
काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् ।
आइतबार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबीच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमई खल्तीका चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उनीहरूको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको हो । स्पोर्ट्स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ ।
मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुसी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन् । उनले भनिन्, “स्पोर्ट्स अवार्डमा मनोनीत हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरूले मलाई माया गर्नुहुनेछ ।”
यसैगरी विजयले उसु खेल अन्य खेल जस्तै लोकप्रिय नभए पनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले भने, “स्पोर्ट्स अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थेँ कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना पूरा भएको छ ।”
आइतबार पत्रकार सम्मेलनमा पूजा, इभाना र हिमाल उपस्थित हुन सकेनन् । पूजा क्रिकेट प्रशिक्षणको क्रममा भारतमा छिन् । यसैगरी इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् ।
पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमई खल्तीमा प्राप्त मतका आधारमा हुनेछ । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमई खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ ।
यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । यो विधाका विजेताले पल्सर मोेटरसाइकल जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कुल १० विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपल्स च्वाइसलगायत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । पल्सर स्पोर्टस् अवार्ड २०८१ भदौ २९ गते पोखरामा हुँदै छ ।
सो अवसरमा गौतमले यसपालिको स्पोर्ट्स अवार्ड पोखरामा हुनुमात्र होइन खल्तीसँगको सम्झौता अर्को फरकपन रहेको बताए । कमर्सियल अफिसर गौतमले आइएमई खल्तीले स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका तथा विजेता सबै खेलाडी तथा खेलकर्मीहरूलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी पनि दिए ।
यसैगरी मञ्चका अध्यक्ष अधिकारीले यस सम्झौताले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लैजाने विश्वास लिएका छन् । उनले आइएमई खल्ती परिवारप्रति धन्यवाद दिँदै खल्तीले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरे ।
यसअघि मञ्चले डिजिटल पार्टनरको रूपमा ई–सेवासँग लगातार ६ वर्ष सहकार्य गरेको थियो । अध्यक्ष अधिकारीले सो सहकार्यका लागि ई–सेवालाई धन्यवाद पनि दिए ।
यस अवार्डकै लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७औँ वर्ष सहकार्य गरिसकेको छ । यसैगरी मञ्चले अवार्ड कार्यक्रमको प्रवर्द्धकको रूपमा रहेको पोखरा महानगरपालिकासँग पनि सम्झौता गरिसकेको छ ।