
काठमाडौं । कथा र उपन्यास विधामा कलम चलाउँदै आएकी साहित्यकार उमा सुवेदीको नयाँ पुस्तक ‘परिधि’ सार्वजनिक गरिएको छ ।
शनिबार (साउन ३१) काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेत्री गौरी मल्ल, निबन्धकार कुमारी लामा, लेखक केशव दाहाल, कृतिकार सुवेदीसहितले उपन्यास सार्वजनिक गरे ।
कार्यक्रममा अभिनेत्री मल्लले ‘परिधि’भित्र तिलस्मी संसार सिर्जना गरिएको बताइन् । साहित्यकार दाहालले उपन्यासकारले विभिन्न पात्रका माध्यमबाट कल्पनाको विचित्र संसार स्थापना गर्न खोजेको बताए ।
निबन्धकार लामाले सुवेदीको उपन्यासले विषयवस्तुको उठान गहिरोसँग गरेको बताइन् । पारम्परिक कथा लेखनीभन्दा फरक प्रयोगवादी ढंगले उपन्यास ल्याइएको उनले उल्लेख गरिन् ।
कृतिकार सुवेदीले आफ्नो लेखन अनुभूति सुनाइन् । उपन्यास सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।