
प्रवल अधिकारी
गोरी गोरी हिमशिखरकी माथकी स्वर्ण रश्मि
लाग्दी प्यारी कुसुम लहरा बागकी ती तिलस्मी ।
खुल्दी फुल्दी मनगगनमा बर्षिएकी जुनेली
पर्दै हिस्सी सिरसिर हवा बीच आइन् हबेली ।
(१)
देखौँ देखौँ छटपट भयो भेट्न निस्केँ सबेरै
पोखौँ पोखौँ मन–बह कता रापले पोल्छ धेरै ।
बाटो ठाडो न त रुख कतै धूप छल्ने न किल्ला
यौटा क्यै थ्यो तर पनि कसो भन्न मिल्ला नमिल्ला ।
(२)
छङ्छङ् बग्ने लटपट बिनै नागबेली तरेली
झिम्झिम् झिम्झिम् वरपर कतै झिम्किने ती परेली ।
शिर्मा तारा जुन मुकुटमा साथमा जिन्दगानी
खोजी यौटा नबिन गरिमा हाल्छु मैले सिरानी ।
(३)
छायाँ बन्दै पछिपछि गई च्याप्प हातै समाई
लड्दै उठ्दै हर तरहले दर्द छोपी रमाई ।
यस्तै हो यो गजब दुनियाँ बुझ्नलाई छ साह्रो
ब्यर्थै देख्छौँ रिपु सरह नै मित्रलाई तगारो ।
(४)
स्याँस्याँ फ्याँफ्याँ हरिण बनमा घाँस खोज्दै डुलेझैँ
सेता बादल् वरपर लडी प्रेममा घर्षिएझैँ ।
कैयौँ आशा भुरुरुरु उडे पंख, पन्जा उचाली
कैयौँ ल्हासा मदन भरिए द्रव्यको मोह पाली ।
(५)
हाम्रा कोही पनि नसकिउन् देश रित्तो बनाई
हाँसुन् नाचुन् मिलजुल गरी छैन कोही पराई ।
अत्तोपत्तो न खबर कुनै मृत्यु कैले सबार
तेरो मेरो यतिउति कुनै अर्थ छैन बेकार ।
(६)
(मन्दाक्रान्ता छन्द)