site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरिजाबाबु ‘लिगेसी’ हो, उहाँ नभएको भए बृहत् शान्ति सम्झौता हुन्थेन : महेश आचार्य

काठमाडौं । नेपाली कांग्रेसका अग्रज नेता महेश आचार्यले लोकनायक गिरिजाप्रसाद कोइरालासँग पार्टी निर्माणका लागि चाहिने सबै गुण भएको बताएका छन् । कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा कांग्रेस महामन्त्री गगनकुमार थापाको निजी सचिवालयमा आयोजित ‘लोकतान्त्रिक गणतन्त्र र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा बोल्दै नेता आचार्यले गिरिजाबाबु कार्यकर्तादेखि जनतासम्म जोडिएरै सत्ता चलाउन सफल उच्च राजनीतिज्ञ भएको बताए । 

उनले भने, "उहाँको कामलाई हेर्दा एउटा पार्टी निर्माणका लागि चाहिने सबै गुण गिरिजाबाबुमा थियो । २१ वर्षको उमेरदेखि निरन्तर पार्टीमा होमिएका गिरिजाबाबु २००३ सालको मजदुर आन्दोलनको नेतृत्वदेखि ०६५ सालमा प्रचण्डलाई सत्ताको चाबी हस्तान्तरण गर्दासम्म जनतासँगै रहनु भयो ।"

नेतामा हुनुपर्ने सबै गुण गिरिजाबाबुमै भएको दाबी गर्दै आचार्यले भने, "गिरिजाबाबुले जनताका कुरा धैर्य गरेर सुन्न सक्नुभयो । उहाँलाई सम्झदा अहिलेका नेताहरूको बानी तुलना गर्न सकिँदैन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता आचार्यले गिरिजाबाबु राजनीतिक दल चलाउन जनतासँग रहेरमात्र नहुने रहेछ भन्ने बुझेरै चारवटा चरण पार गरेर आएको नेता भन्दै प्रशंसा गरे । 

उनले भने, "जनतासँग रहनु, जनताका कुरा सुन्नु, जनताका कुरा सम्बोधन गर्न नीति र कार्यक्रममा अभिलेख गर्नु अनि त्यसलाई कार्यान्वयन गर्न सरकारसँग समन्वय गर्नु नै गिरिजाबाबुको क्षमता थियो ।"

यी चारमध्ये कुनै एकमात्र पनि काममा चुकियो भने त्यो सफल हुन नसक्ने नेता आचार्यको दाबी छ । 

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहले गिरिजाबाबुलाई एसियाकै नेता भएको भनेको स्मरण गर्दै नेता आचार्यले भने, "परिणाममुखी कार्यक्रम दिन सक्ने काममा गिरिजाबाबु सधै अब्बल रहनु भयो ।"

गिरिजाबाबु नभएको भए विद्रोही माओवादीसँग शान्ति सम्झौता हुन नसक्ने ठोकुवा गर्दै आचार्यले हरेक चरणमा सुझबुझपूर्ण तरिकाले चलकैले संविधानसभा सफल भएको र मुलुकमा राजतन्त्र फालेर गणतन्त्र ल्याउन सफल भएको दाबी गरे । 

उनले भने, "राजनीतिक रूपले विभाजित भएको बेलामा, राजाले अधिकार अपहरण गरेका बेलामा, अन्तर्राष्ट्रिय तहले नियालेका बेलामा र द्वन्द्वपीडितका लागि पनि सम्बोधन गरेर अगाडि बढ्ने बृहत् शान्ति सम्झौता गरेर माओवादीलाई समेट्ने काम गिरिजाबाबुले मात्र गर्न सक्नुहुन्थ्यो । त्यसैले गिरिजाबाबुको त्यो लिगेसी नै हो जसले गम्भीर अवसमा पुगेको राजनीतिलाई सही तरिकाले अवतरण गर्न सक्नुभयो ।"

अहिलेको पुस्ताले गिरिजाबाबुको योगदानलाई स्मरण गर्दै सोहीअनुसार अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै उनले भने, "उहाँको कदम साहसिक थियो । उहाँले कसरी जनतासँग सम्बन्ध, उनीहरुको गुनासो र आकांक्षा समेट्नु भयो र कसरी कार्यान्वयनका लागि अडिग भएर लाग्नुभयो भन्ने नै महत्त्वपूर्ण हो । अहिलेको पुस्ताले यसलाई सिक्नु जरुरी छ ।"

उनले गिरिजाबाबुको समाजवादप्रतिको भनाइ सामान्य भए पनि निकै गहन रहेकोतर्फ इंकित गरे । उनले भने, "गिरिजाबाबु भन्नुहुन्थ्यो नेपालमा समाजवाद भनेको गरिबका छोराछोरीले पढ्न पाउन् भन्ने नै हो । बच्चा जन्मने बेलामा महिलाहरुको म्रातृत्व सुरक्षित गर्नुपर्छ भन्ने नै गिरिजाबाबुको समाजवाद थियो । नीति बनाउनका लागि गिरिजाबाबुले बालबालिका स्कूल जान चाहने, गाउँलेलाई बाटो बनाइदेउ भन्ने नै चाहना राख्नुहुन्थ्यो ।"

नेता आचार्यले नेपालको एउटैमात्र मुद्दा रहेको उल्लेख गरे । उनले भने, "एउटैमात्र मुद्दा यो छ कि देशलाई द्रुत गतिमा सुधार गरेर कसरी लैजाने । यदि संकल्प गरेर काम गर्ने हो भने पाँच वर्षमै कायापलट गर्न सकिन्छ ।"

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमको सभापतित्वमा भएको कार्यक्रममा उनले गिरिजाबाबु आफ्नो पार्टीभित्रको गुटलाई मात्र नभइ अन्य दललाई समेत राज्यका एजेन्डामा समेटेर लैजान सक्ने नेता भएको स्मरण गरिन् । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्