
काठमाडौं । डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि युक्रेनमा युद्धविरामभन्दा पनि सीधै स्थायी शान्ति सम्झौता गर्न आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले आफ्नो अडान परिवर्तन गर्दै शुक्रबारको शिखर सम्मेलनपछि सामाजिक संजाल ट्रुथ सोसलमा लेख्दै युद्धविराम नटिक्ने भएकाले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता उत्तम हुने बताएका छन् ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सोमबार वासिङ्टनमा स्वागत गर्दै छन् । उनलाई शान्ति सम्झौता गर्न आग्रह गरिनेछ ।
शिखर सम्मेलनपछि ट्रम्पसँगको फोन कलपछि जेलेन्स्कीले वास्तविक र स्थायी शान्तिको माग गरेका छन् । साथै, उनले युद्धको आगो रोकिनुपर्ने र हत्याहरू बन्द हुनुपर्ने बताएका छन् ।
ट्रम्पका टिप्पणीहरूले युद्ध समाप्त गर्ने तरिकामा उनको स्थितिमा नाटकीय परिवर्तन देखाएको बीबीसीले जनाएको छ । शुक्रबार भएको शिखर सम्मेलनअघि उनले युद्धविराम चाहेको बताएका थिए । तर, युक्रेनको मुख्य माग दीर्घकालीन सम्झौताबारे वार्ताअघि युद्धविराम रहेको छ ।
ट्रम्पले युरोपेली नेताहरूलाई यसअघि शिखर सम्मेलनको लक्ष्य युद्धविराम सम्झौता प्राप्त गर्नु रहेको बताएका थिए ।
यसैबीच, पुटिनले ट्रम्पलाई शान्ति प्रस्ताव प्रस्तुत गरेको बताइएको छ, जसमा युक्रेनले डोनेत्स्क क्षेत्रबाट फिर्ता हुनुपर्ने र यसको बदलामा रूसले जापोरिजिया र खर्सनमा फ्रन्ट लाइनहरू फ्रिज गर्ने उल्लेख छ ।
रूसले २०१४ मा युक्रेनबाट क्रिमियालाई अवैध रूपमा कब्जा गरेको थियो । त्यसको आठ वर्षपछि पूर्ण आक्रमण गरेको थियो ।
यसले डोनबासलाई रूसी क्षेत्र दाबी गर्छ । र, लुहान्स्कको अधिकांश भाग र डोनेत्स्कको करिब ७० प्रतिशत नियन्त्रण गर्छ ।
ट्रम्पले यसअघि कुनै पनि शान्ति सम्झौतामा भूमिहरूको साटासाट गर्ने योजना समावेश हुने बताएका थिए । शिखर सम्मेलनपछिको फोन कलमा यो प्रस्ताव जेलेन्स्कीलाई गरिएको बताइएको छ ।
केही दिनअघि मात्र युक्रेनका राष्ट्रपतिले डोनबास क्षेत्रमाथिको नियन्त्रण छोड्न अस्वीकार गरेका थिए । जसमा लुहान्स्क र डोनेत्स्क क्षेत्रहरू छन् ।
ट्रम्पले शिखर सम्मेलनपछि युरोपेली नेताहरूसँगको फोनकलमा पुटिनले केही छुट दिने बताएको तर थप विवरण स्पष्ट नगरेको समाचारमा उल्लेख छ ।
शुक्रबारको शिखर सम्मेलनपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पलाई युक्रेनी नेताका लागि के सुझाव छ भनेर प्रश्न गर्दा उनले सम्झौता गर भनेका थिए । उनले भने, “रुस एक महाशक्ति देश हो । तर, युक्रेनीहरू उनीहरू होइनन् ।” बीबीसी