
काठमाडौं । नेपाली कथा साहित्यको पुनर्जागरण अभियानमा सक्रिय समूहले यसपटक पनि वाचनलाई निरन्तरता दिएको छ । दुई वर्षदेखि मासिकरूपमा कथावाचन कार्यक्रम सञ्चालन गर्दै आएको समूहले गत शुक्रबार साउन महिनाको वाचन गरेको हो ।
वाचनको २२औँ शृंखलामा दिवंगत कथाकार एम. लक्ष्मीको कथा ‘रोदन’ वाचन गर्दै कार्यक्रमको थालनी गरिएको थियो । यो कथा वि.सं. १९९२ साल कार्तिक महिनाको शारदामा प्रकाशित छ । उक्त कथा साहित्यकार प्रह्लाद पोखरेलले वाचन गरे ।
त्यस्तै, नियमित कथावाचनका क्रममा कथाकार सुनील पौड्यालले ‘आमा ! म दुख्दिन’, मञ्जु काँचुलीले ‘आगो’, मणि लोहनीले ‘अनेक रंग जीवनका’ र निरूपा प्रसूनले ‘बोको’ शीर्षकको कथावाचन गरे ।
वाचन गरिएका कथाहरूमाथि प्रा.डा. भरतकुमार भट्टराई र प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी गरे ।
मासिक कथा अभियानका परिकल्पनाकार साहित्यकार चन्द्रप्रसाद भट्टराईले कथा विधाप्रति आमपाठकको रुचि जगाउन यस किसिमको काम गर्दै आएको बताए ।
अग्रज साहित्यकार पुष्कर लोहनीले कथासाहित्यको विकासक्रमबारे संक्षिप्त मन्तव्य राखे ।