site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजा वार्ता जटिल मोडमा, दुई पक्षबीच गहिरो मतभेद
हमास लडाकुको फाइल तस्बिर ।

गाजा सहर । गाजामा युद्धविराम स्थापनाका निम्ति हमास र इजरायलबीच कतारमा भइरहेका अप्रत्यक्ष वार्तामा सेना फिर्तीसम्बन्धी प्रस्तावले ठूलो अवरोध सिर्जना गरेको दुई प्यालेस्टाइनी स्रोतले शनिबार बताएका छन् ।

गएको आइतबारदेखि कतारको राजधानी दोहामा दुवै पक्षका प्रतिनिधिबीच २१ महिनादेखिको युद्धमा अस्थायी विराम ल्याउने उद्देश्यले छलफल भइरहेको छ । यो द्वन्द्व सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि आक्रमण गरिएपछिको हो ।

हमास र इजरायल दुवैले उक्त दिन अपहरण गरिएका जीवित १० बन्धकलाई युद्धविरामको सहमति भएमा रिहा गरिने बताएका छन् । तर, इजरायलले गाजाबाट पूर्ण रूपमा सेना फिर्ता गर्न अस्वीकार गरेकाले सहमति टाढिएको एक प्यालेस्टाइनी स्रोतको भनाइ छ ।

“हाल दोहामा जारी वार्ता जटिल मोडमा पुगेको छ । इजरायलले जुन नक्सा प्रस्तुत गरेको छ, त्यसले वास्तवमा सेना फिर्ता होइन, पुनः तैनाथीको संकेत गर्छ,” स्रोतले भन्यो ।

हमासले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग राख्दै आएको छ । त्यहाँ दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । तर, इजरायली पक्षले प्रस्तुत गरेको प्रस्तावमा करिब ४० प्रतिशत क्षेत्रफलमा सैन्य उपस्थिति कायम राख्ने उल्लेख छ ।

“यस्तो प्रस्तावले गाजा फेरि टुक्रा–टुक्रा पारिएको, सिमाना बन्द भएको र स्वतन्त्रताविहीन क्षेत्रमा परिणत हुने खतरा पैदा गर्छ,” स्रोतले भनेको छ ।

मध्यस्थकर्ताले वार्ता केही समयका निम्ति स्थगन गर्न आग्रह गरेका छन् । उनीहरूले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ दोहा पुग्नेबित्तिकै छलफल पुनः सुरु गरिने जनाएका छन् ।

अर्का एक प्यालेस्टाइनी स्रोतका अनुसार, प्यालेस्टाइनी बन्दीको रिहाइ तथा गाजामा मानवीय सहायता पुर्‍याउने विषयमा केही प्रगति भएको छ । तर, इजरायली प्रतिनिधिमण्डलमा कुनै ठोस निर्णय गर्न सक्ने अधिकार नरहेको र ‘युद्धलाई निरन्तरता दिन वार्ता रोक्ने प्रयास भइरहेको’ स्रोतको आरोप छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्