काठमाडौं । युद्धग्रस्त प्यालिस्टिनको गाजामा पछिल्लो ७२ घण्टामा कुपोषण र भोकमरीका कारण २१ बालबालिकाको मृत्यु भएको छ ।
गाजाको शिफोस्थित एक अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाले उक्त जानकारी दिएको बीबीसीले जनाएको छ ।
मोहम्मद अबु सल्मियाले गाजामा करिब नौ लाख बालबालिका भोकले पीडित भएको र तीमध्ये करिब ७० हजार कुपोषणको सिकार भएका छन् ।
विशेषगरी मधुमेह र मृगौला रोगीहरूलाई उच्च जोखिम रहेको बताइएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण हुने मृत्युको संख्याबारे थप तथ्यांक जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ताले बताएअनुसार पछिल्लो ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु भएको छ । उनले सन् २०२३ मा युद्ध सुरु भएयता कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १०१ पुगेको बताए । जसमध्ये ८० बालबालिका रहेको उल्लेख गरेका छन् ।
यसैबीच, मे महिनाको अन्त्यमा अमेरिका र इजरायल समर्थित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ) मार्फत राहत वितरण सुरु भएयता लगभग हरेक दिन राहत सामग्री लिन खोज्ने प्यालिस्टीनीहरू मारिएको खबर आइरहेको छ ।