site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा बढ्दो कुपोषण, नरसंहार रोक्न विश्वव्यापी कारबाहीको आह्वान

काठमाडौं । गाजामा इजरायलका आक्रमण र खाद्य आपूर्तिमा प्रतिबन्धले अवस्था बिग्रिएको छ । खाद्य आपूर्ति बन्द गरिएपछि गाजापट्टीमा बालबालिकामा कुपोषण दर दोब्बर भएको छ ।

मार्चमा इजरायलले पुनः आक्रमण सुरु गरेपछि गाजामा सबै खाद्य र अरू आपूर्तिमा प्रतिबन्ध लगाइएको छ । त्यसबाट २० लाखभन्दा बढी प्यालेस्टाइनी भोकमरीको चपेटामा छन् ।

संयुक्त राष्ट्र राहतसम्बन्धी संस्थाले जुन महिनामा आफ्ना क्लिनिकहरूमा पाँच वर्षमुनिका १६ हजारभन्दा बढी बालबालिकाको परीक्षण गरेको थियो । परीक्षणका क्रममा १०.२ प्रतिशत बालबालिका गम्भीर रूपमा कुपोषित भएको पाएको जनाइएको छ । मार्चमा १५ हजार बालबालिकाको परीक्षण गर्दा ५.५ प्रतिशत कुपोषित थिए ।

युनिसेफले पनि कुपोषणका घटनामा उल्लेख्य वृद्धि भएको जनाएको छ । उसका क्लिनिकहरूमा जुनमा पाँच हजार ८७० बालबालिकामा कुपोषणका घटना रेकर्ड गरिएको छ । त्यो लगातार चौथो महिनाको वृद्धि हो । र, फेब्रुअरीमा रेकर्ड गरिएको करिब दुई हजार घटनाको तुलनामा दोब्बरभन्दा बढी हो ।

यसैबीच, गाजामा संयुक्त राष्ट्रसंघकी दूत फ्रान्सेस्का अल्बानिजले विश्वभरका देशलाई नरसंहार रोक्न कदम चाल्न आह्वान गरेकी छन् । कोलम्बियाको राजधानीमा ३० देशका प्रतिनिधिसँग कुराकानी गर्दै उनले यस्तो आह्वान गरेकी हुन् ।

त्यहाँ सहभागी धेरै देशका प्रतिनिधिले उक्त हिंसालाई प्यालेस्टाइनीविरुद्धको नरसंहार भनेका छन् । अल्बानिजले हरेक देशले तत्काल इजरायलसँगका सबै सम्बन्धको समीक्षा गरी तिनलाई निलम्बन गर्नुपर्ने बताइन् ।

यो सम्मेलनको सहअध्यक्षता दक्षिण अफ्रिका र कोलम्बियाले गरेका छन् । यसमा हालै इजरायलसँग सैन्य सम्बन्ध अन्त्य गर्ने र त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जीको पालना गर्ने प्रतिबद्धता जनाएको आठ देशको गठबन्धन हेग समूहका सदस्यले पनि भाग लिए ।

सम्मेलनमा देशहरूले गत वर्ष जारी अन्तर्राष्ट्रिय न्यायालयको फैसलाको पालना गर्ने प्रयास गरिरहेको बताएका थिए । त्यसमा प्यालेस्टाइनी क्षेत्रमा इजरायलको कब्जालाई गैरकानुनी भनिएको थियो ।

दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रवक्ता क्रिस्पिन फिरीले कानुनी शासनलाई सार्थक रूपमा समर्थन गर्नु आवश्यक रहेको बताए । उनले भने, “अन्तर्राष्ट्रिय कानुन केवल वैश्विक दक्षिणका देशहरूमा मात्र लागु हुन्छ भन्ने विचार अब टिकाउ छैन ।”

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्