
काठमाडौं । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले राज्यव्यवस्था तथा सुशासन समितिमा बदमासी भएको बताएका छन् । सांसदको निधारमा धब्बा लागेको उनले बताए ।
“त्रुटि हो कि बदमासी ? सचिवले त्रुटि भयो भन्नुहुन्छ । त्रुटि भयो कि कतैबाट गाइडेड हुनुभयो छानबिन हुनुपर्छ,” राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले भने, “संसदीय इतिहासमा यो कालो दिन हो । हाम्रो विश्वासनीयतामा ठूलो ह्रास आयो । सांसदको निधारमा धब्बा लाग्यो ।”
अपराधपूर्ण काम कहाँबाट निर्देशित भयो भन्दै उनले प्रश्न गरेका छन् । सच्याउने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड छ ।
“समिति सचिव र सभापति हट्दैमा ऐन राम्रो हुँदैन । देखिएको दोषी सुरज कुरमार दुराजी हो । अरु दुई मन्त्रालयबाट भाषा मिलाउन को–को बसेका छन् हामीले देखेको छैन,” सांसद पाण्डेले भने, “काम सकिएपछि पढ्नुर्छ भनेको थिएँ । सभापतिजीमा ओभर कन्फिडेन्ट भएर होला, प्रधानमन्त्रीसँग तीन घण्टा बसेर हट्दैन भन्नुभएको थियो । तर, पुछार हटाउन ध्यान पुर्याउनुभएन छ ।”
उच्चस्तरको छानबिन समिति बनाएर काम गर्नुपर्ने उनको माग छ । नैतिकता अरुले भन्दिनेभन्दा पनि आफैँ जान्ने विषय भएको उनको टिप्पणी छ ।