site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफ्रिका र सिरियामा आईएस र अलकायदाको खतरा बढ्यो : राष्ट्रसंघ
आईएस लडाकु । फाइल तस्बिर : एपी ।

काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा पेस गरिएको एक नयाँ प्रतिवेदनमा इस्लामिक स्टेट (आईएस) र अलकायदाजस्ता उग्रवादी संगठनको खतरा अफ्रिकाका केही भागमा सबैभन्दा बढी रहेको उल्लेख छ । सिरियामा पनि यस्तो खतरा तीव्र रूपमा बढिरहेको विज्ञले बताएका छन् ।

प्रतिवेदनमा दुवै आतंकवादी संगठनले सिरियालाई भविष्यका निम्ति रणनीतिक केन्द्रका रूपमा हेरिरहेको र त्यहाँबाट बाहिरी आक्रमण सञ्चालन गर्न सक्ने जनाइएको छ ।

पश्चिम अफ्रिकामा अलकायदासँग सम्बन्धित समूह जमात नुसरत अल–इस्लाम वल–मुस्लिमीन (जेएनआईएम) र पूर्वी अफ्रिकामा अलशबाबले आफ्नो प्रभाव क्षेत्र निरन्तर विस्तार गरिरहेका प्रतिवेदनमा उल्लेख छ । मध्यपूर्वमा कमजोर भएपछि इस्लामिक स्टेटले अफ्रिकामा ध्यानकेन्द्रित गरेको जनाइएको छ ।

सिरियामा बशर अल असद सत्ताबाट हटेको ६ महिना बितिसक्दा पनि स्थिति अस्थिर भएको र त्यहाँ दुवै आतंकवादी संगठनको खतरा बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ डिसेम्बरमा दमास्कस कब्जा गर्ने सैन्य कारबाहीमा पाँच हजारभन्दा बढी विदेशी आतंकवादी संलग्न रहेका जानकारी पनि त्यसमा उल्लेख भएको जनाइएको छ ।

विज्ञले युरोप र अमेरिकाका निम्ति इस्लामिक स्टेटको खतरा अझै गम्भीर रहेको बताएका छन् ।

अमेरिकामा सामाजिक सञ्जाल र इन्क्रिप्टेड प्लेटफर्ममार्फत कट्टरपन्थ फैलाएको घटना आईएसआईएसबाट भएको पाइएको उल्लेख छ । प्रतिवेदनका अनुसार, न्यु अर्लिन्समा एक आक्रमणमा १४ जनाको मृत्यु भएको र मिसिगनमा एउटा सैन्य अखडामा त्यस्तो हमलाको योजना असफल पारिएको थियो ।

इस्लामिक स्टेटलाई रकम संकलनमा समस्याको सामना गर्नुपरेको पनि उल्लेख छ । आईएस लडाकुको तलब ५०–७० डलर प्रतिमहिनासम्म घटाइएको छ । त्यो पहिलाको भन्दा धेरै कम हो । परिवारलाई दिइने रकम पनि अब केवल ३५ डलर छ । त्यो पनि नियमित रूपमा उपलब्ध नहुने जनाइएको छ ।

प्रतिवेदनमा यी आतंकवादी संगठनले रकम जुटाउन क्षेत्रीय स्रोतको दोहन, समुदायमा कर लगाउने, फिरौतीका निम्ति अपहरण र व्यापारिक सञ्जालको उपयोग गरेका जनाइएको छ । साथै, उनीहरूले अब महिला दूतहरू र हुन्डीजस्ता प्रणालीमार्फत कोष स्थानान्तरण गरिरहेका उल्लेख छ ।

पूर्वी अफ्रिकामा अलशबाब र यमनका हुथी विद्रोहीबीच सम्बन्ध बलियो हुँदै गएको पनि प्रतिवेदनमा उल्लेख छ । दुवैबीच हतियारको आदानप्रदान र प्रशिक्षणको साझेदारी भइरहेकाले उक्त क्षेत्रमा खतरा थप बढाएको छ । यी गतिविधि रोक्न नसकिए यी संगठन अन्तर्राष्ट्रिय सुरक्षाका निम्ति अझ ठूलो संकट बन्न सक्ने विज्ञले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्