
काठमाडौं । इजरायलले गाजाका केही भागमा आफ्ना सैन्य गतिविधिमा 'रणनीतिक रोक' लगाएको घोषणा गरेको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)ले आफ्नो वक्तव्यमा यो घोषणा गाजामा मानवीय सहायता सामग्रीको प्रवेश र वितरणको मात्रा बढाउन गरिएको बताएको छ ।
यस्ता क्षेत्रहरू अल–मवासी, देर अल–बलाह र गाजा सिटी रहेको पनि बताइएको छ ।
आईडीएफले आज (आइतबार)देखि गाजा पट्टीका यी भागमा स्थानीय समयानुसार बिहान १० बजेदेखि राति ८ बजेसम्म सैन्य गतिविधि रोक्नेछ । यी क्षेत्रमा अर्को आदेश नआएसम्म दैनिकरूपमा सैन्य गतिविधिमा 'रणनीतिक रोक' रहनेछ ।
आईडीएफले यस विषयमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संगठनहरूसँग विचार–विमर्शपछि यो निर्णय लिइएको बताएको छ ।
यसबाहेक, गाजा पट्टीमा मानिसहरूलाई खाना र औषधि पुर्याउने संयुक्त राष्ट्र र मानवीय सहायता संगठनहरूको ट्रकहरूको सुरक्षित आवागमनका लागि बिहान ६ बजेदेखि रात ११ बजेसम्म स्थायीरूपमा सुरक्षित मार्ग बनाइने पनि बताइएको छ ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएदेखि कूपोषणका कारण कम्तीमा १२७ जनाको मृत्यु भएका बताएको छ ।
बीबीसीबाट ।