site stats
बाह्रखरी :: Baahrakhari
विचार
तथ्य र मिथ्याबीच स्तनपान

काठमाडौं । आमाले शिशुलाई जन्म दिएपछि दूध चुसाउनुलाई स्तनपान भनिन्छ । तर, पछिल्ला वर्षहरूमा स्तनपानका क्रम घटेको हुँदा चिन्ता र चासो व्यक्त हुन थालेका छन् । बच्चाले जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र (न खाना न झोलिलो पदार्थ पानी पनि होइन) खुवाउनुलाई पूर्ण स्तनपान भनिन्छ ।

चिकित्सकहरू बच्चालाई दिनमा ८ पटक र रातमा ४ पटक स्तनपान गराउन सुझाउँछन् । ६ महिनासम्म आमाको दूधमात्र खुवाएको अवस्था तथा उचित पूरक आहार पाएमा २० प्रतिशतसम्म बाल मृत्युदर घटाउन सकिने विज्ञहरू बताउँछन् । 

आमालाई स्तनपानप्रति उत्प्रेरित गर्न सन् १९९२ देखि ‘विश्व स्तनपान सप्ताह’ हरेक वर्ष  मनाइन्छ, अगस्त १ तारिखदेखि ७ सम्म । आमाको दूधबारे जनचेतना जगाउनकै खातिर सप्ताहभर दिवस मनाइन्छ ।

अवस्था के छ ?

राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको सन् १९९६ को तथ्यांकले एक सय जनामा ३ जना आमाले दूधदानी (बोत्तल फिडिङ)बाट दूध खुवाएको देखाउँछ । यो क्रम बढ्दै गएर सन् २०२२ सम्म आइपुग्दा २२ जना आमाले शिशुलाई दूधदानीबाट दूध खुवाउँछन् ।  

उता सन् १९९६ कै तथ्यांक अनुसार, १०० जनामा ७५ जना आमाले पूर्ण स्तनपान गराउने गरेका थिए भने सन् २०२२ सम्म आइपुग्दा यसको संख्या घटेर ५६ पुगेको छ । यसरी बोत्तल फिडिङको संख्या बढेपछि चिन्ता र चासो व्यक्त भएका छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले जन्मेको एक घण्टा भित्र ५५ प्रतिशत महिलाले स्तनपान गराएको देखाउँछ । त्यस्तै ५ महिनासम्म पूर्ण स्तनपान गराउने महिलाको संख्या ५६ प्रतिशत छ ।

पहिलो २ दिनसम्म पूर्ण स्तनपान गराउने ५८ प्रतिशत सर्वेक्षणको तथ्यांक छ । अनेक कारणले स्तनपान गराउन नपाएका आमाले बट्टाको दूध खुवाउन बाध्य हुने गरेको महिला अधिकारकर्मीहरू दाबा गर्छन् ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा बजारमा कृत्रिम दूधका बट्टा र प्याकेट छ्याप्छ्याप्ती पाइने गरेको छ । तर नियामक निकाय भने मूकदर्शक बन्ने गरेको छ । 
 
बच्चाको बौद्धिक विकासको गतिमा स्तनपानको महत्व ?  

विश्व स्वास्थ्य संगठनको भनाइमा कुनै पनि बच्चाको गर्भमा ३० प्रतिशत मात्र बौद्धिक विकास हुने गर्दछ । यस्तै एक वर्षभित्र थप २५ प्रतिशत बौद्धिक विकास हुने गरेको छ । २ वर्षभित्र थप २५ प्रतिशत र ५ वर्षभित्र थप १० प्रतिशत बौद्धिक विकास हुने गरेको संगठनको विश्लेषण छ । 

पाँच वर्षपछि थप १० प्रतिशत बौद्धिक विकास हुने गरेकाले दुई वर्षभित्रका गतिविधि कुनै पनि बच्चाका लागि निक्कै प्रभावकारी हुने गरेको पाइएको छ । पाँच वर्षभित्र ९० प्रतिशत बौद्धिक विकास हुने गरेकाले पनि यो उमेर समूहलाई बिशेष जोड दिइएको हो । स्तनपान गराउनु बच्चाका लागि आमाको सामीप्यता पनि हो । त्यसकारण पनि बौद्धिक विकासको उमेरमा स्तनपानको एकदमै महत्व हुन्छ ।  

स्तनपान कुपोषण तथा मृत्युको दुष्चक्र तोड्न महत्वपूर्ण 

विश्व स्वास्थ्य संगठनका अनुसार, ६ महिनासम्म आमाको दूधमात्र खुवाएको अवस्था तथा उचित पूरक आहार पाएमा २० प्रतिशतसम्म बाल मृत्युदर घटाउन सकिन्छ । 

एक दिनपछि स्तनपान सुरु गराउँदा २.४ प्रतिशतका दरले शिशुको मृत्यु भएको पाइएको डब्लुएचओले जनाएको छ । एक घण्टाभित्र गराएमा २२ प्रतिशत नवजात शिशुको मृत्यु घट्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

‘बच्चाले प्रभावकारी रूपमा स्तनपान गरेको कसरी थाहा पाउने ?’ घुटु घुटु निलेको आवाज आउँछ र विस्तारै भित्रसम्म/गहिराईसम्म चुस्दै विश्राम लिँदै गर्छ । गाला पुक्क फुल्छ । आमालाई आफ्नो स्तनबाट दूध उत्पादन भइरहेको अनुभूति हुन्छ । स्तनपान गराउनुअघि स्तनभरि हुनु र स्तनपानपश्चात स्तन खाली भएको अनुभूति हुन्छ ।

शिशुलाई स्तनपान पुगिरहेको संकेतहरूबाट थाहा पाउन सकिन्छ । छ पटक बढी शिशुले पिशाब फेर्नु, एक दिनभरमा ३ देखि ८ पटकसम्म नरम दिशा गर्नु, शिशुको दैनिक १८ देखि ३० ग्राम तौल वृद्धि हुनु, शिशुको वृद्धि राम्रोसँग हुनु शिशुलाई स्तनपान पुगेको संकेत हुन् । स्तनपान गराउँदा उपयुक्त विधि र आसन प्रयोग गर्दा सहज र प्रभावकारी हुने गर्छ । 

बिगौती दूधको महत्व

सुत्केरीपछि पहिलो दूधलाई ‘बिगौती दूध’ भनिन्छ । शिशुका लागि यो अत्यन्तै महत्वपूर्ण हुन्छ । यो पहेँलो र बाक्लो हुन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्व, बालबालिकाको पाचन प्रणालीले सजिलै पचाउन सक्ने गुण, कमलपित्तको जोखिमबाट जोगाउने क्षमता, प्रोटिन, भिटामिन ‘ए’ र अन्य सूक्ष्म पोषक तत्वहरू बढी मात्रामा पाइन्छ ।

यसले बालबालिकालाई एलर्जी अथवा खाना नपच्ने समस्या हुन दिँदैन । कृत्रिम दूध खुवाउँदा आमा र शिशु दुबैलाई बेफाइदा हुन्छ ।

स्तनपान गराउँदा आमा र शिशु दुबैलाई फाइदा हुन्छ । स्तनपान गर्दा निस्कने हर्मोनले आमाको तनाव कम गरेर शिशुलाई स्याहार गर्नसमेत सघाउँछ । यसले बाल मृत्युदर घटाउँछ ।

तर, धेरै मिथ्याका कारण आमाहरूले शिशुलाई दूध नखुवाएको उदाहरण हाम्रै वरिपरि देखिन्छ । धेरै आमाहरूले पर्याप्त दूध आउँदैन भनी शिशुलाई दूध खुवाउँदैनन् । तर सबै आमाहरूले आफ्नो शिशुका लागि उचित मात्रामा दूध उत्पादन गरिरहेका हुन्छन् । बिरामी हुँदा स्तनपान गराउनु हुँदैन भन्ने मिथ्या छ । तर रोगको प्रकृतिका आधारमा, बिरामी हुँदा पनि आमाहरूले सामान्यतः स्तनपान गराइरहन सक्ने विज्ञहरू बताउँछन् ।

सौन्दर्य ह्रास, शरीरको तौल घट्ने र स्तनको आकार बिग्रने जस्ता मिथ्याका कारण पनि कतिपय आमाहरूले शिशुलाई दूध खुवाउनबाट बञ्चित गराइरहेका हुन्छन् । तर स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै मानसिक रूपमा स्वस्थ अनुभूति हुन्छ ।

केवल महिलाको एकल प्रयासले मात्र स्तनपान सफल हुँदैन । घरमा शिशु र सुत्केरी महिला छन् भने परिवारका सदस्यले व्यावहारिक रूपमा सहयोग गर्नुपर्छ । भिटामिन, साविकभन्दा थप दुई पटक पोषिलो खाना खानुपर्छ । यस्तै धुम्रपान तथा मद्यपान गर्नु हुँदैन । सुत्केरीलाई प्रशस्त मात्रामा आराम चाहिने हुँदा यस्तो किसिमको घरायसी वातावरण निर्माण गर्नु परिवारको जिम्मेवारी हुन्छ । 

ऐन भए पनि कार्यान्वयनमा कठिनाई 

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ मा प्रसुति बिदाको अधिकार (दफा १३) मा विभिन्न खाले व्यवस्था गरिएपनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । 

सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसुति बिदा पाउने व्यवस्था भएपनि धेरै कामकाजी महिला यसबाट बञ्चित हुने गरेका छन् ।  

किनभने तिनका प्रसूति बिदा अपुग हुन सक्छ । विज्ञ चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म वेतलबी बिदा पाउने अधिकार छ । तर, यो प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन आवश्यक व्यवस्था मिलाउनुपर्छ । तर, यो व्यवस्था पनि राम्ररी प्रयोगमा आउन सकेको छैन । कामकाजी महिलाले शिशु घरमै छाडेर कार्यालयमा काम गर्नुपर्ने अवस्था छ । यसकारण पनि पढेलेखेका महिलाले आफ्नो शिशुलाई पर्याप्त दूध खुवाउन पाइरहेका हुँदैनन् । 

सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुँदा अघि वा पछि पारिश्रमिकसहित १५ दिन ‘प्रसूति स्याहार बिदा’ पाउने व्यवस्था छ । 

यस्तै दफा १४ मा सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले कार्यालयमा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको रायबमोजिम प्रजनन् स्वास्थ्य रुग्णताका कारण जटिल शल्यक्रिया गर्नुपर्ने भए अघि वा पछि कम्तीमा ३० दिनसम्मको तलबसहित अतिरिक्त बिदा दिनु पर्ने व्यवस्था छ ।

मातृ, शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको छ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा वृहत् स्तनपान व्यवस्थापन केन्द्र (अमृत कोष) २०७९ भदौ ३ गते स्थापना भइसकेको छ । 

यस्तै देशका १८ वटा अस्पतालमा स्तनपान परामर्शकर्ताको व्यवस्थापन भइसकेको छ । सबै स्थानीय तहमा स्तनपान कक्ष स्थापना गर्न २०७६ सालदेखि बजेट छुट्टिँदै आएको छ । तर कतिपय कार्यालयमा अझै पनि यसको व्यवस्था हुन सकेको छैन । 

सार्वजनिक सेवा प्रदायक संस्थाहरूमा स्तनपान कक्षको स्थापना भएपनि सबैले यसको सुविधा भोग गर्न पाएका छैनन् । यस्तै अधिकांश गैरसरकारी संस्थाहरूले यसको गृहकार्य समेत गरेका छैनन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्