
प्रसूतिगृहको बेडमा छोरीलाई काखमा लिएर आँसु पुछ्दै टोलाइरहेको बेला चार पिस पाउरोटी र अलिकति हलुवा बोकेर आशाराम अँध्यारो मुख बनाएर बिस्तारै म नजिक आइपुगे ।
लोग्नेको अँध्यारो अनुहार देखेर मेरो भोक हरायो । आशारामले ‘खाऊ गंगा, तिमीलाई भोक लाग्यो होला !’ भन्दै अगाडि भने, ‘मलाई माफ गर, म आउन ढिलो भयो । पैसा खोज्न हिँडेको, कसैले पत्याएनन् । के गर्ने होला ?’ आशारामले ढिलो भएकोमा स्पष्टीकरण दिन थाले ।
लोग्नेको कुरा सुनेर मेरा आँखा रसाएर आए । सुत्केरी भएको आज तीन दिन भइसकेको छ । दुई गाँस तातो भात पनि खान पाएकी छैन । पेटभरि तात्तातो दालभातमा अलिकति घ्यु हालेर पेटभरि खाने रहर लागेको छ । तर...
मैले आशारामको मुख हेरेँ अनि बिस्तारै भनेँ, ‘भोलिसम्ममा अस्पतालको पैसा पनि तिर्नुपर्छ । आजै डिस्चार्ज गर्ने भनेका थिए, भोलि गर्नुस् न डिस्चार्ज भनेर थमाएकी छु । के गर्ने होला ?’
मेरो कुरा सुनेर आशाराम झोक्य्राएर चुपचाप बसिरहे । एकछिनको मौनतापछि आशारामले हलुवा पाउरोटी खानलाई फकाउँदै मायालु पाराले मेरो निधार छामे । अनि, कपाल सुम्सुम्याउँदै भने, ‘गंगा, तिमी चिन्ता नलेऊ । म भोलि जसरी पनि पैसा जुटाउँछु । तिमी यसरी टुट्नु हुँदैन । मेरो भरोसा, साहस भनेकै तिमी हौ । ल, तिमी हलुवा पाउरोटी खाऊ ।’
उनले फेरि भने, ‘माइल दिदीकहाँ छोरीलाई बिहान छोडी आएको थिएँ । म छोरी लिन जानुपर्छ, गएँ है ।’ उनी बाहिर निस्किए ।
उनी बाहिर गइसकेपछि मेरो विगत सिनेमाका रिलजस्तै आँखाअगाडि घुम्न थाले ।
म चार वर्षकी हुँदा आमाले अर्कैसँग बिहे गरेर दुईजना नाबालक बच्चाहरू दाजु र मलाई घरमै छोडेर हिँड्नुभयो ।
बा दिउँसैदेखि रक्सी खाएर, मात्तिएर ढलमल गर्दै हिँड्नुहुन्थ्यो । म र छ वर्ष भइसकेका दाजु मिलेर घरमा भएका खानेकुरा बाँडीचुँडी खान्थ्यौँ ।
कहिलेकाहीँ घरमा केही हुँदैनथ्यो । त्यस्तोमा भोकै पनि सुत्दथ्यौँ हामी । बासँग खाना माग्न डर लाग्थ्यो । किनभने, बा सधँै रक्सीले मात्तिनुहुन्थ्यो ।
घरमा कहिलेकाहीँ फुपू आउनुहुन्थ्यो । उहाँ हाम्री आमालाई सराप्दै हाम्रो लुगाफाटो धोइदिने, नुहाइदिने र कपाल कोरिदिने गर्नुहुन्थ्यो ।
फुपू आएको दिन भने तातो दालभात खान पाउँथ्यौँ हामी दुवै दाजुबहिनी । त्यसपछि भान्साकोठा र सुत्नेकोठा सफासुग्घर गरेर बढारकुँढार गरिदिनुहुन्थ्यो फुपूले । हामीलाई फुपू खुबै मन पर्थ्यो ।
एक दिन बाले नयाँ आमा घरमा लिएर आउनुभयो । अनि, दाइ र मलाई बोलाएर भन्नुभयो, ‘ल, तिमीहरूका लागि नयाँ आमा लिएर आएको छु ।’
मैले बिस्तारै दाइको कानमा गएर भनेँ, ‘हाम्रो आमा होइन हगि !’
यत्तिकैमा दाइले चोरऔँला मुखमा राखेर मलाई चुप लाग्न भने । म चुप लागेँ । किनभने, बासँग हामीलाई असाध्यै डर लाग्थ्यो ।
भोलिपल्टदेखि खाना पकाउन थाल्नुभयो सानीआमाले । दाइ र म मिलेर घर सफा गर्ने, पानी ल्याउने, भाँडा माझ्ने सबै काम गर्दथ्यौँ । तर, पेटभरि भात खानचाहिँ फुपू नै घरमा आउनुपर्दथ्यो । फुपू आएको दिन हामीलाई पहिलेजस्तै नुहाइदिने, हाम्रो लुगा धोइदिने गर्नुहुन्थ्यो ।
एक दिन फुपूले हामी दाजुबहिनी दुवैजनालाई स्कुलमा भर्ना गरिदेऊ भनेर बालाई भन्नुभयो । तर, बा मान्नु भएन । छिमेकी साथीहरु स्कुल गएको हामीले टुलुटुलु हेरेर बसिरह्यौँ ।
दिन बित्दै गयो । कालान्तरमा सानीआमाले भाइ जन्माउनुभयो । सानीआमा सुत्केरी भएपछि हाम्रो काम झनै धेरै बढेर गयो । भाइका थाङ्नाहरू, फोहोर लुगाहरू धुने, सुत्केरी सानीआमालाई दिनको तीनचारखेप खाना बनाएर ख्वाउने, भाँडाहरू माझ्ने, पानी बोक्ने र घर सफा गर्ने सारा काम हामीले गर्नुपर्दथ्यो ।
भाइ जन्मिएको दुई वर्ष नबित्दै अर्को पनि भाइ जन्मियो । हामी दुई दाजुबहिनीलाई कामको बोझ झन्झन् बढेर गयो । खानेकुरा भने बाआमाले खाएर बाँकी रहेमा मात्र खान पाइन्थ्यो ।
हामीलाई हरेक दिन बाले बिहान झिसमिसेमै उठाइदिनुहुन्थ्यो ।
एक दिन राति दाइले मलाई ‘म घर छोडेर जान्छु, तिमी नरुनु है, भोलिपर्सि तिमीलाई लिन आउँछु’ भने ।
नभन्दै भोलिपल्ट बिहान दाइ ओछ्यानमा थिएनन् । बाले गएर खोज्नुभयो । बोलाउनुभयो । तर, दाइ कतै फेला परेनन् । दाइ घर छोडेर भागिसकेका थिए ।
अब मलाई झन् गाह्रो भयो । दुईजना मिलेर गर्ने काम एक्लैले गर्नुपर्ने भयो । आज भन्दै भोलि भन्दै सानीआमाले चारजना भाइबहिनी जन्माउनुभयो, दुईदुई वर्षको अन्तरालमा । घरका सारा कामदेखि चारजना भाइबहिनी स्याहार्ने कामको चटारोमै मेरो दिन बित्दै गयो ।
एक दिन छिमेकी आमाले बोलाएर मलाई सोध्नुभयो, ‘हेर गंगा, तिम्रा दुःख हामीले हेर्न सकेनौँ, त्यसैले मैले एउटा कुरा भन्छु, तिमी मान्छौँ ?’
‘हुन्छ, मान्छु । तर, के कुरा होला ?’ भनेर सोधेँ ।
उहाँले भन्नुभयो, ‘तिम्रा बा र सानीआमाले मान्दैनन्, त्यसैले तिमीलाई नै सोझै भनेकी हुँ । मैले चिनेको एउटा केटा छ । साह्रै सज्जन छ । धनी त छैन, तर साह्रै असल छ । एउटा सानो घर पनि छ । परिवार छैन । साहुको पसलमा सामान बेच्ने काम गर्छ । तिमीले ऊसँग बिहे गर्यौ भने अहिलेजस्तो दुःख हुँदैन । दुईजना मिलिजुली भेटेको काम गर्दै घरजम गरेर बस्न सक्छौ । केटो जाँडरक्सी खाँदैन । सोच । अहिले जवाफ दिनु पर्दैन । तर, तिम्रा बाआमालाई थाहा हुनु हुँदैन है । नभए उनीहरूले तिमीलाई पठाउँदैनन् ।’
यतिखेर मेरो उमेर यस्तै १७ वर्षको थियो होला । म सोच्न थालेँ ।
छिमेकी आमाले फेरि कुरा अगाडि बढाउनुभयो, ‘तिमीलाई हुन्छ जस्तो लाग्छ भने भोलि भन्न आउनू, म तिमीलाई त्यो केटा चिनाइदिन्छु । विचार गर है ।’
त्यो रात मलाई निद्रा लागेन । रातभरि नै सोचेँ— सानो गल्तीमा पनि सानीआमाले मलाई तथानाम गाली गर्ने, त्यसमाथि बालाई कुरा लगाएर पिटाउने । भाइबहिनी अरू नै कारणले रोए पनि दोष मलाई नै लगाउने ।
यी सबै सम्झेर म निकै बेर एक्लै रोएँ । अनि, जाने निश्चय गरेँ ।
भोलिपल्ट बिहानै गएर छिमेकी आमालाई ‘हुन्छ’ भनेँ । छिमेकी आमाले मलाई अर्को दिन ‘बिहान यति बेलै आउनू’ भनेर पठाउनुभयो ।
आशारामलाई चिनेर कुराकानी भएपछि मलाई पनि उनी मन परे । त्यसकै भोलिपल्ट बेलुकीपख म आशारामसँग चुपचाप घर छोडेर हिँडेँ ।
आशारामसँग हिँडेको पनि आज ६ वर्ष भइसकेको छ । दुइटी छोरीकी आमा बनिसकेकी छु ।
त्यसै बखत नर्स आएर ‘खानेकुरा किन नखाएको ? हलुवा चिसो भइसक्यो !’ भनिन् । म झसंग भएँ र अतीतका स्मृतिबाट बाहिर आएँ । अनि, चिसो हलुवा पाउरोटी खान थालेँ ।
नर्सले फेरि सम्झाइन्, ‘भोलि तिमीलाई डिस्चार्ज गरिन्छ है ।’