
काठमाडौं । अमेरिकाले जापानको हिरोशिमा सहरमा बम खसालेको आज ८० वर्ष पूरा भएको छ । यो दिनको सम्झनामा जापानमा मौन प्रार्थना गरिएको छ । जापानी प्रधानमन्त्री शिगेरु इशिबा पनि समारोहमा उपस्थित थिए ।
त्यस अवसरमा हिरोशिमाका मेयर काजुमी मात्सुईले जापान युद्धमा परमाणु बम विस्फोटको सिकार भएको एक मात्र राष्ट्र रहेको जिकिर गरे । उनले जापानी सरकारलाई आणविक हतियार निषेधसम्बन्धी सन्धि अनुमोदन गर्न पनि आह्वान गरे ।
उक्त सन्धि सन् २०२१ मा लागु भएको आणविक हतियार प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सम्झौता हो । ७० भन्दा बढी देशले उक्त सन्धि अनुमोदन गरेका छन् । अमेरिका र रूसजस्ता आणविक शक्तिले यसको विरोध गरेका छन् ।
अमेरिकाले हिरोशिमा र नागासाकीमा बम खसालेपछि जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । बमले दुई लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो ।
घटनामा बाँचेका कतिपयले त्यसबखतको सम्झनालाई कलामा परिणत गरेका छन् । आणविक बमबाट बचेका निहोन हिडान्क्योले सन् २०२४ मा नोबेल शान्ति पुरस्कार जितेका थिए ।