
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । आइतबार (साउन १) दिउँसो शीतलनिवासमा पुगेर उनले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
“सो अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भयो,” भेटपछि राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालको दुईदिने भ्रमणको सिलसिलामा मिश्री आइतबारै बिहान काठमाडौं आएका हुन् ।
मिश्रीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका निम्ति उनी नेपाल आएका हुन् ।
उनले आज नै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतीय विदेशसचिव मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसकेन्द्रित राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
आइतबार साँझ मिश्री होटेल सोल्टीमा आयोजना गरिने नेपाल–भारत सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव अमृतबहादुर राईले गर्नेछन् । सोमबार (भदौ २) उनी स्वदेश फर्कने कार्यक्रम छ ।