site stats
बाह्रखरी :: Baahrakhari
विदेश
राष्ट्रसंघका परमाणु प्रमुखले भने– इरानले तुरुन्तै युरेनियम परिष्करण सुरु गर्न सक्छ
राफाएल ग्रोस्सी । तस्बिर : ईपीए ।

काठमाडौं । संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकायका प्रमुखले इरानसँग युरेनियम परिष्करण सुरु गर्ने क्षमता भएको र केही महिनाभित्रै सम्भावित बमका निम्ति पुनः त्यो कार्य गर्न सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफाएल ग्रोस्सीले गएको साता अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमण गम्भीर खालको भए पनि त्यसमा पूर्ण क्षति नपुगेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका परमाणु केन्द्र पूर्ण रूपमा नष्ट भएको बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“स्पष्ट रूपमा भन्नुपर्दा सबै कुरा नष्ट भएको र त्यहाँ केही पनि छैन भन्न सकिँदैन,” ग्रोस्सीले शनिबार भने ।

शनिबार ग्रोस्सीले सीबीएस न्युजसँग तेहरानले केही महिनामै सेन्ट्रिफ्युजका क्यासकेड घुमाएर परिष्कृत युरेनियम उत्पादन गर्न सक्ने बताएका हुन् । 

उनले अगाडि भने, “औद्योगिक र प्राविधिक क्षमता छ, त्यसैले उनीहरूले चाहेमा पुनः यो सुरु गर्न सक्छन् ।”

इरानले परमाणु हतियार बनाउन लागेको दाबी गर्दै इजरायलले जुन १३ मा त्यहाँका परमाणु र सैन्यस्थलमा आक्रमण गरेको थियो । पछि अमेरिकाले इरानका तीन परमाणु केन्द्र – फोर्डो, नटान्ज र इस्फाहानमा बम खसालेको थियो । क्षतिको वास्तविक अवस्था भने अझै स्पष्ट छैन ।

इरानको परमाणु क्षमता अझै जारी रहन सक्छ भन्ने आईएईए पहिलो निकाय होइन । पेन्टागनको गुप्तचर मूल्यांकनले पनि यसअघि यस्तै आशय व्यक्त गरेको समाचार सार्वजनिक भएको थियो । उक्त समाचारप्रति रिसाउँदै ट्रम्पले इरानका परमाणु केन्द्र पूर्ण रूपमा नष्ट भएको र इतिहासकै सबैभन्दा सफल सैन्य आक्रमणमध्ये एकलाई कमजोर पार्ने प्रयास गरेको मिडियामाथि आरोप लगाएका थिए ।

हाललाई इरान र इजरायलले युद्धविराममा सहमति जनाएका छन् । तर, गुप्तचरले इरानले चिन्ताजनकस्तरमा युरेनियम परिष्कण गर्न सक्छ भन्ने पत्ता लगाएमा ट्रम्पले पुनः बमबारी गर्ने विचार गरिरहेको जनाइएको छ । अर्कोतर्फ, इरानले क्षतिको असरबारे परस्पर विरोधी सूचना बाहिर ल्याएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्