
काठमाडौं । एक साताअघि ललितपुर चापागाउँका युवक रिनेश घिमिरेले आफ्नो फेसबुक पेजमा एउटा स्टाटस पोस्ट गरेर आत्महत्या गरे ।
१५ जुलाईमा घिमिरेले लेखेका थिए, “बाउ–आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरैधेरै माया । अल्बिदा !”
स्टाटससँगै घिमिरेले आफ्नो र एक युवतीको तस्बिरसमेत राखेका थिए । स्टाटस लेखेको १५ मिनेटमै रिनेश चापागाँउस्थित टौखेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे ।
२६ वर्षीय घिमिरे ललितपुर महालक्ष्मीस्थानमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीको अनुसन्धानका क्रममा घिमिरेले प्रेमीकासँगको मनमुटावका कारण आत्महत्या गरेको खुलेको छ । घिमिरेको मृत्यु भएको पाँच दिनपछि उनले फेसबुकमा पोस्ट गरेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी चक्रराज जोशीका अनुसार युवती सोमबार साँझ प्रहरीको सम्पर्कमा पुगेकी हुन् । प्रहरीका अनुसार घिमिरेले लेखेको पोष्ट सामाजिक सञ्जालमार्फत भाइरल हुन थालेपछि प्रहरीले ती युवतीलाई सम्पर्क गरेको थियो ।
प्रहरीको फोनपछि उनी आफैँ प्रहरी वृत्त चापागाउँ पुगेकी हुन् । प्रहरीका अनुसार युवती दोलखाकी सुप्रिया खड्का हुन् ।
लामो समयदेखि रिनेश र उनको प्रेमसम्बन्ध रहेको पाइएको प्रहरीले बताएको छ । तर, पछिल्लो सयम उनीहरूबीचको सम्बन्धमा खटपट हुन थालेको र त्यही कारण घिमिरेले आत्महत्या गरेको देखिएको प्रहरीको दाबी छ ।
सुप्रिया र रिनेशबीचका विभिन्न भिडियो हाल सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेका छन् । प्रहरीका अनुसार दोलखाकी सुप्रिया पछिल्लो समय काठमाडौंको बालाजु बस्ने गरेकी थिइन् । प्रहरीले उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान अघि बढाएको छ ।