, प्रमोद खरेल र सुनिता थेगिमको स्वर रहनेछ । वासुदेव मुनाल, मोहित मुनाल अराज केशव, भूपेन्द्र खड्काको शब्द र मोहित र हरि लम्सालको संगीत रहनेछ । चलचित्रमा भने मोहित मुनालले संगीत गर्नेछन् । चलचित्रमा वासुदेव मुनालको ‘बाउबाजेको पालाको’ गीत पनि समावेश हुने संगीतकार मोहित मुनालले जानकारी दिए ।
गीत तयार भएपछि भदौको अन्तिममा लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरिने मुनालले बताए । चलचित्रमा समावेश हुने डान्सका लागि डान्स ग्रुपहरुलाई आफ्नो प्रस्तुति डमीमार्फत पठाउन सार्वजनिक आह्वान गर्ने तयारी गरिरहेको निर्देशक अराज केशवले जानकारी दिए । “डमीमार्फत आएको डान्स गु्रपमा सबैभन्दा राम्रो कसको हुन्छ, त्यही ग्रुपलाई हामी छान्छौं र वर्कसपमा सहभागी गराउछौं,” उनले भने ।
चलचित्रको छायांकन हरि घले लामाले गर्नेछन् । ‘बितेका पल’ ‘रातो घर’, ‘फन्को’ घलेले छायांकन गरेका चलचित्र हुन् ।
अराज केशव र मोहितले ‘जालो’ र ‘जालो रिटन्र्स’ दुवै चलचित्र एकै सटमा खिचेर गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयासस्वरुप यी दुई चलचित्र निर्माणको तयारी थालेका हुन् ।
निर्देशक अराज केशवका अनुसार दुवटै चलचित्र एकै सटमा खिचिनेछ । “हामीसँग ५५ जना कलाकार छन् । उनीहरू अभिनय गर्दै जान्छन्, हामी त्यसलाई खिच्दै जान्छौं । ‘जालो’ सकिन्छ तर क्यामेरा अफ हुँदैन । सँगै ‘जालो रिटन्र्स’ सुरु हुन्छ र त्यो त्यही सटमा सकिन्छ । क्यामेरा अफ हुन्छ । कुनै दृश्य पनि दोहोर्याएर खिच्ने अवसर हुनेछैन । मोसनको काममात्रै हुन्छ । साउन्डको कम भने हुन्छ,” निर्देशक अराजकेशवले भने, “हाम्रो चलचित्रमा मध्यान्तर पनि हुन्छ । तर, त्यहाँ ग्याप हुँदैन । बे्रकमात्र लेखिएको हुनेछ । चलचित्र सुरु भइहाल्छ । तर, हामी दर्शकदाई बोरिङ फिल हुन दिनेछैनौं । चलचित्र पूरै व्यावसायिक हुन्छ । नर्मल चलचित्रलाई भन्दा पनि धेरै बजेट लाग्नेछ ।”
‘जालो’ प्रदर्शन भएको छ महिनापछि ‘जालो रिटन्र्स’ प्रदर्शन गरिने छ ।
एकै सटमा सकिने चलचित्रलाई अरु चलचित्रभन्दा धेरै कसरी बजेट लाग्छ भन्ने जिज्ञासामा मोहित भन्छन्,“ हामीले सुरुमा गरेको प्लानिङ पनि यही हो । यसमा कलाकारको संख्या पनि निकै धेरै हुनेछ । चलचित्र सुरु हुनुभन्दा पनि पहिले हामी सबै कलाकार क्लोज क्याम्पमा बस्नेछौं । यसले पनि खर्च बढाउँछ । हाम्रो चलचित्र ‘अब्जर्भ’ गर्न गिनिज बुक अफ दि वल्र्ड रेकर्डस्को टोली आउँछ । उसको खर्च पनि हामीले नै बेहोर्नुपर्छ । सुरुमा मलाई पनि दुई दिनका लागि क्यामेरा भाडामा लिउँला, दुई दिनका लागि प्राविधिक भाडामा लिउँला, खर्च नै धेरै लाग्दैन भन्ने लागेको थियो । तर, ठिक्क उल्टो भयो ।”
मोहितका अनुसार चलचित्रको कथावस्तु ‘फ्ल्यासब्याक’, रहस्य, द्वन्द्व, गीत र नृत्य आदि सबै समावेश हुनेछ ।
यस्तो खालको चलचित्र बनाउने सोच कसरी आयो भन्ने प्रश्नमा अराज केशवले भने, “ पहिलो, हाम्रो सात वर्षअघिको योजना हो । दोस्रो, हामीले नेपालबाट विश्वकै वान सट मुभी बनाउँदैछौं । तेस्रो, यो चलचित्र युट्युबमा राख्नेबित्तिकै विश्वले सर्च गर्छ । नेपाली चलचित्र भनेर थाहा पाउँछ । कलिउडको प्रमोसन पनि हुन्छ । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता भएपछि यसै पनि नेपाली चलचित्रका लागि राम्रो नै हुन्छ ।”
५५ जना कलाकारले अभिनय गर्ने चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, वर्षा सिवाकोटी, प्रकाश, विजय लामा, श्रेष्ठ, मुक्ताराम आचार्य, लक्ष्मी बर्देवा, भीष्म जोशी लगायतले अभिनय गर्नेछन् ।
चलचित्र छायांकनको मिति तोकिएपछि ‘जालो’को निर्माण युनिटले गिनिज बुकलाई खबर गर्नेछ । चलचित्र छायांकनको लोकेसन काठमाडौं नै छानिएको छ । चलचित्र यही वर्ष रिलिज गर्ने मोहितले बताए । चलचित्रको निर्माता मोहित मुनाल हुन् भने कार्यकारी निर्माता धनी गिरी रहेको चलचित्रमा कथा लेखन तथा निर्देशन अराज केशवले गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३ १३:४९
प्रतिक्रिया दिनुहोस्