काठमाडौं । युक्रेनका एक सांसदसहित केही अधिकारीहरू पक्राउ परेका छन् । देशका भ्रष्टाचारविरोधी निकायहरूले ड्रोन र इलेक्ट्रोनिक युद्ध प्रणालीको खरिदमा व्यापक घुसखोरीको योजना पर्दाफास भएपछि उनीहरू पक्राउ परेका हुन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा एक युक्रेनी सांसद, जिल्ला र सहर प्रशासनका प्रमुखहरू तथा राष्ट्रिय गार्डका केही सदस्यहरू संलग्न रहेको खुलासा गरेका छन् ।
बीबीसीका अनुसार, आपूर्तिकर्ताहरूसँग राज्यको सम्झौता मूल्य ३० प्रतिशतसम्म बढाएर खरिद गर्न हस्ताक्षर गरिएको थियो ।
जेलेन्स्कीले युक्रेनमा भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइनुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायहरूलाई उनीहरूको कामका लागि धन्यवाद दिएका छन् ।
राष्ट्रव्यापी विरोध प्रदर्शनहरूपछि युक्रेनका भ्रष्टाचारविरोधी निकायहरूको स्वतन्त्रता बिहीबार पुनः स्थापित गरिएको थियो ।
जेलेन्स्कीको सरकारले राष्ट्रिय भ्रष्टाचारविरोधी ब्युरो र विशेष भ्रष्टाचारविरोधी अभियोजकको कार्यालयको स्वतन्त्रता खोस्ने विधेयक प्रस्तुत गरेपछि तीव्र आलोचना भएको थियो ।
राष्ट्रपतिले यी निकायहरूलाई रूसी प्रभावबाट मुक्त गर्न आवश्यक रहेको दाबी गर्दै उच्चस्तरीय भ्रष्टाचारका मुद्दामा कसलाई अभियोजन गर्ने भन्ने अधिकार सामान्य अभियोजकलाई दिन खोजेका थिए ।
धेरैले यस कदमलाई युक्रेनमा भ्रष्टाचारविरुद्धको प्रयासमा पछाडि हट्ने संकेतका रूपमा लिएका थिए । यसले २०२२ मा रूसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरू गरेपछि देखा परेको सबैभन्दा ठूलो सरकारविरुद्धको प्रदर्शन निम्त्याएको थियो ।
जेलेन्स्कीले जनताको आक्रोश स्वीकार गर्दै सम्बन्धित निकायहरूको स्वतन्त्रता पुनःस्थापित गर्ने नयाँ विधेयक सदनमा प्रस्तुत गरेका छन्, जुन अघिल्लो विधेयक पारित भएको नौ दिनपछि पारित भएको हो ।
युक्रेनी रक्षा मन्त्रालयअन्तर्गतको मुख्य गुप्तचर निर्देशनालयका प्रमुख किरिलो बुदानोभले जनताको आवाज सुनेको र गल्ती नसुधारेकोमा जेलेन्स्कीलाई धन्यवाद दिएका छन् ।
यो कदमको युरोपेली संघका साझेदारहरूले पनि प्रशंसा गरेका छन्, जसले अघिल्लो विधेयकको प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए ।