साहित्य

केही सुख हुन्छ कि बाउआमालाई भनेर
ऊ सानैदेखि गोठालो गयो
मेलापात भ्यायो
सुख कुरेर बस्यो
तर आएन
दुःखैदुःखमा भए पनि पढ्यो
अनि सुख पाउन
जागिर कुरेर बस्यो
तर पाएन
ऋण लियो, व्यापार गर्यो
नाफा कुरेर बस्यो
अहँ भएन
ऋणै गरेर नवमुग्लान पस्यो
तलब कुरेर बस्यो
तर
यसपटक भगवान्लाई नै मन्जुर भएन
उसको कुराइको अनन्त शृंखलादेखि
सायद भयभीत थियो भगवान्
त्यसैले त
आफ्नो र आफ्नाको क्रन्दनहरू
एकातिर पन्छाई
आज ऊ काठको बाकसभित्र पसेको छ
बाउआमा, परिवारसम्म पुर्याइदिने
मान्छे कुरेर
यो शिक्षित, उन्नत र सभ्य समाजको
दीर्घजीवनको कामना गर्दै ।
(बर्लिन, जर्मनी)
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ ०७:१८
प्रतिक्रिया दिनुहोस्