site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
मृत शरीरको स्वदेश यात्रा

एकदिन फिजीमा काम गरिरहेका मेरा व्यापारिक साझेदार राजेश त्रिपाठीको फोन आयो । उनले यस्तो जिम्मेवारी दिए जुन कुराको न मलाई ज्ञान थियो न त अनुभव नै । तर, साथीले भनेको कुरामा नाईं नास्ती गर्ने बानी नभएको हुनाले एउटा सामाजिक कार्यको रूपमा सो जिम्मेवारी वहन गर्ने निर्णयमा पुगेँ । 

भएछ के भने अस्ट्रेलिया र न्युजिल्यान्ड नजिकै रहेको फिजी भन्ने टापु देशमा रहेका मलाई फोन गर्ने मित्रको साथीका बुवा र आमा नेपाल हुँदै तिब्बतको कैलाश पर्वतको यात्रामा निस्किएका रहेछन् तर त्यहाँ लेक लागेर हो वा अरू कुनै कारणले बुवाको मृत्यु भएछ । जुन नेपाली ट्राभल कंपनीको माध्यमबाट सो यात्रामा गएका थिए सो कंपनीले मृत शरीर नेपालसम्म त जसोतसो ल्याएछ तर नेपालबाट फिजी लैजान निकै हम्मे हम्मे परेको रहेछ । 

म पेसाले अडिटर र व्यवसायी । हामी बज्राचार्यको गुठी हुन्छ र त्यसको सक्रिय सदस्य भएका कारणले आफ्ना नातेदार र ईष्टमित्रको नातेदार बित्दा तिनको अन्तिम संस्कारमा अलि अघि बढेरै सहयोग गर्ने मेरो स्वभाव छ । कहिलेकाहीँ स्वजातीय नभएको अन्तिम संस्कारमा केही व्यक्तिले मेरो सक्रियतालाई नरुचाएजस्तो पनि अनुभव गरेको छु । तर, मेरा नजिकका मित्र र आफन्त जो शोकमा परेका हुन्छन् तिनको पीडामा सहृदयी भावले सहयोग गर्दा सानो तिनो रुखो टिप्पणीले मलाई रोक्दैन । तर, यो नितान्त फरक विषय थियो । मेरो अनुभव र ज्ञानभन्दा अलि परको ।

सबैभन्दा पहिले आफ्नो जीवनसाथी गुमाएकी महिलालाई भेट्न जानुपर्‍यो । त्यो पनि पहिलोपटक चिन्दै थिएँ । उनी अर्थात् रोश्नलता पूर्ण रुपमा विह्वल थिइन् । उनको पति दलिप सिंह ५५ वर्षका मात्र थिए । कैलाश यात्रामा पतिको निधन भएपछि चार दिन लगाएर आफ्नो श्रीमानको लास काठमाडौंसम्म ल्याउन सफल भएकी थिइन् । अब यहाँबाट फिजीसम्मको यात्राको कुनै टुंगो थिएन । 

नेपाल र चीनको सीमाना केरुङ नाका हुँदै थुप्रै सवारी साधन फेर्दै ल्याएपछि पनि अन्ततः काठमाडौंसम्म ल्याउन हेलिकप्टरको प्रयोग गर्नुपरेको थियो । यतिसम्म ल्याउँदा नै रु. ५ लाख खर्च भएको थियो । यी सबै कामको लागि फिजीमा बसेकी छोरी ड्यानोलिन सिंहले आमालाई उतैबाट भावनात्मक र व्यवस्थापनमा निकै सहयोग गरिन् । चिनियाँ अधिकारीहरूको सहयोगबाट मृत्यु प्रमाणपत्र, प्रहरी रिपोर्ट र भन्सार छुटाएको कागत सबै तयारी थियो । 

मृत डाक्टर दलिप सिंहकी श्रीमती रोश्नलतासँग कुरा गरेपछि थाहा भयो काठमाडौंबाट मृत शरीरलाई फरक फरक ट्रान्जिट गरेर लान कुनै पनि एयरलाइन्सले मानेका रहेनछन् । नेपालबाट फिजी त के अस्ट्रेलियासँग पनि सिधै हवाई सम्पर्क छैन । तर, जहाँ अत्यन्त दुःख पर्छ त्यहा सहयोगी हातहरू पनि आफैँ अघि बढ्छन् । फिजी एयरलाइन्सका नायडु भन्ने एक व्यक्तिले निकै मेहनत गरे । उनको निजी सम्बन्धका कारणले बल्लतल्ल सिंगापुर एयरलाइन्स र मलेसियन एयरलाइन्सले मिलेर काठमाडौं–सिङ्गापुर–सिड्नी–नाडीसम्म मृत शरीरलाई पुर्‍याउने भए । शोकाकुल परिवारसँगै हामी सहयोगीले पनि राहतको सास फेरियो । तर, समस्या त्यतिमै सकिएको थिएन । सो उडानका लागि कागजात बनाउने र अन्य व्यवस्थापन झमेलाले फेरि सातो लियो । 

sab-1752131626.jpg
 

पहिले त त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा रहेको लासलाई उपयुक्त ढंगले बाहिर निकाल्नु थियो । त्यसका लागि कागजपत्र चाहिने रहेछ । काठमाडौंमा फिजीको राजदूतावास छैन तर यहाँ रहेको फिजी हाई कमिसनले ठूलो सहयोग गर्‍यो । उसले नयाँ दिल्लीसँग सम्पर्क गरेर बिदाको दिनमा पनि नो अब्जेक्सन प्रमाणपत्र निकालिदियो । ठूलो मानवता देखाएर निकै तदारुकताका साथ गरेको यो सहयोगका लागि सबैले हृदयदेखि नै धन्यवाद दियौँ । 

अब, नेपालका निकायबाट अनेक प्रकारका प्रमाणीकरणको प्रमाणपत्र चाहिने रहेछ । नेपालको परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग, प्रहरी र फरेन्सिक विभागबाट अलि दिन लगाएर प्रमाणपत्रहरू निकाल्यौं । कहीँ त काम केही घन्टामा नै भयो भने कहीँ एकदुई दिन नै लाग्यो । 

यी कागजपत्र आएपछि पनि लासलाई ढुवानी गर्न निकै जोरजाम गर्नुपर्ने रहेछ । हावा नछिर्ने एयर टाइट कफिन चाहिने रहेछ । त्यपछि सबै कागजात अनुवाद र प्रमाणीकरण गर्नुपर्ने र कार्गो बुक गरेर पैसा बुझाउनु पर्ने । यस्ता कतिपय काममा फेरि क्रेडिट कार्ड नलिने रहेछन् । नगद भुक्तानी गर्दाका सानातिना झमेलाको कुरा त गरेर साध्यै छैन । 

अन्तिम तयारी स्वरूप शरीरलाई निकै राम्रोसँग प्लास्टिकले बेरियो । शवमा कुनै धातु रहेको अवस्थामा सुरक्षा जाँचमा गाह्रो हुने रहेछ । त्यसैले ध्यानपूर्वक सबै धातुका वस्तुहरू हटाइयो । तर, मेडिकल कागजातमा केही गल्ती भएछ । त्यसले पनि निकै तनाव दियो र अलिकति ढिलाइ पनि भयो ।

जे होस् अन्ततः ५५ वर्षीय स्व. दलिप सिंहको देह उनकै देश फिजीमा पठाइयो । उनी एक सहृदयी व्यक्ति थिए । गरिबको निकै सहायता गर्ने । जनावरहरूप्रति उनको अगाध प्रेम थियो । तर, उनीजस्ता मानवीय भावनाका व्यक्तिको काममा अनेक अमानवीय व्यक्तिहरूसँग पनि भिड्नु पर्‍यो । कतिपय मानिस पैसाका लागि जे पनि गर्ने र अप्ठेरो परेको बेलामा पैसामा कस्ने प्रवृत्तिका पनि देखिए । 

तर, समाजमा राम्रा मान्छे पनि छन् है भन्ने पनि यस घटनाले बोध गरायो । फिजीको हाई कमिसन, दिल्लीस्थित फिजीको दूतावास, फिजी एयरलाइन्सका मिस्टर नायडु, फिजी ट्राभल कंपनीका दामोदर ढकाल तथा कर्मचारी तिलक श्रेष्ठले काठमाडौंसम्म लास ल्याउन निकै मद्दत गरे, जयराम र ध्रुवले शव संरक्षण र कफिन सिल गर्ने काम गरे तिनको सहयोगको शोकमा परेका परिवारले मात्र होइन परिवारका साथी हामीले पनि निकै सराहना गर्‍यौं । 

यति सबै काम गर्दा कति राम्रा मानिस भेटिए भने कति पैसाको लागि मात्र मतलब गर्ने पनि देखिए । अनि थाहा भयो, आफूसँग यथेष्ट रकम छैन भने विदेशमा मृत्यु भएको अवस्थामा आफ्नो देश पुग्न निकै गाह्रो पनि पर्ने रहेछ । 

यो लेखको मूख्य उद्देश्य कसैलाई पनि यसरी नेपालमा मान्छे बितेर विदेश लैजानु पर्‍यो भने के के कागज चाहिन्छ र कुन कुन सरकारी कार्यालय पुग्नुपर्छ, के के व्यवस्था गर्नुपर्छ र खर्च कति चाहिन्छ भन्ने जानकारी दिएर तिनको सो कार्यलाई सहज बनाउनु नै हो । 

खर्चको कुरा गर्दा स्व. सिंहको शरीर लैजान करिब नेपाली रुपैयाँ १३ लाख खर्च भयो । खर्च टुक्राएर हेर्दा त्रिवि शिक्षण अस्पतालमा शव राखेको शुल्क प्रतिदिन रु. २ हजार ५०० लाग्छ भने शव संरक्षण शुल्क (एम्बाल्मिङ) अलि बढी लाग्छ । यो शुल्क सार्क देशका नागरिकका लागि रु. २५ हजार छ भने अन्य देशका नागरिकका लागि रु. ६० हजार पर्छ । एयर टाइट कफिन (हेरेमेटिकल्ली सिल्ड) को ४० हजारदेखि ३ लाखसम्म पर्ने रहेछ (सिंहको लासको लागि रु. १ लाख पर्‍यो) । कागजात अनुवाद र प्रमाणीकरण खर्च १० हजारसम्म, दूतावास तथा सरकारी समन्वय खर्च ३० देखि ६० हजार । कार्गो शुल्क (देशअनुसार फरक हुन्छ) प्रतिकेजी रु. २३ सय । त्यस बाहेक कामदारलाई दिने खर्च, आफ्नो बस्नेखाने खर्च आदि । 

यस्तो अवस्थामा पैसाको तयारी त गर्नैपर्‍यो सँगसँगै कागज पत्र संकलन र तयारी गर्नु अत्यन्त जरुरी हुँदो रहेछ । संकलन गर्नुपर्ने मुख्य मुख्य कागजातमा मृत्यु प्रमाणपत्र, प्रहरी रिपोर्ट, भन्सार क्लियरेन्स, मेडिकल रिपोर्ट आदि हुन् । त्यस्तै कफिन आदिको काम गर्ने भरपर्दा व्यक्ति खोज्नुपर्छ । समस्यामा पर्दा धैर्य ठूलो कुरा हो । धैर्यपूर्वक निरन्तर काम गर्नुपर्छ । स्थानीय कानुनमात्र होइन कतिपय अवस्थामा सांस्कृतिक पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ । 
 

नेपालमा मृत्यु भएका विदेशीलाई लास विदेश लान सरकारले प्रक्रिया सहज बनाउनुपर्ने देखिन्छ । परराष्ट्र मन्त्रालयअन्तर्गत एक रिप्याट्रियसन सेन्टर बनाएर त्यहीबाट सबै कागजातको समन्वय र मार्गर्दशन होस् । डिजिटाइजेसनबाट हुने काममा अनावश्यक दुःख नदिइयोस्, सेव शुल्क पारदर्शी होस्, समस्यामा परेका व्यक्तिका लागि सम्पर्क व्यक्ति तोकियोस् । दूतावाससँगको समन्वय गर्ने प्रक्रिया छिटो र प्रभावकारी बनाइयोस् ।
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्