site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलमा नेतान्याहूको गठबन्धनमा हलचल, सरकार छाड्दै सहयात्री दल

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको प्रमुख सत्तासाझेदार अल्ट्रा–अर्थोडक्स पार्टीले गठबन्धन सरकार छाड्ने घोषणा गरेको छ । यसबाट गाजामा जारी युद्धको निर्णायक समयमा इजरायली नेताको सत्तालाई अस्थिर बनाउने खतरा उत्पन्न भएको एपीले जनाएको छ ।

मंगलबार बिहान युनाइटेड टोरा जुदाइज्मका दुई समूहले इजरायली सैन्य सेवामा युवाले काम गर्नुपर्ने विधेयकका प्रावधानप्रति मतभेदका कारण सरकार छाड्ने बताएका छन् ।

इजरायलमा हरेक युवाले सेनामा अनिवार्य सेवा गर्नुपर्छ । उक्त पार्टीले यो व्यवस्थामा छुट हुनुपर्ने माग गरेको छ । अर्थात्, अनिवार्य गरिनु नहुनेमा जोड दिएको छ ।

इजरायली राजनीतिमा लामो समयदेखि निर्णायक भूमिका खेल्दै आएको यो पार्टीको बहिर्गमनले नेतान्याहूको शासनलाई तत्काल खतरा हुँदैन । तर, उनको सरकार अब दुई अतिदक्षिणपन्थी पार्टीको समर्थनमा बढी निर्भर हुनेछ ।

ती दुई पार्टी हमाससँगको युद्धविराम वार्तामा कुनै सम्झौता गर्न विरोध गर्छन्  । र, गाजामा युद्ध अन्त्य गर्ने वा रोक्ने कदमका विषयमा यसअघि नै सरकार छाड्ने धम्की दिइसकेका छन् ।

इजरायल र हमासले २१ महिना लामो गाजा युद्ध रोक्ने सर्तहरूका विषयमा छलफल गरिरहेका बेला यो राजनीतिक उथलपुथल भएको हो । अमेरिका, इजरायलको प्रमुख सहयोगी र मध्यस्थकर्ता इजिप्ट तथा कतारको दबाबका बाबजुद वार्तामा कुनै सफलता हासिल भएको छैन ।

युनाइटेड टोरा जुदाइज्मको बहिर्गमन ४८ घण्टापछि औपचारिक हुनेछ । त्यसैले नेतान्याहूसामु यो पार्टीको माग पूरा गरेर गठबन्धनमा फर्काउने अवसर छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्